फास्ट ट्रयाकबारे आर्मीको ब्रिफिङ- काम सुरु, समयमै पुरा गर्ने लक्ष्य

काठमाडौं- काठमाडौं-तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मा पाएकाे नेपाली सेनाले त्यसको प्रगतिबारे ‘ब्रिफिङ’ गरेको छ।

रक्षामन्त्री ईश्वर पोखरेलले फास्ट ट्रयाकको प्रगतिबारे चासो राखेको केही दिनपछि आर्मीले मिडियालाई ‘प्रेसनोट’ पठाएको छ। आर्मीको प्रेस नोट यस्तो छ।

-द्रुतमार्ग निर्माण तथा आयोजनास्थलको सुरक्षार्थ पहिलो चरणमा गत श्रावणको दोश्रो साताबाट काठमाण्डौको मख्खुवेशी, मकवानपुरको सिस्नेरी दोभान, लेनडाँडा, बुदुने तथा बाराको बागदेव ईलाकामा गरी पाँच स्थानमा सुरक्षा वेश क्याम्पहरु स्थापना भई पाईलट ट्रयाकको पहिरो पन्छाउने कार्य र डीटेल इन्जिनियरिङ सर्भे सम्पन्न हुनुको साथै आयोजनाबाट खरिद गरिएका बिभिन्न हेभी ईक्यूप्मेन्ट, सवारी साधन तथा अन्य उपकरणहरु फिल्डमा तैनाथ गरी तिव्रताका साथ माटो काट्ने, सम्याउने र भर्ने कार्य भइरहेको छ ।

– उक्त आयोजनालाई थप गति दिई तोकिएकै समयमा सम्पन्न गर्ने लक्ष्य अनुरुप हाल ललितपुर जिल्लाको खोकना, मकवानपुर जिल्लाको ठिंगन तथा राजदमार र बारा जिल्लाको निजगढ गरी ४ स्थानमा अस्थायी वेश क्याम्पहरु खडा भई आवश्यक जनशक्तिहरु परिचालन गरि कार्य प्रारम्भ भईसकेको छ भने बाँकी रहेको मकवानपुर जिल्लाको महादेवटार ईलाकामा निकट भविष्यमा नै वेश क्याम्प खडा गर्ने योजना रहेको छ ।

– हालसम्म ८ वटा राष्ट्रिय स्तरका ठेकेदार कम्पनीहरुलाई माटो काट्ने, सम्याउने, नाला निर्माण, रिटेनिङ वाल निर्माण लगायतका कार्यहरु  ठेक्कामा दिई काम अगाडी बढाईएको र सोहि प्रकृतिका कार्यहरुको लागि अन्य १४ वटा ठेकेदार कम्पनीहरुलाई आसयपत्र दिईएको छ ।

– द्रुतमार्गको मार्गाधिकारभित्र परेका रुख कटानलाई तिव्रता दिने कार्य भईरहेको र सोही क्रममा हाल मकवानपुर जिल्लाको बुदुने तथा लेनडाँडा ईलाकामा रुख काट्ने कार्य भईरहेको छ ।

-द्रुतमार्गको मार्गाधिकारभित्र परेका निजी तथा ऐलानी जग्गाहरुको मुआब्जा र घर ।

टहराहरुको क्षतिपूर्ती बितरण सम्बन्धमा काठमाण्डौ तथा मकवानपुर जिल्लाका अधिकाँश कार्य सम्पन्न भई रहेको । ललितपुर जिल्लाको बुङमती र खोकना ईलाकामा रहेको विवाद निराकरणको लागि सम्बन्धीत सरकारी निकाय, स्थानिय जनप्रतिनिधिहरु तथा अन्य सरोकारवाला पक्षहरुसँग विभिन्न चरणमा छलफल भईरहेको छ ।

फाल्गुन २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्