बार्सिलोनालाई टक्कर र रियललाई पछि पार्दै आएको एथ्लेटिकोको शानदार जित

स्पेनिस ला लिगा क्लब एथ्लेटिको मड्रिडले युरोपा लिग फुटबलमा राम्रो प्रदर्शन गरेको छ ।

युरोपा लिगको अन्तिम १६ अन्तर्गत बिहीबार राति भएको पहिलो लेगमा एथ्लेटिको मड्रिडले लोकोमोटिव मस्कोलाई ३–० ले हराउँदै अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाएको छ ।

ला लिगामा रियल मड्रिडलाई पछि र बार्सिलोनालाई टक्कर दिँदै आएको एथ्लेटिकोले युरोपा लिगमा पनि राम्रो जित निकालेको हो ।

घरेलु मैदानमा भएको खेलमा एथ्लेटिकोलाई जिताउन साउल निगुएज, डिएगो कोस्टा र कोकेले गोल गरे । २२ औँ मिनेटमा निगुएजको गोलबाट घरेलु टोलीले पहिलो हाफमा १–० को अग्रता लियो । दोस्रो हाफको सुरुमा नै कोस्टाले गोल गर्दै अग्रता दोब्बर पारे ।

गएको जनवरीमा चेल्सीबाट आफ्नो पुरानो क्लब आएका कोस्टाले त्यसयता १२ खेलमा ६ गोल गरिसकेका छन् । कोकेले ९० औँ मिनेटमा गोल गरेपछि एथ्लेटिको ३–० ले विजयी भयो ।

राति नै भएका अरु खेलमा आरबी साल्जबर्गले बोरुसिया डर्टमुण्डलाई २–१ ले हरायो भने लाजिओ र डिनामो किएभले २–२ को बराबरी खेलेका छन् ।

फाल्गुन २५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्