चितवन – अन्तर्राष्ट्रिय केमिकल वैज्ञानिक सम्मेलन बिहीबारदेखि चितवनको सौराहामा सुरु हुँदैछ । सम्मेलनमा २० देशका १०० जना वैज्ञानिक सहभागी हुने छन् ।

नेपाल केमिकल सोसाइटी र वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरको संयुक्त आयोजनामा सम्मेलन गर्न लागिएको हो । अन्तर्राष्ट्रियस्तरमा र नेपालमा भएका खोज अनुसन्धान एवं उपलब्धि एवं ज्ञान साटासाट गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष अमरप्रसाद यादवले जानकारी दिए ।

अध्यक्ष यादवले अन्तर्राष्ट्रियस्तरको अनुपातमा नेपालमा भएका अनुसन्धान कुन उचाइमा छ भन्ने विषयमा समेत छलफल हुने बताए । ‘केमेष्ट्री फर सष्टेनेवल डेभलपमेन्ट’ मूलनारा दिइएको सम्मेलन तीन दिनसम्म चल्नेछ । आयोजकका अनुसार सम्मेलनमा २० देशका १०० जना वैज्ञानिक र स्वदेशका १०० जना गरी २०० जना वैज्ञानिकको सहभागिता रहनेछ ।

संसारमा विज्ञान तथा प्रविधिले नै देश विकास, मानिसको जीवनशैली र कार्यक्षमतामा आमूल परिवर्तन ल्याएको भन्दै केन्द्रीय रसायन विभागका प्रमुख प्रा डा केदारनाथ घिमिरेले नेपालमा भएका स्रोत, साधनलाई परिचालन गर्नसके देशको आर्थिक समृद्धिमा ठूलो टेवा पुग्ने बताए ।

उनले यस्ता खोज तथा अनुसन्धानमा नेपाली वैज्ञानिक सक्षम भएको चर्चा गर्दै सरकारको यसतर्फ ध्यान जानु जरुरी रहेको बताए । संस्थाका सदस्य मनोजकुमार विष्टले यति ठूलो सम्मेलन पहिलोपटक चितवनमा हुन गइरहेकाले यसले चितवनको पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने बताए ।

सम्मेलनमा स्वदेश र विदेशका वैज्ञानिकबाट १७० वटा कार्यपत्र प्रस्तुत हुनेछन् भने वैज्ञानिकसहित ५० जनाभन्दा बढी रसायन शास्त्रका विद्यार्थीको समेत सहभागिता हुने बताइएको छ ।

फाल्गुन २४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्