नेपालगञ्ज – तपाईँलाई बाघ हेर्ने रहर छ? छ भने बाँके राष्ट्रिय निकुञ्जमा आउनुस्, धेरै बेर हिँड्नै पर्दैन, बाघ देखिहाल्नु हुन्छ।

दुई अष्ट्रेलियाली पर्यटकलाई लिएर निकुञ्जको जीप सफारीमा गएको टोलीले एक घण्टा घुम्न नपाउँदै बाघ देखेपछि यतिबेला खुशीको सञ्चार भएको छ।

निकुञ्जको जलसेनी र परुवा खोलाको बीचको जंगल पथमै बाघ देखिएको हो। ‘जंगल पथमै बाघ देखिएपछि पर्यटकहरु खुशी भएका छन्, बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) दिलबहादुर पुनले भने, बाघ हेर्नका लागि बाँके राष्ट्रिय निकुञ्जमा धेरै मेहनत गर्नु पर्दैन।’

गाभरबाट प्रवेश गरेको पर्यटकको टोली बाघ हेरेर ओभरी हुँदै निस्केको गाभर भ्यालीका नेचुरल गार्ड कलबहादुर चौधरीले बताए। ‘बाघ देखियो, सबैले आनन्द महसुस मात्रै गरेनन्, एक प्रकारले सबै डराए, गाभर भ्याली होमस्टेका सञ्चालक कृष्णप्रसाद चौधरीले भने, निकुञ्ज छिरेको केहीबेरमै बाघ देखिएपछि पर्यटकहरु धेरै खुशी भए।’

बाँके राष्ट्रिय निकुञ्ज बाघ संरक्षणकै लागि स्थापना गरिएको हो । २०६७ सालमा स्थापना भएको निकुञ्जमा १३ वटा पाटे बाघ रहेका छन् । पछिल्लो पटक क्यामेरा ट्रापिङको रिपोर्ट आइसकेको छैन । वार्डेन पुनले बाघको संख्या अझ बढेको बताउँछन् ।

बाँके राष्ट्रिय निकुञ्जले बर्दिया, सल्यान र दाङको सीमा छोएको छ । मध्यवर्तीक्षेत्रसहित आठ सय पचास वर्गकिलोमिटरमा फैलिएको निकुञ्जमा आहाराजन्य जनावरको उल्लेख्य बृद्धि र दुर्लभ वन्यजन्तु चौकासमेत रहेको अधिकारीहरु बताउँछन् ।

निकुञ्जमा सहजै बाघ देखिन थालेपछि पर्यटकको आकर्षण बढ्दै गएको छ । यद्यपि, अझै निकुञ्जले जीप र हात्ती सफारीलाई व्यवस्थित गर्न सकेको छैन । ‘जीप सफारी भइरहेका छन्, हात्तीचाहि हामीसँग धेरै नभएकाले माग अनुसार दिन सकेका छैनौ, वार्डेन पुनले भने, निकुञ्जमा दश वटा हात्तीको दरबन्दी रहेकोमा अहिले चार वटामात्रै छ । अरु ल्याउदैछौं ।’

कैलाल, रारा, स्वार्गद्वारीसम्म जाने पर्यटकहरु नेपालगञ्ज आउने गर्दछन् । नेपालगञ्जमा बास बस्ने गरेका पर्यटकलाई बाँके राष्ट्रिय निकुञ्जको बाघ देखाउन लैजाने वातावरण बनाउन सकेमा यहाँको पर्यटन व्यापार बढ्ने जानकारहरु बताउँछन् । निकुञ्जमा आउने पर्यटकलाई नै मध्यनजर गरेर आसपासमा ठूल्ठूला होटल र होमस्टेहरु बनिरहेका छन् ।

सरकारले बाघको संख्या दोब्बर बनाउने रणनीति बनाएर अघि बढिरहदा बाँके र बर्दियाको निकुञ्जमा सोचेजस्तै प्रगति हुने दुवै निकुञ्जका अधिकारीहरु बताउँछन् । दुवै निकुञ्जमा बाघ गणना अन्तिमतिर पुगेको छ ।

फोटो ः बाँके राष्ट्रिय निकुञ्ज ।

फाल्गुन २७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्