५ वर्षमा ६ सय ७९ घर खरानी

दाङमा आगलागीको डरलाग्दो रुप

दाङ राजपुर गाउँपालिकामा केही दिनअघि भएको आगलागीपछि खरानी खोज्दै पीडित। तस्बिर: दशरथ घिमिरे

दाङ–केही दिन अघि राजपुर गाउँपालिका वडा नं. ३ भैसहवा स्थित केशवराम यादवको घरमा आगलागी भयो। खरको छानो भएको घरमा आगो लाग्दा सबै जलेर खरानी बन्यो। गुचुप्प परेको बस्ती भएकाले आगो अन्यत्र फैलने सक्ने त्रास थपियो। आगो नियन्त्रणमा लिन कुवा तथा नल्काको पानी, माटो, बालुवा, स्याउला प्रयोग गरे। सवैको जोडबलले बल्लतल्ल आगो नियन्त्रणमा आयो।

गर्मी मौसम सुरु भएसँगै दाङको देउखुरी उपत्यकामा आगलागीको घटनामा वृद्धि हुन थालेको छ। आगलागीको उच्च जोखिममा गढवा र राजपुर गाउँपालिकाका वस्ती पर्छन्। योसँगै राप्ती गाउँपालिका र लमही नगरपालिका पनि आगलागीको उच्च जोखिममा छ। बितेको पाँच वर्षमा दाङ जिल्लामा ६ सय ७९ घर जलेर नष्ट भएको छ। आर्थिक वर्ष २०६९/०७० मा एक सय ४, ०७०/०७१ मा एक सय ३७, ०७१/०७२ मा एक सय ८० आगलागीका कारण प्रभावित बनेका थिए।

यस्तै आर्थिक वर्ष ०७२/०७३ मा एक सय १८, ०७३/०७४ मा ८५ घरमा आगलागी भएको थियो। यस वर्षको फागुन २५ गते सम्म ५५ घरमा आगलागी भएको जिल्ला विपद् व्यवस्थापन समिति/जिल्ला आपत्कालीन कार्यसंचालन केन्द्रका सुचना ब्यवस्थापन अधिकृत खिलानाथ दाहालले जानकारी दिए।

‘गर्मी मौसम सुरु हुदैछ, यो बेलामा सबैभन्दा बढी सावधानी अपनाउनुपर्छ,’ उनले भने, ‘फागुन २५ सम्मको प्राप्त विवरणमा माघमा ७ र फागुनमा ७ गरी १४ वटा घरमा आगलागी दुई महिनाको बीचमा भएको विवरण प्राप्त भएको छ।’

हरेक वर्ष देउखुरीमा आगलागीका घटना दोहोरिने गरेको छ। तर, आगलागीको घटना दोहोरिन नदिनेगरी ठोस योजना निर्माण नहुँदा यस्तो समस्या देखिने गरेको हो। ‘मानवीय असावधानीका कारण बढी जसो आगलागीका घटना हुने गरेका छन्, मानवीय कारणले हुने आगलागीका घटनालाई रोक्न सकिन्छ,’ नेपाल रेडक्रस सोसाइटी उपशाखा लालमटियाका सभापति गंगाराम भट्टराईले भने, ‘आगलागी हुनै नदिन सचेत हुनुपर्ने महत्वपूर्ण मानिन्छ, अर्काे कुरा आगलागी भैहालेमा क्षति हुन नदिन आगलागी नियन्त्रणका उपायहरु तत्काल नै अपनाउन सकिन्छ, समुदायका मानिसहरु नै पहिलो उद्धारकर्ता भएकाले समुदायका मानिसलाई क्षमतावान बनाउँदै सरोकारवाला निकायलाई जिम्मेवार बनाउन जरुरी छ।’

तालिम प्राप्त अग्निनियन्त्रक छैनन्

दाङ जिल्लामा चार वटा वारुणयन्त्र छन्। देउखुरी उपत्यकामा लमही नगरपालिकाले नयाँ दमकल सञ्चालनमा ल्याएको छ।

लमही नगरविकास समितिले पुरानो दमकल मर्मत गरेर तयार पारेको छ। घोराही र तुलसीपुर उपमहानगरपालिकामा एक/एक वटा दमकल छन्। जिल्लामा ठूलो आगलागीको घटना भएमा यी दमकल अपर्याप्त हुन्छन्। नेपालगञ्ज अथवा वुटवलवाट दमकल वोलाउनुपर्ने वाध्यता छ।

सडकको अवस्थाका कारण आगलागी भएको स्थान सम्म दमकल पुग्न सक्दैन् । एउटा दमकल सञ्चालन गर्न ६ जना तालीम प्राप्त अग्नी नियन्त्रक हुनुपर्छ। तर, अहिले जिल्लामा सञ्चालन भएका दमकल मापदण्ड विपरीत छन्। अरुले गरेको देखेको आधारमा आगो नियन्त्रण गर्न खटिएका छन्। एक जना चालक र अर्का एक जना गरी दुई जना मात्रै आगो नियन्त्रणमा खटिने गरेको पाइएको छ। परम्परागत शैलीमा आगो नियन्त्रण भइरहेको छ।

कसरी जोगिन सकिन्छ आगलागीको जोखिमबाट?

-सलाइ, लाइटर जस्ता प्रज्वलनशील पदार्थहरु केटाकेटीको पहुँचभन्दा टाढा राखौं।

-खाना पकाइसकेपछि राम्रोसँग आगो निभाएर मात्र अन्य काममा लागौं, दिउँसो हावाहुरी चलेको बेला आगो नबालौं, घर बाहिर पनि आगो बाल्ने नगरौं।

-फुस, पराल जस्ता वस्तुमा बत्ती आगो चाँडै सल्किने र छिनभरमै विकराल रुप लिने हुँदा टुकी, मैनबत्तीको प्रयोगको सट्टा चार्ज गर्न मिल्ने लाइट वा ब्याट्रीबाट बल्ने बत्तीको प्रयोग गरौं। सामान्य असावधानीका कारण आगो सल्किन सक्छ।

-रातको समयमा हिँडदा आगोको राँको, अगुल्टोको सट्टा टर्चलाईट बालेर हिँडडुल गरौं।

-आआफ्नो घरमा भएका भाँडाहरुमा पानी भरेर राख्ने गरौँ। यसले आगलागी भएको बेला निभाउन सहयोग पुग्छ।

· यदि आगलागी भएमा केराको बोट, हरियो स्याउला, माटो, बालूवा, पानी जस्ता आगो निभाउन प्रयोग हुने सामाग्रीको प्रयोग गरौं ।

· सामुदायिक बनमा डढेलो नलगाऔं, अग्नि रेखा बनाई समयमै पूर्बतयारी गरौं ।

 

 

फाल्गुन २७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्