एमाले–माओवादी संसदीय दलको संयुक्त बैठक बस्दै

काठमाडौं – पार्टी एकता प्रक्रियामा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संसदीय दलको संयुक्त बैठक आइतबार बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संघीय संसदको प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रमको सन्दर्भमा गठबन्धनका दुवै दलले आफ्नो संसदीय दलको संयुक्त बैठक बोलाएका हुन् । बैठक दिउँसो साढे १२ बजे बस्नेछ ।

संसदीय दलको संयुक्त बैठकलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

पार्टी एकता गर्ने घोषणा गरेका दुवै दलले संयुक्त संसदीय दलको बैठक अभ्यास गर्दै आएका छन् । संयुक्त बैठकपछि प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रम छ । विश्वासको मतदानमा आफ्ना सबै सांसदलाई सरकारको पक्षमा मतदान गर्न बैठकले आग्रह गर्ने जनाइएको छ ।

फाल्गुन २७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्