सन्दर्भ : अन्तर्राष्ट्रिय महिला दिवस

प्रविधिमा महिला पाइला: ‘अब्बल’देखि ‘आन्टरप्रेनर’सम्‍म

प्रविधिमा महिला पाइला: ‘अब्बल’देखि ‘आन्टरप्रेनर’सम्‍म

काठमाडौँ- सूचना प्रविधिले विश्‍वभर छलाङ मारिरहँदा नेपाली महिलाले आफूलाई निखार्दै यस क्षेत्रमा सफल मात्र होइन, अब्बल नै साबित गरिरहेका छन्। चाहे त्यो बैंक, वित्तीय क्षेत्रमा होस वा सफ्टवेयर कम्पनी अथवा विज्ञान प्रविधिको परिप्रेक्ष्‍यमा होस्।

प्रविधिको पहुँच र प्रयोगलाई नजिकबाट नियालेर मानिसको दैनिक जीवनमा सहजता ल्याउनमा उनीहरुले अहम भूमिका खेलेका छन्। प्रविधिमा विकसित पुरानादेखि नयाँ आयाम र उपलब्धिहरुलाई परिवार, समाज अनि राष्ट्रलाई हित हुने गरी कसैले आफ्नो जीवन नै प्रविधिमा समर्पण गरेका छन् भने कोहीले विज्ञान प्रविधिलाई पछ‍्याएर नयाँ पुस्तामा ज्ञान,चेतना र अनुभव बाँडिरहेका छन्। नेपालमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा प्रविधिमा महिलाहरुको नेतृत्वदायी भूमिका कस्तो छ भनेर खोजी गर्ने प्रयास गरिएको छ।

रत्‍नतारा वैद्य, आइटी चिफ, नेपाल बंगलादेश बैंक

सन् १९९७ को समय जतिबेला नेपालमा कम्‍प्‍युटरको प्रयोग निक्‍कै कम मात्रामा थियो, त्‍यतिबेला रत्‍नतारा वैद्य आफू एक्‍लै डसको सहायताले कम्‍प्‍युटर अपरेटरको काममा संलग्‍न भइन्। उनी एक्‍लै कम्प्‍यटर सम्बन्धी तालिममा सहभागी हुन्थिन्। कम्‍प्‍युटरबारे नयाँ कुरा सिक्थिन् र अफिसमा आएर व्‍यवहारमा उतार्थिन्। कम्‍प्‍युटर सिक्‍ने र सिकेर जागिर खाने महिलाको संख्‍या नै थिएन। गनेचुनेको महिलाहरु कम्‍युटर सिक्‍न आउँथिन् त्‍यो पनि एकदमै थोरै।

त्‍यतिबेलाको अनुभव सुनाउँदै उनी भन्छिन्, ‘मेरो पालामा कम्‍युटर सिस्टम म्‍यानुअली थियो। तर मैले प्रोग्रामिङ गरेको हुनाले सजिलो थियो।तर त्‍यतिबेला एन्टी भाइरस थिएन, भाइरस मात्रै थियो। भाइरस लाग्‍यो भने म्‍यानुअली चेक गर्नुर्थ्‍यो।’

बैंकमा स्टाफको रुपमा काम गर्न आउँदा त्‍यतिबेला कसैलाई पनि कम्प्‍युटर सिस्टमको ज्ञान थिएन। रत्‍नताराले नै बैंकिङ सम्‍बन्धी सबै कामहरु एक्लै हेर्नुपर्थ्यो। यदि बैंकको कुनै कम्‍प्‍युटरमा भाइरस लाग्‍यो भनेर ‘फिलर’मा गएर कस्तो प्रकारको भारइस हो भनेर उनले एकएक गरेर हेर्नुपर्थ्यो। उनलाई त्‍यो काम आए पनि अरु स्टाफलाई सिकाउन भने निक्‍कै गाह्रो पर्थ्‍यो।

जब बैंकले माइक्रोसफ्टको सफ्टवेयर प्रयोग गर्न सुरु गर्‍यो, केही हदसम्‍म बैंकिङ प्रणालीमा सजिलो हुँदै गयो। बैंकमा जागिर खान आउनेहरु थोरै भए पनि प्रविधि सिकेर आउन थालिसकेका थिए। उनी भन्छिन्, ‘माइक्रोसफ्टको चहलपहल नेपालमा आउँदा बैंकले पनि त्‍यही सफ्टवेयर जडान गर्‍यो। यसले जागिर खान आउने नयाँ स्टाफ पनि सिकेर आउन थाले।उनीहरु पनि कम्प्‍युटर प्रविधिमा केही मात्रामा भए पनि बुझ्‍ने भइसकेका थिए। तर महिलाहरु भने छँदै थिएन।’

उनी बैंकिङबारे केही नयाँ कुरा सिक्‍न सेमीनार/गोष्ठीमा भाग लिँन जान एक्‍ली महिलाको रुपमा उपस्थित हुन्थिन्। उनी त्‍यतिबेलाको क्षण सुनाउँदै भन्छिन्, ‘त्‍यतिबेला म एक्ली महिला भएकाले सम्बोधनमा पनि ‘लेडिज’ एण्ड जेन्टल म्‍यान नभनेर मात्र ‘लेडी’ एण्ड जेन्टल म्‍यान भन्थे। तर मैले कहिल्‍यै पनि आफूलाई पुरुषको नजरमा अप्ठ्‍यारो महसुस गरिन। सबै कुरा सकारात्मक रुपमा स्विकार गर्थेँ।’

त्यतिबेला महिलाको नाममा उनी एक्लै भए पनि आफू र मनलाई गर्वकासाथ साहसी बनाउँथिन् र मनमनै भन्थिन्, ‘महिला एक्लै भए पनि म त छु नि। काम सकारात्मक रुपमा गरेर देखाउँछु।’

बैंकमा आइटीलाई त्‍यतिबेला उच्‍च प्राथमिकताका साथ हेरिए पनि महिला भएकै कारण सक्छिन् कि सक्दिनन् भन्‍ने प्रश्‍न भने आउने गरेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘बैंकमा नयाँ सफ्टबेयरहरु आएको हुन्थ्‍यो। तर म महिला भएकै कारणले आइटीमा अपग्रेड हुन सक्दिनन् कि भनेर प्रश्‍न भने आइ नै रहन्थ्यो। मैले पनि त्‍यसलाई सजिलै समाधान गरिदिन्‍थे।’

बैंकमा वर्ड, एक्सेल नभएको समयमा आफूले कर्मचारीहरुलाई लोटस भन्‍ने कोर्स पढाएर जानकारी दिने गरेको उनी बताउँछिन्। उनी त्‍यो बेलाको कम्प्‍युटर प्रणालीबारे भन्छिन्, ‘त्‍यो बेला लोटस भन्‍ने एक्सेल जस्तै कोर्स थियो। सेलेक्ट मात्रै थियो। ब्लक गर्न, ब्‍याकस्पेस गर्न लगायतका सबै काम गर्न एकै ठाउँबाट काम गर्नुपर्थ्‍यो। त्‍यो अवस्थाबाट गुज्रिरहेको बैंकिङ प्रणाली जब विन्डोजमा प्रवेश गर्‍यो तब यसले आफ्नो प्रगति तीव्र गतिमा गर्‍यो।’

प्रविधिले धेरै क्षेत्रमा विकाम गरे पनि महिलाहरु परिवार, समाज र परिवेशले गर्दा अहिले पनि केहीमात्रा पछाडि नै रहेको उनी स्विकार्छिन्। उनी भन्छिन्, ‘ प्रविधि क्षेत्रमा किशोरीहरुको आगमन निक्‍कै आकर्षण रुपमा भएको छ। तर जब करियरको कुरा आउँछ तब पछाडि पाइला सार्ने धेरै छन्।’

प्रविधिमा करियर धेरै राम्रो भएको दाबी गर्छिन उनी। भन्छिन्, ‘प्रविधिले मानिसको दैनिक जीवनमा प्रवेश गरिसक्यो। अब आउने नयाँ पुस्तामा यो अनिवार्यजस्तै भइसक्यो। यसकारण महिलाको सहभागिता सकेसम्‍म बढी हुनुपर्छ।’ विश्‍व एक भइसकेको बेलामा महिलाहरु प्रविधि क्षेत्रमा नेतृत्वदायी भूमिकामा आउनु पर्नेमा उनको जोड छ। भन्छिन्, ‘जब एउटा महिला प्रविधिमा अब्बल हुन्छिन्, तब उसले परिवारका सदस्‍य, समाजका सदस्‍यलाई सजिलै असल र कुशल नेतृत्व दिन सक्छिन्।’

रोजाकिरण वासुकला, निर्देशक, नेपाल दूरसञ्‍चार प्राधिकरण

यस्तै नेपालको दूरसञ्चार क्षेत्रको एक नियामक संस्था नेपाल दूरसञ्‍चार प्राधिकरणमा निर्देशकको रुपमा कार्यरत छिन्, रोजाकिरण वासुकला। नेपालको सरकारी निकायमा निर्देशकको रुपमा काम गर्दै गर्दा सूचना प्रविधिको क्षेत्रमा महिला सहभागिता अनिवार्य ठान्छिन्। उनी भन्छिन्, ‘नेपालको केही सफ्टवेयर उद्योगमा नेतृत्वदायी भूमिकामा महिला छिन् र पर्याप्त मात्रामा छैनन्।’

प्रविधि क्षेत्रलाई नै आफ्नो कर्म बनाएर लाग्‍न चाहने महिलाहरु पारिवारिक र सामाजिक परिवेशको कारण अगाडि आउन नसकेको उनको भनाइ छ। उनी भन्छिन्, ‘प्रविधि क्षेत्रलाई महिलाहरुले दिमागी विषय भनेर बुझिदिने र आउन डराउने हुनाले यो क्षेत्रमा सहभागिता कम भएको हो। जनचेतनाको स्तर अझै फैलिइसकेको छैन। तर जो आत्मविश्‍वासी छन्। उनीहरुको भविष्‍य राम्रो भएको छ।’

महिलाहरुलाई प्रविधि क्षेत्रमा सक्षम र सवल बनाउन वुमन लिडरसिप इन टेक्नोलोजी लगायतका जनचेतनामूलक कार्यक्रम गर्दै आएकाले महिला सहभागिता बढ्‍दै गएको उनी बताउँछिन्। उनी भन्छिन्, ‘सरकारी र प्राइभेट कलेजमा अध्‍ययन गर्ने किशोरीहरुले महिला सम्बन्धी विभिन्‍न मोबाइल एप्स बनाइसकेका छन्। पानी आयो, एटिएम ट्र्याकर, यातायात लगायतका दैनिक जीवनमा आवश्‍यक पर्ने प्रविधिमैत्री मोबाइल एप्स निमार्णले ग्‍याप घट्‍दै गएको छ।’

साथै अर्न्तराष्ट्रिय दूरसञ्चार संघ (आइटीयू)ले हरेक वर्ष अंग्रेजी क्यालेण्डरको अप्रिल महिनाको चौथो बिहीबार विश्वभर ‘गर्ल्स इन आइसीटी डे’ मनाउँदै दिवस मनाउँदै आएकोले नेपालमा पनि यसको प्रभाव परेको बताउँछिन्। उनी भन्छिन्, ‘सूचना प्रविधिमा महिला सहभागिता बढिरहेको छ, उनीहरु नयाँ सोचका साथ अगाडि आइरहेका छन्।’

उनले काठमाडौं उपत्‍यका लगायतका शहरहरुमा किशोरीहरु आइटी विषय लिएर अध्‍ययन गर्न थालिसकेको दाबी गर्छिन्। राजधानी बाहिर भौतिक पूर्वाधार ( इन्टरनेट, उपकरण र विजुलीको पहुँच) संरचना बढ्‍दै गएकाले यसबारेमा सरोकारवाला निकायसँग दूरसञ्‍चार प्राधिकरणले समन्वय गरिरहेको उनी बताउँछिन्।

भन्छिन्, ‘भूकम्प प्रभावित जिल्लामा इन्टरनेटलाई प्राथमिकता दिए पनि देशका विभिन्‍न भागमा इन्टरनेटको आवश्‍यक छ। त्‍यसको भौतिक पूर्वाधार हुनु जरुरी छ। पूर्वाधारहरु बनिसकेपछि ग्रामीण क्षेत्रमा पनि किशोरीहरुलाई विद्यालयदेखि नै कम्‍प्युटर शिक्षा अनिवार्य गराउन पहल गर्नुपर्छ।’ उनले सामुदायिक विद्यालयमा इन्टरनेट नि:शुल्क दिएर प्रविधिमा पहुँच पुर्‍याउने र महिला सहभागितामा जोड दिइन्।

उद्योग र शिक्षाबीच ठूलो खाडल
सूचना प्रविधिको शिक्षा र उद्योगबीच समन्वयकारी भूमिकाको वातावरण सिर्जना नुहँदा ठूलो खाडल देखिएको उनको भनाइ छ। यसको लागि शिक्षण गर्ने संस्था र सीपलाई रोजगारीमा पहिचान गराउने मेन्टरसीपको अभाव रहेको उनी बताउँछिन्। उनी थप्छिन्, ‘प्रविधिको सिकाइलाई रोजगारीमा परिणत गर्न मेन्टरसीपको खाँचो छ।यसलाई शिक्षण संस्था र सरकारले उचित वातावरण दिनु जरुरी छ।’

नयाँ पुस्ता प्रविधिमैत्री हुनु जरुरी

सूचना प्रविधिको प्रयोग र पहुँच बढिरहेको बेला नयाँ पुस्तालाई प्रविधि क्षेत्रमा लगाव र झुकाव एकदमै आवश्‍यक रहेको दूरसञ्‍चारका निर्देशक वासुकला बताउँछिन्।

उनी भन्छिन्, ‘सूचना प्रविधि क्षेत्र अबको युगमा अपरिहार्य भएकाले यसलाई महिलाहरुले दिमागी विषय नठानेर लगाव र झुकावका साथ आउनुपर्छ भने पुरुषहरुले सहयोग र हौसला दिनुपर्छ।’ प्रविधि क्षेत्र सबैको समान विषय भएकाले यसलाई सरलताले ग्रहण गर्नुपर्नेमा उनको जोड छ।

वुमन इन स्टिम नेपाल, बिनिता श्रेष्ठ र प्रतिक्षा पाण्डे (आन्टरप्रेनर)

विज्ञान प्रविधि, इन्जिनियरिङ र म्‍याथम्‍याटिक्सलाई फ्‍युजन गरेर भर्चुअल वर्ल्डमा आफ्नो प्रतिभा प्रस्फुटन गराउन महिला पनि सक्षम छन् भन्‍ने उद्देश्‍यले सन् २०१५ मा बिनिता श्रेष्ठ र प्रतिक्षा पाण्डेले वुमन इन स्टिम नामक संस्थाको स्थापना गरे। यसले स्कुलका बालबालिकाहरुलाई विज्ञान प्रविधि, इन्जिनियरिङ र म्‍याथम्‍याटिक्सका नविनतम उपलब्धिहरुबारे शिक्षा दिइरहेको छ भने सामाजिक रुपमा आन्टरप्रेनरको काम समेत गरिरहेको छ।

एनसीआइटी कलेजमा पढ्दादेखि नै विज्ञान प्रविधिमा रुचि राख्‍ने भएकाले बिनिता र प्रतिक्षाको पहिलो भेट एउटा वर्कसपमा सहभागी हुने क्रममा भयो। उनीहरुले वर्कसपमा भाग लिँदा विज्ञान प्रविधिमा भएका नवीनतम उपलब्धिहरुलाई (इन्जिनियरिङ र म्‍याथम्‍याटिक्सलाई कसरी व्‍यवहारमा उतार्ने) नजिकबाट बुझे र अब मानिसको दैनिक जीवनलाई कसरी सहज बनाउनेतर्फ सोच्‍न थाले।

अफिस सुरु गर्दाको क्षण सुनाउँदै बिनिता भन्छिन्, ‘कलेजमा पढ्दै गर्दा साथीहरुसँग भेट हुँदा टेक्नोलोजी, कोडिङबारे छलफल गर्थ्यौ। हामीले सुरुमा सामाजिक क्षेत्रमा बसेर काम गर्‍यौँ। त्‍यतिबेला किशोरीहरु कार्यक्रममा उपस्थित नभइदिने। आउन डराउने। तर पछि विस्तारै प्रविधिमा भएका नवीनतम कुराहरु सिक्‍न बालबालिकाहरु आउन थाले। स्कुलहरुले पनि हामीलाई बुझ्‍दै गए। यसैले हामीलाई थप प्रेरणा मिल्‍यो।’

यस्तै बिनिताको कुरामा जोड दिँदै प्रतिक्षा त्‍यतिबेलाको तितो अनुभव सुनाउँछिन्, ‘सुरुमा हामीले विज्ञान प्रविधिका नवीनतम उपलब्धिबारे कसरी र कसलाई सिकाउने भनेर पहिचान गर्‍यो। पहिलो समस्या र समाधान बालकालिका नै देख्यौँ। उनीहरुको बालमस्तिष्कमा प्रविधिको पाइला र प्रतिभालाई खोज्‍न हामी सामाजिक रुपमा स्कुलस्कुलमा कम शुल्‍कमै काम गर्‍यौँ।’

सामाजिक रुपमा स्कुलमा स्टिमबारे जनचेतना जगाउँदै जाँदा उनीहरुमा आत्म विश्‍वास बढ्‍दै गयो। त्‍यसपछि उनीहरुले अफिस सेटअपदेखि सफ्टवेयर डेभलोप गर्ने, रेस्टुराँको बिलिङ सिष्टमको सफ्टवेयर बनाउनेतिर समेत पाइला चाले।  बिनिता भन्छिन्, ‘ हामीले बिस्तारै आन्टरप्रेनरसीपतर्फ लाग्‍यौ। अहिले अफिस सेटअपदेखि रेस्टुराको विलिङ सफ्टवेयर बनाउनेसम्‍मका काम गरिहरेका छौ। यसले हामीलाई प्रविधिमा लाग्‍न थप प्रेरणा दिइरहेको छ।’

नयाँ पुस्ताका किशोरीलाई लाग्‍न आग्रह

अब आउने नयाँ पुस्ताका किशोरीहरुलाई आफूभित्र भएको ट्‍यालेन्टलाई उजार गर्न प्रविधिले सजिलो बनाइदिएकोले यस क्षेत्रमा लाग्‍न बिनिता र प्रतक्षाको आग्रह छ। उनीहरु भन्छन्, ‘ नयाँ पुस्तालाई स्टिमबारे झन सजिलो हुन्छ। उनीहरुभित्रको प्रतिभालाई प्रस्फुटन गर्ने अवसर हुन सक्छ। त्‍यसकारण स्टिममा लाग्‍न अनुरोध गर्दछु।’

फाल्गुन २५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्