मातृत्व

पाँच आमा, पाँच देश, पाँच शिशु

बेलायतसहित युरोपका देशमा आइतबार मदर्स डे (आमा दिवस) मनाईंदै छ । यो दिवसको अवसर पारेर पाँच फोटोग्राफरले पाँच आमाले विश्वका पाँच देशमा बच्चा जन्माउँदै गरेको कथा समेटेका छन् ।

यी तस्बिरहरु सहयोगी संस्था सेभ द चिल्ड्रेनका लागि खिचएको हो । आमा हुनुको अनुभाव र आमाको महत्वलाई दर्शाउन यो फोटो कथा बनाइएको हो ।

केन्या


बेल्जियमका फोटोग्राफर बिएकी डिपोर्टर, जो माग्नुम फोटोज्का लागि काम गर्छिन् । उनी केन्याको बुन्गोमा क्षेत्रमा गइन् । त्यहाँ उनले नेलीलाई भेटिन्, जसले आफ्नो तेस्रो सन्तानको रुपमा छोरी जन्माउँदै थिइन् । उनको नाम तस्बिर खिचिसकेपछि बिएकी नै राखियो ।

सुत्केरी बेथा लाग्न थालेपछि नेलीलाई मोटरसाइकल एम्बुलेन्समा राखेर अस्पताल लगिएको थियो । ग्रामीण इलाका भएकाले त्यहाँ मोटरसाइकल मात्रै यातायातको सजिलो विकल्प हो ।

सामुदायिक सुडेनीको सहयोगमा नेलीले सामान्य रुपमा छोरी जन्माइन् । नेलीले भनिन्, ‘मैले धेरै प्राथना गरेँ । छोरीका लागि अनि डाक्टरका लागि पनि । तर उनीहरु मेरो वरिपरी भएकाले आफ्नो चिन्ता भने थिएन ।’

 

रोमानिया


डाना पोपा लण्डनमा बसेर काम गर्दै आएकी फोटोग्राफर हुन् । उनले यो अभियानका लागि रोमानियाको बुखारेस्टलाई चुनिन् । उनले त्यहाँ आफ्नो पहिलो सन्तान जन्माउँदै गरेकी रोक्सानाको तस्बिर खिचिन् ।

रोक्सानाका श्रीमान उनी चार महिनाको गर्भवती हुँदा बितेका थिए । रोक्सानाले छोरी सोफियालाई जन्मदिइन् । रोक्साना भर्खरै जन्मिएकी छोरी सोफियालाई साथमा लिएर अस्पतालमा आराम गर्दैगर्दा आफ्ना दिवंगत श्रीमानलाई सम्झिरहेकी थिइन् ।

‘उनी (श्रीमान) परिवारलाई माया गर्ने व्यक्ति थिए, सन्तान चाहन्थे, सन्तानका लागि पागल नै थिए । गर्भवती भएको थाहा पाउँदा म डराएकी थिएँ । तर उनी निकै शान्त थिए । उनी मुस्कुराउँदै मलाई हेर्थे । त्यसपछि भने रोक्सानालाई सबै राम्रो हुन्छ भन्ने लागेको थियो । तर उनी चार महिनाकी गर्भवती हुँदा श्रीमानलाई हृदयघात भयो । त्इकसो तीन हप्तापछि निधन ।

ग्वाटेमाला


स्पेनिस फोटोग्राफर कार्लोता गुरेरोले ग्याटेमाला रोजिन् । त्यहाँ उनले आफ्नो दोस्रो सन्तान जन्माउँदै गरेकी १९ वर्षे जेनिफरलाई भेटिन् । अनि उनले दोस्रो सन्तानका रुपमा जन्माउँदै गरेको छोरा डानिएलको फोटो खिचिन् ।

जेनिफर ग्वाटेमालाको क्वुल्टनाङगो क्षेत्रमा बसोबास गर्छिन् । आफ्ना अभिभावकसँग सानो फ्ल्याटमा बस्दै आएकी जेनिफरले जीविकाका लागि काम पनि गर्दै आएकी छन् । उनीकी तीन वर्षकी छोरी पनि छन्।

जेनिफरले डानिएललाई टोटोनिकापानमा रहेको सरकारी अस्पतालमा जन्माएकी हुन् । उनका श्रीमान पनि अस्पतालमा थिए तर बच्चा जन्माउने वार्डमा प्रवेश निशेष गरिएको थियो ।

८ घण्टाको सुत्केरी बेथापछि उनले सामान्य रुपमा डानिएललाई जन्माएकी थिइन् । तर बच्चा ठूलो भएकाले उनले लामो समय बेथा सहनु परेको थियो । ‘जब उ जन्मियो म निकै खुशी थिएँ । त्यसलाई वर्णन गर्ने कुनै शब्द नै छैन मसँग’ जेनिफरले भनिन् ।

नेपाल


फोटोग्राफर डायना मार्कोसिएनले यो अभियानका लागि नेपाल रोजिन् । उनले बाँकेकी २५ वर्षकी छोटीलाई छोरा इरफान जन्माउँदै गर्दा आफ्नो क्यामेरामा कैद गरिन् ।

सेभ द चिल्ड्रेनले सहयोग गरेको प्रसुति गृहमा छोटीले आफ्नो तेस्रो सन्तानको रुपमा इरफानलाई जन्माएकी हुन् । नेपालमा अझै पनि धेरै महिलाले अस्पताल बाहिर नै बच्चा जन्माउने गरेका छन् ।

‘मेरा लागि आमा बन्नु भनेको धेरै पीडाको यात्रा तय गर्नु जस्तै हो’ छोटीले भनिन्, ‘र यो पनि हो कि पीडाको उपचार पनि । किनकी मेरो सन्तानले म नसक्ने भएका बेला स्याहार गर्नेछ ।’ छोटीले यसअघि नै दुई छोरा जन्माइ सकेकी थिइन् ।

बेलायत


फोटोग्राफर शान डेवीले बेलायतकी ३७ वर्षे एलनलाई उनको बच्चा जन्माउँदै गर्दा तस्बिरमा समेटे । एलनले दुई वर्षको प्रयासपछि सन्ताको रुपमा एलिसलाई जन्माउँदै थिइन् ।

एलन र उनकी श्रीमान एण्डी लण्डनमा बस्छन् । यो दम्पतीले सन्तान जन्माउने निकै प्रयास ग¥यो । एलनका यसअघिका दुई गर्भ खेर गयो । त्यसपछिको गर्भमा एलिसको जन्म भएको हो । एलन सुत्केरी बेथा लागेपछि वुलविचमा रहेको क्वीन एलिजाबेथ अस्पतालको एनएचएस बर्थिङ सेन्टरमा भर्ना भइन् ।

उनले लामो बेथापछि एलिसलाई जन्माइन् । त्यसक्रममा उनका श्रीमान एण्डी साथैमा थिए । तीनजना मिडवाइफले सहयोग गरिरहेका थिए । एलनले दिउँसो तीन बजे एलिसलाई जन्म दिएकी थिइन् । उनीहरु भोलिपल्ट घर गए ।

(सबै तस्बिर सेभ द चिल्ड्रेनका लागि पाँच फोटोग्राफरले खिचेका हुन् । शब्द साभार बिबिसीबाट गरिएको हो ।)

फाल्गुन २७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्