अलविदा कप्तान

सबैले चाहने छोरा अनि ‘दाइ’ को दुःखद अन्त्य

डेभिड एस्तोरीको शव यात्रा ।

मृत्यु हरेकले आफ्नो जन्मसँगै लिएर आएको एक मात्र सत्य, तर त्यो कहिले प्रिय बन्दैन । अझ आफ्नो गुनले धेरैको मनमा बसेका व्यक्तिको अप्रत्यासित निधन अप्रिय मात्रै हुँदैन गहिरो आघात पनि बन्छ ।

यस्तै घातको खाडलमा छन्, इटाली तथा सिरी क्लब फियोरेन्टिनाका विश्वभर रहेका समर्थक, साथी खेलाडी, पदाधिकारी, परिवार अनि साथीहरु ।

उत्कृष्ट प्रदर्शन अनि सहज व्यक्तित्वका धनी इटालीका फुटबलर तथा सिरी ए क्लब फियोरेन्टिनाका कप्तान ३१ वर्षे डेभिड एस्तोरीको गएको आइतबार अप्रत्यासित रुपमा निधन भयो । उनको सडेन इलनेसका कारण निधन भएको क्लबले जनाएको छ ।

फ्युनेरल सर्विस भएको चर्च बाहिर जम्मा भएको हजारौँ समर्थक ।

आइतबार निधन भएका एस्तोरीको बिहीबार फ्लोरेन्समा अन्तिम शव यात्रा भएको छ । उनको शव यात्रामा हजारौँ समर्थक तथा सिरी ए का हरेक क्लबका प्रतिनिधिले सहभागिता जनाएका छन् ।

बुधबार राति भएको च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा टोटनह्यामलाई हराएको युभेन्टसको टिम पनि एस्तोरीको फ्युनेरलमा सहभागी भयो । त्यसमा इटालीका कप्तान जियानलुइजी बुफोन पनि थिए ।

एस्तोरीको शव बेर्गामोमा गाडिने छ, जहाँ उनी हुर्किएका थिए र उनका बुवा आमा अहिले पनि त्यहिँ बस्छन् । एस्टोरीले श्रीमती र दुई वर्षकी छोरीलाई छोडेर गएका हुन् ।

फ्युनेरलको क्रममा एस्तोरीको कफिन (शव राखिएको बाकस) को पछाडि सिरी ए का हरेक क्लबको ब्यानर बोकेका मानिस थिए ।

फ्युनेरल सहभागी हुन पुगेका इटाली तथा युभेन्टसका लेजेन्ड जियानलुइजी बुफोन ।

शव यात्रा सुरु हुनुअघि फ्युनेरल सर्विस भएको चर्चको बाहिर हजारौँ मानिस जम्मा भएका थिए । सबैका आँखा रसिला थिए । उनीहरुका लागि फ्युनेरल सर्विसको अडियो बाहिरसम्म सुन्ने गरी प्रशारण गरिएको थियो ।

फियोरेन्टिनाका उप कप्तान मिलान बाडेल्जीले एस्तोरी सबैले चाहने छोरा र दाइ रहेको बताए । उनले भने, ‘एस्तोरी तिमी रहेकले चाहने छोरा अनि दाइ हौ । तिम्रा अभिभावकले कहिले गलत पाइला चालेनन् ।’

इटालीका फुटबलरको अप्रत्यासित निधन

बाडेल्जीले एस्तोरीलाई सम्झने हरेकले उनकी दुई वर्षकी छोरी भिक्टोरियालाई उनका बुवा भव्य मानव रहेको बताउन आग्रह गरे ।

एस्तोरीको गृह नगर फ्लोरेन्समा बिहीबार एक दिने शोकको घोषणा पनि गरिएको थियो । उनको शव यात्रामा समर्थकले एक मात्रै कप्तान रहेको भन्दै उनको सम्मान गरेका थिए ।

फ्युनेरल सहभागी फियोरेन्टिनाका खेलाडी ।

गएको आइतबार सिरी ए मा फियोरेन्टिनाले युडिनेससँग खेल्ने तय भएको थियो । तर एस्तोरीको निधनले खेल रोकिएको छ ।
सधैँ खेलका लागि मैदान जाँदै गर्दा सबैभन्दा अघि हुने अनि टिमको होटलको रेस्टुरेन्टमा देखिने एस्तोरी आइतबार देखिएनन् । टिमका साथी खेलाडीमा शंका उब्जियो ।

सबै राम्रै होु् भन्ने आशसहित उनको कोठामा गए । उनी त्यहाँ मृत अवस्थामा भेटिएपछि निराशाको बादल छायो । इटालीको राष्ट्रिय टिमबाट खेलेका एस्तोरी सन् २०१६ मा काग्लिएरीबाट फियोरेन्टिना आएका हुन् । उनले फियोरेन्टिनाबाट ५८ खेल खेलेका छन् ।

फाल्गुन २५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्