शीर्ष चारमा पर्ने चेल्सीको आश जीवितै

चेल्सीले शीर्ष चारमा पर्दै आउँदो सिजनको च्याम्पियन्स लिग फुटबलका लागि स्थान बनाउने आश फेरि जीवित राखेको छ ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा क्रिष्टल प्यालेसलाई २–१ ले हराउँदै चेल्सीले शीर्ष चारमा पर्ने सम्भावना कायम राखेको हो ।

घरेलु मैदानमा भएको खेलमा एक गोल चेल्सी आफैले गर्‍यो भने एक गोल उपहार पाएको हो । २५ औँ मिनेटमा विलियनको गोलबाट चेल्सीले सुरुवाति अग्रता लिएको थियो ।

३२ औँ मिनेटमा क्रिष्टल प्यालेसका केलीले आत्मघाती गोल गरेपछि चेल्सीले पहिलो हाफमा २–० को अग्रता लियो । खेलको अन्तिम समयसम्म मा गोल गर्न नसकेको क्रिष्टल प्यालेसका लागि ९० औँ मिनेटमा भान आन्होल्टले एक गोल गरे ।

जितपछि पाँचौँ स्थानको चेल्सीको ३० खेलबाट ५६ अंक भएको छ । उ चौथो स्थानको टोटनह्याम भन्दा दुई अंकले पछि रहेको छ । रेलिगेशन जोनमा रहेको क्रिष्टल प्यालेसको २७ अंक मात्रै छ ।

लिग अन्तर्गत राति नै भएको खेलमा एभर्टनले ब्राइटनलाई २–०, लेस्टर सिटीले वेष्ट ह्याम तथा न्युक्यासलले साउथह्याम्पटनलाई समान ३–० ले हराएका छन् ।

फाल्गुन २७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्