आर्थिक सम्भावनाको ढोका उघार्न एक व्यवसायीका टिप्स

नेपाल प्रचुर आर्थिक विकासको सम्भावना भएको राष्ट्र हो। हजारौँ मेघावाट बिजुली, लाखौँ विदेशी पर्यटकको आगमन। हिमाली क्षेत्र जडिबुटीको खानी। दुई विशाल जनसंख्या र भूगोल भएका राष्ट्र चलाउन सक्ने डाइनामो। नेपालको सम्भावना अथाह छ।

नयाँ संविधानले जब नेपाललाई संघीयतामा लग्यो, सात प्रदेशले नयाँ कार्यकारी र संसद पाए। जनताले हजारौँ स्थानीय नेता चयन गरे। नयाँ प्रदेशका नयाँ राजधानी र नयाँ नेताहरु अहिले आफ्नो प्रदेशका विभिन्न स्थान डुल्दै छन्। प्रदेशलाई आर्थिकरुपमा सम्पन्न बनाउन सक्ने स्रोतका सम्भावनाहरुको खोजीमा भौँतारिरहेका छन्। सबै प्रदेशका प्रदेश प्रमुख, प्रदेश सभासद् तथा स्थानीय नेताहरु आफ्नो प्रदेशले छिमेकी प्रदेशभन्दा कति बढी र छिटो आर्थिक फड्को मार्न सक्छ भन्ने सम्भावनाको हिसाब निकाल्न व्यस्त छन्। हिजो केन्द्रीय सरकारले भन्दै आएका आर्थिक विकासका सम्भावना राष्ट्रिय गौरव योजनाहरु मनमनै भाग लगाएका छन्। सम्भावना रहेको हजारौँ मेघावाट विद्युतमध्ये आफ्नो प्रदेशको भागमा कति पर्‍यो, कुन हिमालको चुचुरो मेरोमा, कुन पर्यटकीय भुभाग अर्को प्रदेशमा। थोरैको संख्यामा नेपाल घुम्न आएका विदेशी पाहुना कति मेरो प्रदेशमा घुम्न आए, प्रदेश सरकारले कति आम्दानी गरेको छ र गर्न सक्छ भन्ने आकलन प्रदेशको नेतृत्वले गरिरहेको छ।

संसारमा त्यस्तो वस्तु छैन, जसको मूल्य नपरोस् र उपयोगमा नआओस्। अरबका खाडी, अफ्रिकाका मरुभूमि, अन्टार्टिकाको हिउँ, नेपालका मनोहर हिमाल, चीन, भारत, अमेरिकाका समथर खेतीयोग्य भूभाग सबैले अवसर सिर्जना गरेका छन्। ती देश र समाजले यस्ता प्रकृतिले सित्तैमा दिएका स्रोत साधनलाई बरदानका रुपमा स्विकारी उचित ढंगबाट उपयोग गरेका छन्। ती देश सम्बृद्ध भएको छ।

सम्बृद्ध प्रदेश बनाउने स्रोत साधनहरु केके हुन्, पहिचान गर्नु पहिलो चुनौती हो। प्राकृतिक स्रोत, खोलानाला, तालतलैया, हिमाल वा जमिनमा लुकी बसेको खानीमात्र आम्दानीका स्रोत होइनन् भन्ने नेतृत्वले बुझ्न जरुरी छ। प्रदेशको जनसंख्या र तिनको दक्षता, भौगोलिक क्षेत्रफल र यसको अवस्था सबैभन्दा ठूलो स्रोत हो भन्ने बुझ्न जरुरी छ।

प्राकृतिक स्रोत, खोलानाला, तालतलैया, हिमाल वा जमिनमा लुकी बसेको खानीमात्र आम्दानीका स्रोत होइनन् भन्ने नेतृत्वले बुझ्न जरुरी छ। प्रदेशको जनसंख्या र तिनको दक्षता, भौगोलिक क्षेत्रफल र यसको अवस्था सबैभन्दा ठूलो स्रोत हो भन्ने बुझ्न जरुरी छ।

सामान्य काँचको शिशालाई बहुमूल्य धातु हिराजस्तै महत्वपूर्ण बनाउन सक्ने कालिगढ, स्थानीय स्तरमा प्राप्त कच्चा पदार्थ प्रयोग गरी वस्तु उत्पादन गर्ने क्षमता राख्ने उद्यमी तथा उद्योगपति, वस्तुको उचित मूल्यमा निर्यात गरि विदेशी मुद्रा आर्जन गर्नसक्ने व्यापारी, बैंकमा संकलित राज्य र जनताको पुँजी उचित तरिकाले परिचालन गरी समाजमा रोजगारी र प्रदेशको राजस्व बढाउने ल्याकत राख्ने युवा उद्यमी, कलेजका प्रोफेसर, विश्व विद्यालयका विद्यार्थी र बजारमा वस्तुको माग सिर्जना गर्ने उपभोक्ता सबै प्रदेशका महत्वपूर्ण स्रोत हुन्।

सम्बृद्ध प्रदेशका नीति निर्माताले बुझ्नुपर्ने मुख्य विषय प्राकृतिक स्रोतको उचित र सहज उपयोग गर्न पाउने वातावरण आवश्यक छ। कतिपय नीति निर्माता र उनीहरुले बनाएको नीति स्रोत परिचालनको बाधक बनेका छन्। आफ्नो प्रदेशको आवश्यकता हेरी कम क्षतिमा अधिकतम स्थानीय स्रोतसाधनको परिचालन गरी प्राप्त प्राकृतिक साधनको सहज भोग चलन गर्न सक्ने नीति बनाउनु जरुरी छ। कुनै स्रोत साधनको उपयोग गर्नु त्यस वस्तु वा चिजको हाल भइरहेको अवस्थामा परिवर्तन गर्नु वा हुनु हो।

कुनै प्राकृतिक वा मानव निर्मित वस्तु वा स्रोतलाई नछोई, नचलाई वर्तमान अवस्थामै परिवर्तनबिना उपयोग गरी आर्थिक उत्पार्जन गर्नु असम्भव प्राय: छ।

पोखराको फेवा तालमा स्पोर्ट टुरिजम विकास गर्दा फेवाताल फोहोर हुनसक्ने सम्भावना, तालवरिपरि पैदलमार्ग बनाउँदा थोरै रुख काटिने सम्भावना, बेगनास तालमा मोटरबोट चलाउँदा स्थानी मत्स्यपालनको पेशामा संकट आउने सम्भावना, लेकसाइडमा पर्यटकलाई लक्षित गरी रात्रिकालीन व्यवसाय सञ्चालन गर्दा सामाजिक सुरक्षामा आउने चुनौती, महेन्द्रपुल लगायतका बजार चौबीस घण्टा खुल्दा अधिक सुरक्षाकर्मीको परिचालन गर्नुपर्ने अवस्था तथा बसुन्धरा पार्कबाट स्तुपा केबुलकार सञ्चालन गर्दा बसुन्धरा पार्कको केही रोपनी जग्गामा बगैँचा बनाउन नसकिनेजस्ता असहज अवस्था रहेकै हुन्छ। कमभन्दा कम क्षतिमा धेरै अवसरको सिर्जना गर्नसक्ने सबै किसिमका योजनाहरु पत्ता लगाउने चुनौती सधैँ रहिरहन्छ। विषयवस्तुको वास्तविक गहनता नबुझी हामी अगाडिका प्रचुर सम्भावना सही तरिकाबाट अन्दाज नगरी भावनामा बहकिएर निर्णय लिने प्रवृत्तिले विकासका योजनाहरु धान छोडी लौसीजस्ता भएका छन्। नाफा घाटा, सम्भावना, अवसर र चुनौतीको उचित समीक्षा गरी नीतिनिर्माण गर्न सकेमात्र स्रोतको उचित तवरले अधिकतम परिचालन हुने सम्भावना रहन्छ।

स्रोत परिचालकको पहिचान र लगानीमैत्री वातावरण

नेपाली समाज र यहाँ रहेका व्यक्तिहरुले लगानीकर्ता तथा सफल उद्यमीहरुप्रतिको सोच प्रत्येक जसो नेपाली सिनेमाका निर्देशकले नायक र खलनायकका रुपमा उतारेजस्तो देखिन्छ। जसरी सिनेमामा आर्थिक रुपमा विपन्न वर्गको प्रतिनिधित्व गर्नेलाई नायक र आर्थिक रुपमा सम्पन्न उद्योगी व्यापारीलाई खलनायक पात्रका रुपमा प्रतिविम्वित गराएको पाइन्छ, उसै गरी उद्यमशील वर्गले आफूसँग भएको स्रोतसाधनको किफायती ढंगबाट उपयोग गरी अधिकतम धनआर्जन गर्नुलाई कुनै न कुनै हिसाबले अपराधको संज्ञा दिइने गरेको छ। हरेक व्यक्तिको आर्थिक हैसियतमा राज्य तथा समाज सशंकित छ।

स्रोत परिचालकहरुको सही समयमा सही ढंगबाट पहिचान गर्न नसक्नु सबभन्दा ठूलो चुनौती हो। समाजका रहेका उद्योगी तथा व्यापारी स्रोतका परिचालक हुन्। रोजगारदाता हुन्। राज्यका आम्दानी स्रोत हुन्। लगानीकर्ता आफूसँग भएको पुँजी ठूलो जोखिमसाथ लगानी गर्छ। प्राप्त प्रतिफल सबैभन्दा पहिला कामदारलाई र विभिन्न शीर्षकमा राज्यलाई कर बुझाउँछ। बैँक तथा वित्तीय संस्थालाई बुझाएर बचेको आम्दानी फेरि अर्को योजनामा लगानी गर्छ जसको पहिलो लाभकर्ता जनता र राज्य हुन्छ।

एउटा दैनिक ज्यालामा काम गर्ने श्रमिक वा कर्मचारीले आफ्नो श्रमबापत रकम पाउने निश्चित हुन्छ। तर, स्रोत परिचालकसँग आफूले गरेको काम र लगानीको प्रतिफलको निश्चितता रहँदैन। ऊ सधैँ जोखिममा रहन्छ। आफ्नो श्रमवापत कुनै पारिश्रमिक वा ज्याला पाउँदैन। यो वर्ग त उल्टै राज्यलाई र समाजलाई आफूले काम गरेको वापतको पहिलो आम्दानी ज्याला, कर र तलब बोनसका रुपमा बुझाउँछ। जसरी एउटा किसानले खेतमा काम गरे वापत हृष्टपुष्ट शरीर, राम्रो स्वास्थ्य पाउँछ- त्यसै गरी एउटा उद्यमीले लगानीवापत केही मुनाफा कमाउँछ, जुनमा उसको मान, सम्मान, प्रतिष्ठा जोडिएको हुन्छ।

राज्यका हरेक तहतप्काका नीति निर्माता तथा राजनीतिज्ञले मौकामा प्रयोग नभए धन र उपयोग नगरिएको शक्तिको कुनै महत्व रहँदैन भन्ने बुझ्न नितान्त आवश्यक छ।

चाहे त्यो हाइड्रो प्रोजेक्ट वा हिमाली क्षेत्रमा पाइने जडिबुटी वा पर्यटकीय दृष्टिले महत्व राख्ने तालतलैया, हिमाल, पहाड वा अति महत्व बोकेका खनिज तत्वको उत्खनन्- यी सबै स्रोतहरु सही समयमा सही तरिकाबाट उपयोग हुन सकेमात्र यसको महत्व रहन्छ। त्यही भएर प्राप्त स्रोत साधनको, सीप र दक्षताको उचित प्रयोग हुनसक्ने वातारण र स्रोत परिचालकहरुको पहिचान हुन जरुरी छ।

उद्योग राष्ट्रको मेरुदण्ड हो। आम्दानीको स्रोत बढाउन र प्रदेशलाई सम्बृद्ध बनाउन सहज लगानीको वातावरण सिर्जना गराउनु राज्यको दायित्व हो। यो नै सफल राज्यको सूचक हो। कुनै व्यवसायीले नियमपूर्वक अत्याधिक मुनाफा कमाउनु राज्य र समाजका लागि लाभदायक हुन्छ। लगानीकर्ताको मुनाफाबाटै नयाँ उद्योगधन्दा, थप स्रोतको परिचालन र अन्य विविध अवसरको खोजीको सिर्जना हुने सम्भावना रहन्छ।

फाल्गुन २७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्