संघर्ष कथा ललित राजवंशीको

जतुवाबाट विश्वकपसम्मको यात्रा

फाइल फोटो

विराटनगर – मध्यान्ह करिब १२ बजेको हु“दो हो, हामी उनको घरमा प्रवेश ग¥यौँ । आ“गनमा पस्ने क्रममा अघिल्तिरि सानो खाटमा प्लाष्टिको गुन्द्रीमा एक व्यक्ति सुतिरहेका थिए ।

हामीले सोध्यौँ, ललित राजवंशीको घर यही हो ?

उनले मुस्कुराउँदै भने, ‘हो यही हो । तपाईँहरु ?’

ललितको जतुवामा रहेको घर । तस्बिर : सरस कट्टेल

यति कुरा हुँदै गर्दा उनी खाटबाट ओर्लिएर सुकुल भूईँमा ओच्छाउँदै भन्दै थिए, “आउनुहोस् बस्नोस् ।” मैलो धोती र पहेलो रङ भेष्टमा भेटिएका ती थिए, ललितनारायण राजवंशीका पिता ५५ वर्षिय जयनारायण राजवंशी ।

त्यसपछि कुराकानीको शिलशिला अघि बढ्यो । हाम्रो जिज्ञासा, तपार्इंको छोरा ललित कहाँ छन् अहिले ? उनको छोटो उत्तर थियो “क्रिकेट खेल्दैछ ।”

ललित राजवंशी यतिबेला जिम्बाबेमा जारी आइसिसी विश्वकप क्रिकेट छनौटको खेलमा सहभागी छन् ।

विराटनगरको वडा नम्बर १४ जतुवामा उनको परिवारको बसोबास धेरै वर्षअघि भयो । यही ललितको जन्मपनि भयो । स्थानीय गुरुकुल स्कुलमा कक्षा १० सम्म अध्ययन गरी ललितले आफ्नै रोजाईमा विराटनगरको सिटी कलेज उच्च शिक्षाको लागि छनौट गरे । औपचारिक रुपमा यही कलेजबाट ललितको क्रिकेट इनिङको सुरुवात भयो ।

उनका पिता सामान्य मजुदरी अनि सँगै किसानी गर्छन् । छोरीलाई पढाएर ठूलो बनाउने धोको बनाएका जयनारायणले विगतमा मिल्स एरियामा रहेको अशोक टेक्सटाइल, जुट मिलमा समेत काम गरे । तर, अहिले छालाको विरामी काम गर्न समेत असज भएको गुनासो गर्छन् ।

ललितका बुवा जयनारायण । तस्बिर : सरस कट्टेल

जयनारायण छोराको खेल र त्यसअघि शैक्षिक वातावरणप्रति धक फुकाएर भन्ने गर्थे, “एसएलसीमा छोरोले ८९ प्रतिशत ल्याएको छ । अब उच्च शिक्षा दिएर योग्य मानिस बनाउँछु ।”

तर, ललितको मन अर्कैतर्फ थियो, बुवा जयनारायणको भन्दा फरक । उनी घरबाट केही किलोमिटर टाढा रहेको पुरानो हवाइफिल्डमा हुने गरेका क्रिकेट प्रतियोगिता हेर्न पुग्थे । यहिँबाट क्रिकेटमा उनको नजिकको सम्बन्ध पनि झाङ्गिदै गयो । यसबिच धेरैपटक बुवाले ललितलाई पढाईमा ध्यान पुराउन भने पनि, ललित अर्का साथी मधुमाराका अजय राजवंशीको घरमा लुक्न पुग्थे । त्यहिँबाट ललित र अजय क्रिकेटका लागि विभिन्न स्थान जान्थे ।

राजवंशी परिवारमा धेरै टाढासम्मको नातामा क्रिकेट भन्ने कुरा नजोडिएको बताएका जयनारायण भन्छन्, “क्रिकेट भन्दा पनि पढाइ ध्यानदिनु भन्थेँ, उ हुन्छ भन्दै अजयको घरमा पुगेर खेल्न जान्थ्यो ।” कलेज पढाउदाको सम्झेका जयनारायण यतिबेला गम्भीर हुँदै भन्छन्, “आज निकै गर्व लाग्छ मलाई, भविष्यमा शैक्षिक पेशामा हुन्थ्यो या कतै जागिरमा । तर, यतिवेला उ राष्ट्रलाई चिनाउन विदेशी भूमिमा शतप्रतिशत दिइरहेको छ । राष्ट्रको नाम उच्च बनाउन प्रयास गरिरहेको छ ।”

छोरा ललितको खेल हेर्ने अवसर हालसम्म नजुरेको बताएका जयनारायण सम्झन्छन्, “एकपटक हेर्न हवाइफिल्ड गएको थिएँ । दुर्भाग्य उस बाह्रौँ खेलाडीका रुपमा अन्तिममा मैदानमा पस्यो, अर्को खेलाडी घाइते भएर । त्यसपछि आफूले अहिलेसम्म खेल हेर्न पाएको छैन । चाहना भने छ । एकपटक उसले खेलेको खेल नजिकबाट नियाल्ने र भन्ने, स्याबास ललित ।”

परिवारमा जेठो दाजु युगलकिशोर राजवंशी नेपाल प्रहरीमा जागिरे छन् । अर्का माइलो दाजु रामकिशोर राजवंशी विद्युत जडानसम्बन्धी कार्यमा आवद्धछन् । घरमा बुवा जयनारायण, आमा शुभकुमारी देवी र बहिनी सुमन राजवंशी अनि ५ वर्षक भतिज र भतिजी ।

ललितकी आमा शुभदेवी । तस्बिर : सरस कट्टेल

आमा शुभकुमारी स्पस्ट नेपाली नबोलेपनि आफ्नै भाषामा छोरोको धेरै प्रगति होस् राम्रो खेलोस् र देशको नाम उच्च बनाओस् भन्ने आशा गर्छिन् । उनी भन्छिन्, “ललित मात्र नभएर सबैको खेल राम्रो होस हाम्रो आशिवार्द छ । नेपालको शिर उच्च बनाउनु ।”

हामी पुग्दा हतारिँदै बहिनी सुमनले कोठाको दराजमाथि सजाएर राखिएको ट्रफीहरु निकाल्दै गइन् । नेपाल पुलिस क्लबमा आवद्ध मध्यमगतिका लेफ्ट आर्म अर्थोडक्स राजवंशीले तीन वर्षअघि मलेसियामा सम्पन्न १९ वर्षमूनिको एसिसी प्रिमियर कपमा उपविजेता हुँदा प्राप्त गरेको पदक, १९ वषमूनिकै आइसिसी वर्ल्डकप छनौटका क्रममा प्लेयर अफ द फाइनल लगायतका ट्रफी सजिएका थिए । त्यसैगरी उनले प्राप्त गरेको मेडल डोरीमा झुण्ड्याएर राखिएका थिए ।

ललितले पाएका मेडल । तस्बिर : सरस कट्टेल

तीन वर्षअघि आइसिसी १९ वर्षमूनिको विश्वकप छनौटका क्रममा फाइनलमा ललितले उत्कृष्ट प्रर्दशन गरे । नेपाललाई पहिलोपटक उपाधि दिलाउने क्रममा उनले फाइनलमा आयरल्याण्डविरुद्ध १० ओभरमा १ मेडन राख्दै ३६ रनमा ४ विकेट लिएका थिए । त्यसपछि ललितको खेल थप निखारिँदै गएको उनी निकट अर्का खेलाडी पुष्प थापा बताउँछन् ।

उनी थप्छन्, “विश्वकप छनौटमा ललितको सहभागिता मोरङबासीकै लागि उत्साहजनक छ, १७ वर्षपछि मोरङबाट विश्वकप छनौटमा कोही त खेल्दैछ । नत्र यहाँको क्रिकेटको अवस्था त शून्य जस्तै छ ।”
यसअघि सन् २००१ मा नेपालले छनौट खेलमा सहभागिता जनाएको थियो । जसमा विराटनगरबाट नविन घिमिरे, पारस लुनियाको सहभागिता रहेको थियो ।

ललितले पाएका ट्रफी । तस्बिर : सरस कट्टेल

पुलिस क्लबमा क्रिकेटलाई स्थापित गराउँदाका प्रमुख योजनाकार प्रहरी वरिष्ठ उपरीक्षक ईश्वरबाबु कार्कीका अनुसार, ललित खुल्ला रुपमा चयनमा परेर टोलीमा समावेश भएका हुन् ।

उनको मेहनति र लगनशील छन् । यतिबेला विश्वकप छनौटमा पुलिस क्लबबाट पा“च खेलाडी खेलिरहेका छन् । ललित, ललितपुर प्याट्रियोट्समा आवद्ध छन् ।

गतवर्ष काठमाडौंको कीर्तिपुरमा सम्पन्न एभरेष्ट प्रिमियर लिगको पहिलो खेलमा उनले काठमाडौं किंग्सविरुद्ध ४ ओभरमा १४ रन खर्चदै ३ विकेट लिए । उनी प्लेयर अफ दि म्याच समेत भएका थिए ।

त्यसैगरी चैत १७ गतेदेखि धनगढीमा हुने धनगढी प्रिमियर लिगमा ललितले काठमाडौं गोल्डेन्सबाट प्रतिस्पर्धा गर्नेछन् ।

फाल्गुन २४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्