एउटै विद्यालयमा दुई प्रधानाध्यापक

पर्वत-शिक्षा नियमावलीअनुसार एउटा विद्यालयमा एकजना मात्र प्रधानाध्यापक रहनुपर्ने व्यवस्था भए पनि जिल्लाको एउटा विद्यालयमा भने एक वर्षदेखि दुईजना प्रधानाध्यापक रहँदै आएका छन्।

कुश्मा नगरपालिका-११ स्थित वीरेन्द्र माविमा सरकारी निकाय र विद्यालय व्यवस्थापन समितिले बनाएका दुईजना छुट्टाछुट्टै प्रधानाध्यापक रहँदै आएका छन्।

एक वर्षअघि विद्यालयका प्रधानाध्यापक देवराज पौडेल कालिका मावि खुरकोटमा सरुवा भएर जाँदा ज्येष्ठताका आधारमा गणेशराज पौडेललाई निमित्त प्रअ दिएर गएका थिए।

विद्यालय व्यवस्थापन समितिले भने पौडेललाई प्रअ बनाइ काम गराउन नसकिने भन्दै हीराबहादुर क्षेत्रीलाई बनाउनुपर्ने अडान लिएपछि विवाद चुलिँदै गएको हो। पौडेल माध्यमिक तह तृतीय श्रेणीका स्थायी शिक्षक हुनुहुन्छ भने क्षेत्री निम्न माध्यमिक तह द्वितीय श्रेणीका शिक्षक छन्।

पौडेलले यस अगाडि नै २०६८ देखि तीन वर्ष प्रअ भई काम गर्दागर्दै पदबाट राजीनामा गरेका छन्।उनीमाथि आर्थिक हिसाब किताब पारदर्शी रुपमा राख्न नसकेको आरोप छ। पौडेलले आफूपछि प्रअ बनेकी सावित्रा सुवेदीलाई बरबुझारथ गरेन।

क्षेत्रीय शिक्षा निर्देशनालय पोखरा, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पुनरावेदन अदालत बागलुङ र जिल्ला शिक्षा कार्यालयले शिक्षा नियमावलीअनुसार गणेशराज पौडेललाई प्रधानाध्यापक बनाउन भनी विद्यालयमा पत्राचार गरेको भए पनि व्यवस्थापन समितिले भने हीराबहादुर क्षेत्रीलाई प्रधानाध्यापकको जिम्मेवारी दिएको छ।

क्षेत्रीको पक्षमा समितिमा बहुमत छ।विद्यालयमा दुवै प्रअले कार्यसम्पादन गर्दै आएका छन्। जिल्ला शिक्षा कार्यालय र अन्य निकायमा पेश गर्नुपर्ने कागजात पनि जुन प्रअले फेला पार्नुभयो, उनहरूले आफ्नो नाम उल्लेख गरी हस्ताक्षर गरेर पेश गर्ने गरेका छन्। विद्यलयमा प्रअको कुर्सी भने खाली नै छ। दुवैजनाले प्रअको कुर्सीमा बसेर भने काम गरेका छन्।

जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले नियमअनुसार गणेशराज नै प्रअ हुनुपर्ने बताए। ‘नियमअनुसार त गणेश नै प्रअ बन्‍नुपर्ने हो,” उनले भने, ‘विवाद समाधानका लागि मैले धेरै पटक प्रयास र ताकेता गरेँ, सुनवाइ भएन।’

विवादका कारण शिक्षा कार्यालयले विद्यालयको खातासमेत बन्द गरेको छ। शिक्षकलाई तलब दिनका लागि मात्रै खाता खुलाउने र अन्य आर्थिक क्रियाकलाप गर्न नमिल्ने बनाइएको छ।

फाल्गुन २७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्