ट्रम्पलाई उत्तर कोरियाको निम्तो

अमेरिकी नीतिको सफलता वा उत्तर कोरियासँगको सम्झौता ?

उत्तर कोरियालाई एक्ल्याउने आफ्नो रणनीति सफल रहेको अमेरिकाले दाबी गरेको छ । उत्तर कोरियाका नेता किम जोङ–उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्नका लागि निम्तो पढाउनु त्यसको प्रमाण रहेको अमेरिकी उप–राष्ट्रपति माइक पेन्सले दाबी गरेका छन् ।

उत्तर कोरियामाथि प्रतिबन्ध लगाएर उसलाई नएक्ल्याएको भए वार्ताका लागि उत्तर अझै लामो समय तयार नहुने उनले दाबी गरेका हुन् ।

अमेरिकाको उद्देश्य भनेको उत्तर कोरियालाई आणविक हतियारमुक्त बनाउने रहेको र त्यो अवस्था नआएसम्म दबाब कायमै रहने पेन्सले बताएका छन् ।

विशेषदूतगएको सोमाबार दक्षिण कोरियाका प्रतिनिधि उत्तर कोरियाका प्रतिनिधि तथा नेता किमसँगको भेटका लागि प्योङयाङ गएका थिए । त्यो भेटमा दुई कोरियाका शीर्ष नेताबिच आउँदो महिना भेटवार्ताको समय मिलाउने सहमति भएको थियो ।

यस्तै त्यहि भेटको क्रममा उत्तर कोरियाले अमेरिकी राष्ट्रपतिलाई भेटवार्ताको निम्तो दक्षिण कोरियाका उच्च अधिकारीको हातमा थमाएको थियो ।

ट्रम्पलाई उत्तर कोरियाको निम्तो : किमलाई भेट्न ट्रम्प राजी

दक्षिण कोरियाली प्रतिनिधिले ह्वाइट हाउस गएर उत्तरको निम्तो ट्रम्पलाई बुझाएका थिए । अमेरिकी राष्ट्रपति र उत्तर कोरियाका नेता किमबिच आउँदो मे महिनामा वार्ता हुने तयारी छ ।

यो खबर बाहिर आएसँगै उत्तर कोरिया र अमेरिका सम्बन्ध तथा उत्तर कोरियाको परमाणु कार्यक्रमका बारेमा अनुगमन गरिरहेका धेरै विश्लेषक अचम्ति भएका छन् । तर अमेरिकाले भेटअघि उत्तर कोरियाले आणविक निशस्त्रिकरणको पक्षमा ठोस कदम चाल्नु पर्ने बताएको छ ।

उत्तर कोरियाका नेता किमले आफ्नो देशमाथि सुरक्षा चुनौती नभएमा आणविक हतियार उत्पादन बन्द गर्न आफूहरु तयार रहेको बताउने गरेका छन् ।

केही महिनाअघिसम्म एक अर्काको आलोचना र सानो देखाउन तल्लिन ट्रम्प र किमबिच फेरिएको सम्बन्धले कोरियाली प्रायद्विपमा फेरिँदै गएको अवस्थालाई संकेत गर्ने र यसबाट आशावादी त हुनुपर्ने तर चनाखो पनि रहनु पर्ने विश्लेषकले बताएका छन् ।

अहिलेसम्म कुनै पनि अमेरिकी राष्ट्रपतिले कार्यालयमै हुँदा उत्तर कोरियाका नेतालाई भेटेका छैनन् । ट्रम्पले किमलाई भेटे त्यो इतिहास बन्नेछ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले वार्ताका लागि निम्तो आउनु उत्कृष्ट प्रगति रहेको तर उत्तरले पूर्णरुपमा आणविक निशस्त्रिकरणको बाटो नअपनाएसम्म उसमाथिको प्रतिबन्ध कायम रहने बताएका छन् ।

अमेरिकी उप राष्ट्रपतिले अमेरिकी नीतिको सफताको रुपमा निम्तोलाई ब्याख्या गरे पनि केही विश्लेषकले भने यो अमेरिकी नीतिको असफलता र उत्तर कोरियाको अवस्था बलियो रहेको रुपमा पनि ब्याख्या गरेका छन् ।

फाल्गुन २६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्