रहमत आउट भएपछि नेपाललाई राहत तर अझै गाह्रो

काठमाडौं- आईसिसी विश्वकप छनोटको आफ्नो तेस्रो खेलमा नेपाल  अफगानिस्तानलाई रनको १९५ लक्ष्य दिएको छ।

अफगानिस्तानले २६ ओभरमा ३ विकेट गुमाएर  १११ जोडेको छ। अफगानिस्तानका रहमत शाह ४६ ,  जाभेद अहमदी २६ र रसिद खान २१ रनमा आउट भए। अफगानिस्तानले एक सय ११ रन जोड्दा रहमतलाई दीपेन्द्रसिंह एेरीले आउट गरे।

९३ रन जोड्दा सन्दीप लामिछानेले अहमदीलाई आउट गरे। अहमदी र रहमान शाहबीच दोस्रो विकेटका लागि ६५ रनको साझेदारी भएको थियो।

अब अफगानिस्तानलाई २४ ओभरमा ९४ रन आवश्यक छ। अफगानिस्तानले २८ रन जोड्दा पहिलो विकेट गुमायो।  अफगानिस्तानका कप्तान रसिद खान २१  रनमा आउट भए। उनलाई करन केसीले आउट गरे।

सामान्यतया तल्लोक्रममा ब्याटिङ गर्न आउने रसिदले   पाँच चौका प्रहार गरेका छन्। उनले करन केसीलाई लगातार तीन चौका र सोमपाल कामीलाई लगातार दुई चौका प्रहार गरेका थिए।

यसअघि   टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको नेपालले   निर्धारित ४९ ओभर पाँच बलमा  सबै  विकेट गुमाएर १९५ रन जोड्यो ।

नेपालका कप्तान पारस खड्का ७५,   दीपेन्द्रसिंह एेरी ३२, उपकप्तान ज्ञानेन्द्र मल्ल २३ र अनिल शाह सात रनमा आउट भए। रोहित पौडेल भने एक रनमा पवेलियन फर्किए। आरिफ शेखले २३ र सोमपाल कामीले नौ रन बनाए। करन केसीले ६ र बसन्त रेग्मीले ९  रन बनाए। सन्दिपले भने खाता खोल्न सकेनन्।

पारस र ज्ञानेन्द्रबीच दोस्रो विकेटका लागि ९२ रनको साझेदारी भयो। नेपालले एक सय पाँच रन जोड्दा केवल एक विकेट मात्र गुमाएको थियो। तर एक सय २३ रन जाेड्दा नेपालका पाँच ब्याट्सम्यान आउट भइसकेका थिए।

२६ औं ओभरको अन्तिम बलमा उपकप्तान ज्ञानेन्द्र मल्ल दोस्रो विकेटका रुपमा विश्व नम्बर एक बलर रसिद खानको बलमा आउट भए। ज्ञानेन्द्रले ६९ बलमा दुई चौका प्रहार गर्दै २३ रन बनाए।

२९ औं ओभरको चौथो बलमा पारसलाई भेट्रन स्पिनर मोहम्मद नाबीले आउट गरे। नेपालले अन्तिम १० बलमा केवल दुई रनमात्र जोड्न सक्यो।

पारसले ८२ बलमा एक छक्का र १० चौका प्रहार गरे। नाबीले नै रोहितलाई आउट गरेका हुन्। नेपालले एक सय ४९ रन जोड्दा दीपेन्द्रलाई गुमाएको हो।

रसिदको बलमा उनी क्याच आउट भएका थिए।  ४५ औं ओभरको चौथो र पाँचौ‌ं बलमा आरिफ शेख र सोमपाल कामी आउट भए। नाबी एक्लैले चार विकेट लिए। सपुर जद्रान र रसिद खानले दुई दुई विकेट लिए।

पारसले अघिल्लो खेलमा पनि अर्धसतक बनाएका थिए। पारसले ३१ लिस्ट ए खेलमा आठौं अर्धसतक प्रहार गरेका हुन्।

यसअघि उनले अघिल्लो खेलमार्फत लिस्ट एमा एक हजार रन पुरा गर्दै यो सफलता हात पार्ने पहिलो नेपाली  ब्याट्सम्यान बनेका थिए। पारसले विश्व नम्बर एक बलर रसिद खानलाई चार चौका प्रहार गरिसकेका छन्।

नेपालको सुरुवात भने फेरी पनि राम्रो हुन सकेन। नेपालले १३ रन जोड्दा अनिल शाह व्यक्तिगत ७ रनमा आउट भए। उनलाई दिलिप नाथको स्थानमा ल्याईएको थियो।

मुजिब उर रहमानले अनिललाई एलबिडब्लू धरापमा पारे।

नेपालले अघिल्ला दुवै खेलमा हार ब्यहोरेको थियो। पहिला खेलमा घरेलु टोली जिम्बावेसँग एक सय १६ रनले पराजित भएको नेपाल दोस्रो खेलमा स्कटल्यान्डसँग चार विकेटले निराश भएको थियो।

दुई खेलबाट अंक जोड्न नसकेको नेपाल समूह बीको पुछारमा छ। अफगानिस्तानले पनि तीन खेल खेलेपनि अ‌ंक जोड्न सकेको छैन।

फाल्गुन २६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्