पुस्तक समीक्षा

बादी पीडाको दस्तावेज

दाइले लेखेको देखेर लेख्ने रहर गर्ने एउटा बालक अलि बुझ्ने भएसँगै लेखनका थुपै्र विधामा कलम चलाउन सिक्छ । ऊ केही विधाका केही थान पाण्डुलिपि लिएर काठमाडौं छिर्छ ।

केके नै लेखेको छु भनेर आएको ऊ यहाँको माहौलमा आफूलाई अत्यन्त सानो पाउँछ र चुपचाप बस्छ । तर लेख्न छोड्दैन । कविता, गजल कोर्दै चिनिदै गएपछि उ कथासंग्रहको तयारीमा लाग्छ । कसैले भन्छ कथा हैन उपन्यास । उ उपन्यासकै तयारीमा जुट्छ । लेखनका केही उतारचढाव, विवादपछि उपन्यासले अन्त्यमा नाम पाउँछ ऐलानी ।

विज्ञापन

त्यही ऐलानी पढेर सकियो । एककिसिमले रन्थनिएकी छु । र सँगै उमाकुमारी बादी नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभाको सांसद चुनिएकोमा असाध्यै खुशी भएकी छु ।

अछामका विवेक ओझाले लेखेको बादी समुदायको कथा ऐलानी उपन्यासले भन्छ । सुदूरपश्चिमका पहाडबाट तराई झरेर कैलाली जिल्लाको लम्की नजिकै मुढामा बस्ने बादी बस्ती र त्यहाँका दुई हजुरआमा नातिनी फूलमाया र बसन्ती यस उपन्यासका प्रतिनिधि पात्र हुन् । जसका मुखबाट बादीको पीडा बोल्छ उपन्यासले ।

बादीहरू आफूलाई स्वर्गका राजा इन्द्रका दरबारमा नाच्ने गाउने अप्सराका सन्तान ठान्छन् । गन्धर्व जाति पनि बादी समुदायको पुर्खा हुन सक्ने अनुमान पुस्तकमा गरिएको छ । बर्सौं अघि भारतबाट हालको नेपालको राजनीतिक सीमाभित्र पसेका उनीहरू तत्कालीन बाइसी चौबिसी राज्यका दरबारहरूमा नाच्ने गाउने काम गर्थे । नेपाल एकीकरणपश्चात स्थानीय रजौटा दरबार हुँदै बिस्तारै अन्य सामन्त र स्थानीयका भोग्या बन्न विवश भएको इतिहास छ बादीहरूसँग ।

यौनकर्म गरेर जीविका चलाउनुलाई आफ्नो नियति र संस्कार ठान्ने उनीहरू मालिक÷साहेबका लागि शरीर सुम्पिनुलाई धर्म ठान्छन् । र साहेबको इच्छालाई जुनसुकै समयमा पनि कदर गर्नु उनीहरूको लागि ठूलै अहोभाग्य भइदिएको छ ।

२००७ सालको क्रान्तिको वरिपरिको समयदेखि हालसम्मको समयको चित्र खिचेको छ उपन्यासले । हजुरआमा नातिनीका कथामा ठूलो भाग चाहिँ हजुरआमा फूलमायाकै भागमा परेको छ । आफ्नी आमालाई मुखियासँग देखेकी फूलमायालाई उसको पाँचौं बाले उसको नाक र अनुहारको रंग मुखियासँग मिल्छ भनिरहन्छ । ऊ आमालाई आफ्नो बाबु को हो ? सोध्छे पनि । आमाको मौनताले चुप बस्छे ।

आफैलाई पहिलोपटक भोग्न आएका मुखियासँग पनि के म तिमै्र रगत हुँ साहेब ? सोध्ने मन हुन्छ तर सक्दिन । अन्ततः उ मुखियाकै भोग्या बन्न पुग्छे । प्रारम्भमा मुखियाभन्दा अर्को व्यक्तिसँगको सम्बन्धको कल्पना नगरेकी उ अन्य तीन व्यक्तिसँग शारीरिक सम्बन्ध बनाउन पुग्छे । तिनमा एक मुखिया कै भाइ पनि छ । एकसँग त उ आफै पैसा दिएर आफू खुशी आनन्द लिन्छे र विजेताजस्तो अनुभूत गर्छे ।

जुठा भाँडा माझेर पनि बाँच्ने तर धन्दा नगर्ने सोच राखेकी बसन्तीलाई महिनाभरि काम गरेको ज्याला लिन पनि होटेल मालिकसँग सुत्नु परेपछि अन्ततः उ पनि पेशामै आएकी छे । उ म पात्र अमरसँग भन्छे—अब जिन्दगीमा एउटा सपनामात्र जिउँदो छ । म बिहे गरेर एउटै मान्छेसँग जिन्दगी काट्न चाहन्छु । एउटै मान्छेलाई प्रेम गरिरहन चाहन्छु जिन्दगीभर । एक सामान्य जिन्दगी बाँच्न मन छ ।

२०६५ सालमा बादी महिलाले गरेको राजधानी केन्द्रित आन्दोलनमा सहभागी भएकी बसन्ती भन्छे— सरकारले हाम्रो नांगो शरीर हेर्दै ¥याल काढ्यो । सुरक्षाकर्मीले डण्डा बर्सायो । हाम्रो विश्वासमाथि सरकारले पनि संभोग गर्‍यो । फेरिन त धेरैका धेरै कुरा फेरिए । तर बदलिनुपर्ने पेशा उही रहिरह्यो । त्यो बदलिएन । हामी बेश्या भइरह्यौं । यो सबैभन्दा पेचिलो यथार्थ हो बादीको । जसको शीघ्र सम्बोधन र समाधान हुनु जरुरी छ । राजधानी केन्द्रित आन्दोलनबाट केही व्यक्तिहरूले फाइदा लिएको भए पनि समाज जहाँको त्यहिँ रहेको सत्य उपन्यासको मात्रै नभएर समग्र बादी समुदायको वर्तमान नियति पनि हो ।

अमरकी श्रीमती सावित्रीमार्फत लेखक प्रेमको फरक व्याख्या गर्छन् । सबैथोकको एउटा निश्चित आयु भएजस्तै प्रेमको पनि आयु हुने र आयु सकिएपछि त्यसलाई च्यापेर बस्नुको कुनै औचित्य नहुने भन्दै तिमीप्रतिको प्रेमको आयु सकिएपछि म तिमीलाई छोडिदिनेछु र कुनै दिन आफ्नै उमेरसँग अघाएँ भने पनि म हाँस्दै ठूलो नदीमा फाल हान्ने छु । जोमाथि पे्रम जन्मिन्छ उसैसँग पे्रम गर्नु । थोरै माथि उठेर हेर्नु विकल्पहरू वरिपरि वृत्त बनाएर उभिएका हुनेछन् भनेर सावित्रीले अमरलाई सम्झाएकी छ ।

घटनाक्रमलाई विश्वसनीय बनाउने क्रममा केही तथ्य वा संयोगका लागि सपनाको प्रयोग गरेर लेखकीय चतु¥याईं गरिएको छ । पानी छोएको निहुमा कम्मानको हत्याको जस्तो वर्णन गरिएको छ त्यसले पाठकलाई हल्लाएरै छोड्छ । खेतीपाती, पशुपालन केही नगरिने मात्रै सुल्पा र मादल बनाउन पाइने कि त बिक्रीका लागि नारी शरीर नै हुनुपर्ने भएकाले छोरी जन्मिदा बादीको अनुहार उज्यालो हुन्छ ।

त्यही शरीर बिक्न छोडेपछि उ अरूसँग हात फैलाउनुपर्ने अवस्थामा पुग्छे । कमाइ भइञ्जेल श्रीमतीसँग डराउने लोग्ने कमाइ हुन छोडेसँगै हातपातमा उत्रन्छ । अन्य केही बदिनीका कथा र तिनका जीवनमा आएका उतारचढावले समग्र बादीका कथालाई आवाज दिएको छ । दुई वृद्धाका एक व्यक्तिनिष्ठता र बहुगमन सम्बन्धी विवाद र तर्कले पनि पुस्तकमा स्थान पाएको छ । बदिनीको शरीरसँग मात्रै होइन मन र भावनासँग खेल्नेहरू पनि उत्तिकै छन् । त्यसैले बसन्ती भन्छे— संवेदनासँग खेल्नेहरू प्रेमका लायक हुँदैनन् ।

प्रारम्भदेखि नै पाठकलाई तानेर राख्ने कथानक, स्थानीय भाषिकागत केही नवीन शब्दको प्रयोगका बाबजुद सरल र सुललित भाषा उपन्यासको सबल पक्ष हो । ऐलानी नेपाली सामाजिक यथार्थवादी उपन्यासको इतिहासमा एउटा शक्तिशाली दस्तावेज हो जसले लेखकलाई स्थापित गर्नेमा कुनै शंका छैन ।

सविता विमली

आख्यानमा प्रायः केही अप्रत्याशित अन्त्यले पाठकलाई रोमाञ्चित नै बनाउँछ जुन त्यति प्रश्नको घेरामा पर्दैनन् पनि । तर किनकिन मलाई यो अन्त्य सुनियोजित लागिरहेछ । सुदुरपश्चिमको एक ब्राम्हण युवा जसले पहाड या तराई दुवैतिरको बसाइमा बादी समुदायका कथाहरू देखेर, सुनेर हुर्किएको छ । विद्यालयको शिक्षा नसकिंदै बदिनीसँगको संसर्गमा पुग्नेहरूको संगतमा पनि छ ऊ । बदिनीका कथा भन्ने क्रममा ऊ पाठकको संवेदनालाई हुरुक्कै पार्ने गरी हल्लाउने सामर्थ्य राख्छ ।

तर एउटी बदिनी जो एउटामात्र पुरुषसँगको शारीरिक सम्बन्ध मात्र होइन एउटा प्रेमिल घरसंसारको पनि कल्पना गर्छे । उसँग जति खुलेर म पात्र अभिसारमा लिप्त हुन्छ त्यति खुलेर प्रेम प्रकट गर्न सक्दैन । आफूलाई छोडेर हिँडेकी श्रीमतीको यादमा अवसादको शिकार भएर डाक्टर तथा परिवारको सल्लाहमा उ यात्रामा निस्किएको छ र बसन्तीप्रतिको उसको लगाव पनि उसकी भूतपूर्व पत्नीको अनुहारसँग हुबहु मिलेकोबाटै सुरु भएको छ । बसन्तीसँगको संगतमा उसले श्रीमतीबाट परित्यक्त हुनुको पीडाबाट राहत पाएको छ ।

बसन्ती सबैकोणबाट खुलेर प्रस्तुत भएकी छ । तर अमर खुल्दैन । उ बसन्तीलाई उसको इच्छा विपरीत जबरजस्ती गर्दैन । यो साहसका लागि उसले आफूलाई जति दबाउनु परे पनि उ बसन्तीका सामु असाध्य ज्ञानी भलादमी बन्न सफल भएको छ । यही कारण बसन्ती ऊसँग झ्याम्मिएकी छ । तर लेखक अन्त्यमा गज्जब चलाखी गर्छन् ।

अमर बसन्तीलाई विवाह नगरी नै फर्किएको छ । बदिनीसँग जीवन बिताउने हिम्मत अमरले मात्र नगरेको भएर सुदूरपश्चिमले सदियौंदेखि भोगिरहेको यो कहरलाई जित्ने हिम्मत लेखकले पनि गर्न नसकेको देखिन्छ । र योसँगै बदिनी भोग्या मात्रै हुन् भनिएको त होइन ? भने झैं लाग्छ ।

ब्राम्हण समुदायका व्यक्तिसँग विवाह गरेर बादी आन्दोलनको राप देशभरि फैलाउन सफल उमाको कथाले उपन्यासको अन्त्यसँग सायद प्रश्न गर्दो हो — मालिक ! हम्रा जति हिम्मत पन तमी क्यान नगर्दा हौ ?

 

फाल्गुन २६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्