दाङ पुगेर मुख्यमन्त्री पोखरेलले भने, ‘कानुन,कानुन र कानुन!’

दाङ–प्रदेश ५ मा तीन सदस्यीय मन्त्रिपरिषद छ। मुख्यमन्त्री बनेका शंकर पोखरेलले मन्त्रीपरिषद विस्तार गर्न नसकेको आरोप खेप्न थालिसकेका छन्। तर, मुख्यमन्त्री पोखरेलले भने मन्त्रीभन्दा जरुरी कानुन रहेको बताएका छन्।

बुधबार दाङ आएका पोखरेलले भने, ‘मन्त्रीपरिषद विस्तार नगरीकन कानुन निर्माणलाई जोड दिएका छौं। मन्त्री भन्दा जरुरी कानुन छ भन्ने ठानेका छौं।’

उनले थपे,  ‘धेरैतिर मन्त्री परिषद विस्तार तिर हुट, हुटी रह्यो, तर हाम्रोतिर कानुन निर्माण गर्ने कुरालाई हुट, हुटी राख्यौं । जे कुरावाट जनताको अपेक्षा, आशालाई पुरा गर्न सकिन्छ, त्यो कुरामा जोड दिनुपर्छ भन्ने मान्यताको आधारमा हामी कानुन निर्माण गर्न कानुन आयोग गठन गरेर कार्य प्रारम्भ गरेका छौं ।’

पोखरेलले यो वर्षलाई कानुन निर्माणको वर्षको रुपमा वदल्ने दावी गरे । ‘कानुन निर्माण हुन नसक्दा शासकीय अभ्यास गर्न सकिदैन,’ उनले भने–‘कानुन निर्माणले मात्रै प्रदेश र स्थानिय तहमा कामले गति लिन्छ ।’

बुधबार मुख्यमन्त्री पोखरेलले तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको विच भलीवल प्रतियोगीताको उद्घाटन र एमाले दाङले आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा भाग लिएका थिए ।

फाल्गुन २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्