कर्णालीको विकास गर्न काठमाडौंमा अन्तर्क्रिया गरिने

वीरेन्द्रनगर– कर्णाली प्रदेशको विकास गर्न काठमाडौंमा अन्तरक्रिया गर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ।

शनिबार बसेको मन्त्रिपरिषद्को तेस्रो बैठकले विपन्न प्रदेशका रुपमा रहेको प्रर्णाली प्रदेशको विकास गर्न काठमाडौंमा अन्तरक्रिया गर्ने सहित १० वटा निर्णय गरेको हो।

५२ प्रतिशत गरिवी न्यूनीकरण र कर्णालीको समस्या समाधानका लागि विज्ञहरुसँग अन्तरक्रिया गरिने प्रदेश सरकारका प्रवक्ता एवम कृषि मन्त्री विमला केसीले बताइन्।

उनका अनुसार अन्तर्क्रिया कार्यक्रम व्यवस्थापनका लागि आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले समन्वय गर्ने जिम्मेवारी तोकिएको छ।

कर्णाली प्रदेशका सम्भावना, चुनौती र समाधानका लागि विज्ञहरुसँग केन्द्रिय राजधानी काठमाडौंमा अन्तरक्रिया गर्ने प्रदेश सरकारले निर्णय गरेको हो। अन्तरक्रियाबाट आएका सुझावका आधारमा प्रदेश सरकारले नीति नियमहरु बनाएर अगाडी बढ्ने प्रवक्ता केसीले बताइन्।

यसैबीच, मन्त्री परिषद्को बैठकले सार्वजनिक लिखित प्रमाणिकरण सम्वन्धि नियमावली–२०७४ संंशोधन गरेको छ । मन्त्री परिषद्को दोस्रो बैठकले पारित गरेको नियमावली पहिलो पटक संशोधन गरिएको उनले जानकारी दिइन् । प्रदेश सरकार कार्य सञ्चालन नियमावली–२०७४ पहिलो संशोधन गरिएको छ । मन्त्री परिषद्का सदस्यहरुको आचार संहिता–२०७४ स्वीकृत गरेको छ । यस्तै, प्रदेश मन्त्रीपरिषद् सञ्चालन कार्यविधी कायान्वयन गर्न मन्त्रीहरुको संयोजकत्वमा तीन वटा समितिहरु गठन गरिएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको संयोजकत्वमा राजनीतिक समिति, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी संयोजकत्वमा प्रशासन तथा विद्येक समिति गठन गरिएको छ ।

यसमा सामाजिक विकास मन्त्री दलबहादुर रावल र वन, वातावरणमन्त्री नन्दसिंह बुढा सदस्य रहेका छन् । यस्तै, सामाजिक विकास मन्त्री रावलको संयोजकत्वमा आथिर्क सामाजिक पूर्वाधार समिति गठन गरिएको छ । जसको सदस्यमा आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी र भौतिक पूर्वाधारमन्त्री खड्ग खत्री रहेका छन् । कर्णाली प्रदेश आर्थिक कार्यविधि २०७४ प्रदेश सभामा पेश गर्ने गरी आर्थिक मामिला तथा योजना मन्त्रालयमा पठाउन स्वीकृत गरिएको छ ।

फाल्गुन २६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्