युरोपा लिगमा आर्सनल बलियो, एसी मिलानमाथि प्रभावशाली जित

इंंग्लिस प्रिमियर लिगमा पछिल्ला खेलमा खराब प्रदर्शन गर्दै आएको आर्सनलले युरोपा लिगमा भने उत्कृष्ट प्रदर्शन गरेको छ ।
युरोपा लिगको अन्तिम १६ अन्तर्गत बिहीबार राति भएको पहिलो लेगमा आर्सेन वेङ्गरको टिम आर्सनलले इटालियन टिम एसी मिलानलाई २–० ले हराएको छ ।
अवे मैदानमा भएको खेलमा आर्सनलले दुवै गोल पहिलो हाफमा नै गर्दै जित निश्चित गरेको हो । १५ औँ मिनेटमा जनवरीमा क्लब आएका हेनरिक एमखितर्यानले गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए ।
पहिलो हाफको इन्जुरी समयको चौथो मिनेटमा आरोन रामसीले गोल गरेपछि अग्रता दोब्बर भयो । दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन र आर्सनल २–० ले विजयी भयो ।
राति नै भएका अरु खेलमा स्पोर्टिङले विक्तोरिया प्लजेनलाई २–०, आरबी लेइप्जिगले जेनिट सेन्ट पिटर्सबर्गलाई २–१, मार्सेइलीले एथ्लेटिको बिल्बाओलाई ३–१ तथा लियोनले सिएसकेए मस्कोलाई १–० ले हरायो ।