स्वास्थ्य प्रयोगशाला व्यवस्थित बनाउन माग

काठमाडौँ- मुलुक संघीयतामा गएपछि स्वास्थ्य प्रयोगशाला क्षेत्रको विकेन्द्रीकरण प्रदेश र स्थानीय स्तरसम्म हुनुपर्ने सुझाव मेडिकल ल्याबोटरी एसोसिएसन अफ नेपाल (मेलान) ले दिएको छ।

मेलानले स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय बनाउन विभिन्न रोगहरुको सही पहिचान, औषधीको समुचित प्रयोग र प्रभावकारिता, विभिन्न स्वास्थ्यसँग सम्बधित अध्ययन अनुसन्धानको क्षेत्रमा अति नै महत्वपूर्ण भूमिका निर्वाह गर्ने र स्वास्थ्य प्रयोगशाला क्षेत्रको विविध समस्या समाधानका लागि नेपाल सरकारसँग जोडदार माग गरेको छ।

बिहीबार भक्तपुरमा सुरु भएको मेलानको तीनदिने राष्ट्रिय सम्मेलनमा बोल्दै मेलानका महासचिव राजेन्द्र खड्काले स्वास्थ्य क्षेत्रको पनि ल्याब अति नै महत्वपूर्ण क्षेत्र रहेको र ल्याबमा बिभिन्न रोगको सही पहिचान गरेर जनतालाई गुणस्तरीय रिपोर्ट प्रदान गरी उपचार गर्ने पद्धति थालियो भने बिरामीहरुले सही उपचार पाउने र राज्यलाई आर्थिक भार कम पर्ने बताए।

खड्काका अनुसार मेलानले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउन निजी तथा सरकारी क्षेत्रबाट सञ्चालित प्रयोगशालाहरुको भौतिक पूर्वाधारहरुको स्तरोन्नति र यस क्षेत्रमा प्रयोग हुने केमिकल्स तथा यन्त्र उपकरणहरुको प्रमाणीकरणलगायतका मुद्दा उठाउँदै आएको र स्वास्थ्य प्रयोगशाला क्षेत्रमा कार्यरत जनशक्तिहरुलाई उनीहरुको दक्षता र क्षमता अभिबृद्धि गर्ने उद्देश्यले गुणस्तर नियन्त्रण र फोहोर व्यवस्थापन लगायका बिषयमा तालिम प्रधान गर्दै आएको छ। ल्याबमा हुने ससाना गल्तीका कारण सेवाग्राहीको ज्यान जोखिममा पर्न सक्ने हुँदा यस पेशाप्रति पेशाकर्मीहरु सचेत, इमानदार र कर्तव्यनिष्ठ रहेर सुन्दर प्रयोगशालालाई कार्यन्वयनको तहमा पुर्‍याउनेसमेत उनले बताए।

त्यस्तै मेलानले स्वास्थ्य सेवामा विकसित हुँदै आएको विशिष्टीकरण प्रणालीलाई स्वास्थ्य प्रयोगशाला क्षेत्रमा समेत लागू गर्न जनशक्ति उत्पादन र उत्पादित जनशक्तिहरुको व्यवस्थापन र निजी क्षेत्रमा प्रयोगशाला शिक्षा अध्यापन गराउने वातावरण सिर्जना गरिनुका साथै अध्ययनको नाममा चर्को शुल्क तथा यस क्षेत्रमा भएका स्वेच्छाचारी प्रवृतिको संगठनले कडा रुपमा बिरोध गरेको छ।

मेलानद्वारा जारी कार्यपत्रमा संघीय संरचनाअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय केन्द्रमा मात्रै रहेकाले प्रदेश सरकार अन्तर्गत स्वास्थ्य कार्यक्रमहरु स्थानीय तहसम्म विकेन्द्रीकृत गरी ग्रामीण समुदायबीच पुर्‍याउन स्वास्थ्य प्रयोगशाला विभाग र परिषद् स्थापना गर्न स्वास्थ्य मन्त्रालयसँग माग गरेको साथै संघीय संरचना अनुसार स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउन स्थानीय तह, प्रदेश तथा केन्द्रमा आवश्कता अनुसार दरबन्दी सिर्जना गरी अनुकूल नीतिनियम बनाउन मेलानले माग गरेको छ।

मेलानले निजी क्षत्रमा संञ्चालित प्रयोगशाला सेवालाई गुणस्तरीय, जनपक्षीय, व्यवस्थित र मर्यादित बनाउन सरकारी तवरबाट समन्वय गरी ती कार्यक्रमहरुमा निजी क्षेत्रलाई पनि सहभागी गराउन माग गरेको छ।

फाल्गुन २५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्