यातायात क्षेत्रको समस्या समाधान गर्न स्वतन्त्र आयोग बनाउन माग

फाइल तस्विर ।

विराटनगर- यातायात क्षेत्रको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न सरकारले स्वतन्त्र आयोग बनाउनुपर्ने आवश्यकता रहेको यातायात क्षेत्रमा आवद्ध मजदुर तथा व्यवसायीले बताएका छन्।

सुनसरीको इटहरीमा शनिबार आयोजित नेपाल यातायात मजदुर संघको प्रदेश एकस्तरीय तेस्रो अधिवेशनका क्रममा यातायात क्षेत्रमा कार्यरत मजदुरहरुका समस्या तथा पीडालाई न्याय दिन स्वतन्त्र आयोग बन्नुपर्नेमा जोड दिएका हुन्। विद्यमान अवस्थामा ट्रेड युनियनहरुप्रति नकारात्मक टिप्पणी भइरहँदा मजदुरहरुले भने, आफ्नो हक अधिकारलाई कुण्ठित गर्न खोजिएका बताएका छन्।

अधिवेशन उद्घाटनका क्रममा संघका अध्यक्ष अजयकुमार राईले यातायातको रुपमा मुलुकको एकमात्र ठूलो सडक सञ्जालमा कार्यरत मजदुरहरुको हक अधिकारका लागि सरकारले वेवास्ता गरिरहेका बताए। उनले भने, ‘मजदुरहरुका हकमा सरकारले ठोस पहल कदमी नचालिदिँदा मजदुरहरु सधै पीडित हुनुपर्दै आएको छ।

अध्यक्ष राईले सम्बन्धित निकायले चालक अनुमति पत्र समयमा उपलब्ध गराउन नसकेकोमा गुनासो गरे। त्यसैगरी सीप भएका चालक, अनुमति पत्र पाएका युवाहरुको विदेशिँदै गएकोमा उनले चिन्ता ब्यक्त गरे।

त्यसैगरी यातायात ब्यवसायी हिरा उदासले मुलुकमा मागभन्दा बढी सवारी साधन भित्रिएकोमा सरकारको ध्यानाकर्षण गराएका थिए। अधिवेशनले आउदो चार वर्षका लागि सुनसरीका पूर्ण प्रधानको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ। प्रधानको यो दोस्रो कार्यकाल हो।

फाल्गुन २६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्