एमालेको आन्तरिक विवादले प्रदेश नं. ४ मा मन्त्रीपरिषदले पूर्णता पाएन

पोखरा – प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फागुन ४ गते शपथ ग्रहणसँगै पदभार ग्रहण गरे पनि अझै मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । मुख्यमन्त्री गुरुङले आइतबार मन्त्रीपरिषदलाई पूर्णता दिन संकेत देखाए पनि एमाले भित्र सहमति जुट्न सकेको छैन ।

मन्त्रीपरिषद विस्तारका लागि शनिबार राति अबेरसम्म नेताहरुको बैठक चलेको थियो । एमाले र माओवादी केन्द्रबिच मन्त्रालयको विषयमा सहमति भए पनि एमालेले मन्त्री छनौट गर्न नसक्दा मन्त्रीपरिषद बिस्तार ढिलाई हुन गएको बुझिएको छ ।

पार्टी भित्रको आन्तरिक विवादका कारण मन्त्री छनौट कठिन भएको एमाले स्रोतले जनाएको छ । मुख्यमन्त्री गुरुङले शुक्रबार विश्वासको मत लिएपछि मन्त्रीपरिषद विस्तारको तयारी गरे पनि पार्टी भित्रको आन्तरिक विवादले मन्त्रीको टुंगो लगाउन सकेका थिएनन् ।

मुख्यमन्त्री सुब्बा आइतबार नै मन्त्रिपरिषदको विस्तार गरेर राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न काठमाडौं जाने सोचमा रहेको मुख्यमन्त्री निकट स्रोतले जनाएको छ ।

मन्त्रीका लागि एमालेको भागमा परेका पाँच मन्त्रालय परेको छ । एकमा रामशरण बस्नेत मन्त्री भइसकेका छन् । बाँकी ४ मा सहमतिमा कठिनाई देखिएको छ । कास्की भन्दा बाहिर जिल्लाबाट मन्त्री बनाउनु पर्ने दबाबले बढेको छ ।

कास्कीमा धेरै समानुपातिक सांसद र उपसभामुख कास्कीले पाएको भन्दै अन्यत्र जिल्लाको सांसद मन्त्री बन्नु पर्ने आवाज उठेकाले पनि सबै क्षेत्रीय, जातिय र समावेशी रुपमा ४ मन्त्रालयमा अटाउनु पर्ने चुनौती मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई देखिएको छ ।

फाल्गुन २७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्