हङकङलाई हराएमात्र नेपालले एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता पाउने सम्भावना, यस्तो छ समीकरण

फाइल तस्बिर

काठमाडौं- आईसिसी विश्वकप छनोटको आफ्नो तेस्रो खेलमा शनिबार अफगानिस्तानसँग पराजित भएपछि एकदिवशिय मान्यता पाउने सम्भावना समेत नेपालको निकै कठिन बनेको छ।

समूहगत चरणको सोमबार हुने आफ्नो अन्तिम खेलमा हङकङलाई हराएमात्र नेपालले एकदिवशिय अन्तर्राष्ट्रिय मान्यता पाउने सम्भावना रहने छ। त्यस्तो नतिजा आएमा नेपाल समूहगत चरणबाट बाहिरिने एसोसिएट टोलीमध्ये सबैभन्दा अगाडि हुनुपर्छ। तर त्यसअघि नेपालले हङकङसँग हार ब्यहोरे एकदिवशिय मान्यता पाउने सम्भावना लगभग सकिने छ। नेपाललाई हराएपछि हङकङ सुपर  सिक्स पुग्ने भएकाले नेपालको सम्भावना सकिने भएको हो।

प्रतियोगितामा सहभागी भएका ६ एसोसिएट टोलीमध्ये नेदरल्यान्डससहित चार टोलीले एकदिवशिय अन्तर्राष्ट्रियको मान्यता पाउने छन्। यसमध्ये स्कटल्यान्डले पाइसकेको छ भने यूएईको पनि लगभग  निश्चित भईसकेको छ। समूह एमा रहेको यूएईले तीन खेलबाट चार अ‌ंक जोडेर तेस्रो स्थानमा छ।

नेदरल्यान्ड्सको तीन खेलबाट दुई अंक छ। अन्तिम खेलमा नेदरल्यान्ड्सले वेस्ट इन्डिज र यूएईले अायरल्यान्डको सामना गर्ने भएकाले यूएईको सुपर सिक्स सम्भावना निकै बलियो देखिन्छ।

नेपाल रहेको समूह बीमा स्कटल्यान्ड तीन खेलबाट ६ अ‌ंक जोडेर सुपर सिक्स पुगिसकेको छ। त्यसैले बाँकी एक टोलीको टु‌ंगो लाग्न बाँकी छ। समूह बीमा अफगानिस्तान चार खेलबाट दुई अ‌ंक जोडेर तेस्रो स्थानमा छ। तीन खेलबाट दुई अ‌ंक भएकाे हङकङ चौथो र नेपाल पाँचौं स्थानमा छन्।

नेपालले हङकङलाई हराए पनि नेटरनरेटमा अफगानिस्तानभन्दा निकै पछाडि छ। तर नेपाललाई हङकङले हराए सुपर सिक्स मात्र पुग्ने छैन एकदिवशिय अन्तर्राष्ट्रियको पनि मान्यता पाउने छ। हङकङ हारेको स्थीतिमा सातौंदेखि १० औं स्थानसम्मका लागि हुने खेलमा एसोसिएटमध्ये जुन टोली अगाडि हुने छ त्यसैले एकदिवशिय अन्तर्राष्ट्रियको मान्यता पाउने छ।

 

फाल्गुन २६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्