व्यापार युद्ध निम्तने संकेत

ट्रम्पले गरे विवादास्पद निर्देशनमा हस्ताक्षर

स्टिल तथा आल्मुनियम आयातमा सीमा शूल्क अत्याधिक बढाउने सम्बन्धी निर्देशनमा हस्ताक्षर गर्र्दैअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । तस्बिर: एपी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल तथा आल्मुनियम आयातमा सीमा शूल्क अत्याधिक बढाउने सम्बन्धी निर्देशनमा हस्ताक्षर गरेका छन् ।

ट्रम्पले योजना सार्वजनिक गरेदेखि नै यसको तीव्र आलोचना भएको थियो । तर उनले आलोचनाका बाबजुद पनि निर्देशनमा हस्ताक्षर गरेका हुन् ।

अमेरिका असमान व्यापारका कारण मर्कामा परेको र अब यो नियम लागु भएपछि अमेरिकी उद्योगको अवस्था सुधार हुने दाबी गरेका छन् ।

ट्रम्पले स्टिल आयातमा २५ प्रतिशत तथा आल्मुनियम आयातमा १० प्रतिशत सीमा शूल्क बढाउने निर्देशन सम्बन्धी पत्रमा हस्ताक्षर गरेका हुन् ।

ट्रम्पले अमेरिकी उद्योगलाई बुस्ट गर्ने भन्दै आयात शूल्क बढाएकोमा अमेरिकामा स्टिल तथा आल्मुनियम आयात गर्दै आएका देशले आलोचना गर्दै आएका छन् । नयाँ नियम अबको १५ दिनपछि लागु हुनेछ ।

युरोपियन युनियन (इयु) सहितका विभिन्न देश तथा संगठनले यसको विरोध गरिहेका छन् । अन्तर्राष्ट्रि मुद्रा कोष (आइएमएफ) पनि ट्रम्पको योजनाको विपक्षमा उभिएको छ । आइएमएफले आयातमा सीमा शूल्क ठूलो मात्रामा बढाउने निर्णयले अरु देशसँगै अमेरिकालाई नै पनि नोक्सानी गर्ने चेतावनी दिएको छ ।

अरु देशले पनि व्यापारिक वातावरण कठीन रहेका तथा सुरक्षा खतरा बढेको भन्दै अमेरिकाले जस्तै कदम चाल्न सक्ने र यो अमेरिकाका लागि पनि घातक हुने आइएमएफको भनाई छ । यस्तो अवस्थामा आएमा विश्व अर्थतन्त्रमा ठूलो असर पर्ने आइएमएफले जनाएको छ ।

अमेरिकामा ठूलो मात्रामा स्टिल पठाउँदै आएको क्यानडाले ट्रम्पको योजनाले दुवै तर्फको सीमामा अस्थिर अवस्था ल्याउन सक्ने बताएको छ । तर ट्रम्प पनि आफ्नो आफ्नो योजनाबाट पछि हटेनन् ।

विश्व व्यापार संगठनले यसअघि नै ट्रम्पको योजनाले विश्वमा व्यापार युद्धको अवस्था आउन सक्ने र यो सकैको लक्ष हुन नहुने बताएको थियो । तर अमेरिकी राष्ट्रपति ट्रम्पले भने व्यापार युद्ध राम्रो रहेको बताउने गरेका छन् ।

फाल्गुन २५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्