चलचित्र र न्याय

बलात्कृत एन्जेला र प्रयोग बिहीन बिलबोर्डहरु

काठमाडौं – मर्दै गर्दा बलात्कारमा पुर्न वा बलात्कारपछि मारिनु । बाँचेर पनि जीवित नहुनु वा जीवित भएर पनि बाँच्न नसक्नु । देखेर आँखा चिम्लनु वा जानेर पनि नबुझे जस्तो गर्नु ।

यस्ता धेरै कुरा छन्, जो हामीले भागदौडको दुनियामा आफ्ना लागि ठाउँ बनाउने नाउमा गरिरहेका छौँ ।

एउटी आमा जो एक्लै बयस्क हुँदै गरेका दुई सन्तान हुर्काइ रहेकी छ । जसका सन्तानका रहर अनि सपनाका पखेँटाले भर्खरै उड्न जानेका छन् । वा भनौँ सपनाको लामो उडान भर्ने सपना त छ तर तयारी छैन ।

सम्झाउने प्रयासमा आमा, आफूले चाहेको कुरा झगडा गरेरै भए पनि लिने प्रयासमा १९ वर्षे किशोरी छोरी । कुरो मिल्दैन छोरी घर छोडेर निस्कन्छे, ढोका बजार्दै ।

बजारीको ढोकाको आवाज हराउँदै जान्छ बिस्तारै । छोरीको जीवन हराउँछ अनि आमाको पनि । आमासँग रिसाएर भुतभुताउँदै हिँडेकी एन्जेलाको बलात्कार पछि हत्या । आमा मिल्ड्रडको दुनिया अँध्यारो।

न्यायको खोजी नगरेको होइन । तर छोरी गुमाएको सात महिना बितिसक्यो अपराधी पक्राउ पर्नु त कता हो कता अनुसन्धानको गति नै रोकिए जस्तो ।

ध्यान हट्दै जाँदा कतै छोरीले न्याय नपाउने त होइन भन्ने डरमा रहेकी मिल्ड्रडले उपाय भेट्छिन्, घर नजिककैको बाटोको छेउमा प्रयोग बिहीन रहेका तीन बिलबोर्डमा ।

प्रायः रक्सी वा अरु यस्तै केही चिज बस्तुको प्रचारका लागि प्रयोग हुने बिलबोर्डमा न्यायको खोजी । लेखिन्छ, पहिलोमा ‘रेप्ड ह्वाइल डाइङ’ दोस्रोमा ‘एण्ड स्टिल नो अरेस्टस् ?’ अनि तेस्रोमा ‘हाउ कम, चिफ विलबी ।’

यहाँ चिफ विलबी, घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकारी विलियम विलबी हुन् । सात महिनासम्म चासोमा नपरेको एन्जेला बलात्कार अनि हत्या बारे तीन बिलबोर्डले तरंग ल्याउँछ ।

त्यसपछि अघि बढ्दै जान्छ, बलात्कारपछि हत्या गरिएकी छोरीको न्यायका लागि आमाले गरेको संघर्षको कथा ।

यो विषय हो, गएको नोभेम्बरमा प्रदर्शनमा आएको र यो वर्षका प्रायः सबै अवार्ड समारोहमा मनोनयनमा परेको चलचित्र ‘थ्री बिलबोर्ड आउटसाइड एबिङ, मिजोरी’ मा समेटिएको ।

बिलबोर्ड र न्याय

विषयवस्तु चलचित्रबाट आए पनि हाम्रै माझमा रहेका धेरैले भोगेको अनि सबैले सुन्ने गरेको पीडाको कथा हो । यसमा फरक छ, आँट । बलियो छ न्याय पाउने वा दिलाउने चाहको डोरी ।


बिलबोर्डमा धेरै सपनाहरु बाँडिन्छन् । छरिन्छन् धेरै चम्किला भ्रमहरु । देखिन्छ झिलमिल मात्रै । तर देखिँदैन वा सायदै कम हुन्छन् अँध्यारोबाट बाहिर आउन चाहने आँखाहरुमा समेटिएका सपना ।

थ्री बिलबोर्ड आउटसाइड एबिङ, मिजोरीले आँट भए न्यायको बाटो जहाँबाट पनि खन्न सकिन्छ भन्ने देखाएको छ । जल्दै गरेको बिलबोर्डले खरानी हुँदै गरेको न्यायलाई देखाउँछ ।

अनि त्यसपछिको प्रयासले न्याय मर्दैन मात्रै पारिन्छ ओझेलमा भन्ने बुझाउँछ । तर त्यसका लागि बोल्न सक्ने मुख र अघि बढ्न सक्ने आँट भने अवश्यक चाहिन्छ ।

चोरिएको ओस्कार भेटियो, हराएको न्यायको बाटो

यो चलचित्रमा छोरीको न्यायको खोजीमा रहेकी आमा मिल्ड्रडको भूमिकामा रहेकी फ्रयान्सिस म्याकडोर्म्यानले गएको सोमबार भएको ९० औँ एकेडेमी अवार्डमा सर्वोत्कृष्ट अभिनेत्रीका रुपमा ओस्कार अवार्ड पाइन् । त्यो भन्दा ठूलो ओस्कार थियो उनले चलचित्र मार्फत सुरु गरेको न्यायको बहस ।

अवार्ड लिँदै गर्दा म्याकडोर्म्यानले महिलाशक्ति र न्यायको कुरा गरिन् । त्यसपछि पार्टीको तयारीमा रहेकी उनको ओस्कार अवार्ड चोरी भयो । जसरी हाम्रो समाजमा हामीबाटै हरेक दिन न्याय चोरी भइरहेछ ।

भेटियो केही समयपछि ओस्कार अनि चोर पनि । तर हराउँदै गएको न्यायको बाटो भने अझै फेला परेको छैन । धेरै झाडीहरु छन्, छन् कैयाैँ अप्ठ्याराहरु ।

हामी कहाँ हरेक दिन बलात्कार अनि त्यसपछि मारिएका धरै एन्जेलाहरु छन् । अनि छन्, धेरै प्रयोग बिहीन बिलबोर्डहरु पनि ।

फाल्गुन २४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्