काठमाडौं – अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस बिहीबार विभिन्न कार्यक्रम गरी मनाईंदैछ । महिलालाई महिलाका रुपमा अनि सिंगो मानवका रुपमा स्थापित गराउने आन्दोलनको विशेष दिनको रुपमा बिहीबार विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाईँदै छ ।

विश्वभरिकै श्रमिक महिला जागरणको स्मरण गर्दै हरेक वर्ष ८ मार्चमा महिलाका आर्थिक, सामाजिक तथा राजनीतिकलगायत अधिकारको अवस्थाका बारेमा समीक्षा गरी यो दिवस मनाउने गरिन्छ ।

दिवसको अवसरमा यो वर्ष ग्रामीण तथा शहरी क्षेत्रका अधिकारकर्मी महिला र महिलाको जीवनमा सकारात्मक परिवर्तनमा उनीहरुको भूमिकालाई जोड दिइएको छ । संयुक्त राष्ट्रयसंघले यस वर्षका लागि ‘द टाइम इज नाव : रुरल एण्ड अर्बान एक्टिविस्टस् ट्रान्फर्मिङ विमेन्स लाइभस्’ भन्ने नारा तय गरेको छ ।

दिवसको अवसरमा काठमाडौंमा पेशागत महासंघको महिला राष्ट्रिय समिति, सामुदायिक प्रहरी सेवा केन्द्र, रेडकक्रस, स्वास्थ्यकर्मीसहितका विभिन्न पेशाकर्मी, अधिकारकर्मी, अपांग तथा विभिन्न क्षेत्रका महिला पुरुषको संलग्तामा र्‍याली निकालिएको छ ।

फाल्गुन २४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्