उत्तर कोरिया र अमेरिका सम्बन्ध

किमलाई भेट्दाका चुनौतीबारे ट्रम्प जानकार

अमेरिकी गुप्तचर निकाय सिआइएका निर्देशक माइक पोम्पिओले उत्तर कोरियाका नेता किम जोङ–उनलाई भेट्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णको बचाउ गरेका छन् ।

उत्तर कोरियाका नेता किमसँग भेट्दा अपनाउनु पर्ने सावधानी र आउन सक्ने अवस्थाका बारेमा राष्ट्रपछि ट्रम्प जानकार रहेको र सजग पनि रहेको भन्दै पोम्पिओले बचाउ गरेका हुन् ।

फक्स न्युजसँग आइतबार सिआइए निर्देशक पोम्पिओले भने, ‘ट्रम्पले चुनौतीका लागि किमसँग भेट्न लाग्नु भएको होइन । उहाँ समस्या समाधानका लागि किमसँग भेट्न लाग्नु भएको हो ।’

राष्ट्रपति ट्रम्पले उत्तर कोरियाका नेतासँगको भेट विश्वमा स्थायित्वका लागि ठूलो सम्झौता गर्ने माध्यम बन्ने बताउँदै आएका छन् । तर विश्लेषकले भने वार्ता सोचेजस्तो नभएमा दुई देशबिचको सम्बन्ध अहिलेको भन्दा पनि खराब बन्न सक्ने चेतावनी दिएका छन् ।

उत्तर कोरियाले दक्षिण कोरियाका नेताको हातमा ट्रम्पलाई वार्ताको निम्तो पठाएको थियो । र ट्रम्पले त्यो निम्तो स्वीकार गरेको खबर आएका छन् ।

विशेषदूतगएको सोमाबार दक्षिण कोरियाका प्रतिनिधि उत्तर कोरियाका प्रतिनिधि तथा नेता किमसँगको भेटका लागि प्योङयाङ गएका थिए । त्यो भेटमा दुई कोरियाका शीर्ष नेताबिच आउँदो महिना भेटवार्ताको समय मिलाउने सहमति भएको थियो । यस्तै त्यहि भेटको क्रममा उत्तर कोरियाले अमेरिकी राष्ट्रपतिलाई भेटवार्ताको निम्तो दक्षिण कोरियाका उच्च अधिकारीको हातमा थमाएको थियो ।

दक्षिण कोरियाली प्रतिनिधिले ह्वाइट हाउस गएर उत्तरको निम्तो ट्रम्पलाई बुझाएका थिए । अमेरिकी राष्ट्रपति र उत्तर कोरियाका नेता किमबिच आउँदो मे महिनामा वार्ता हुने तयारी छ ।

यो खबर बाहिर आएसँगै उत्तर कोरिया र अमेरिका सम्बन्ध तथा उत्तर कोरियाको परमाणु कार्यक्रमका बारेमा अनुगमन गरिरहेका धेरै विश्लेषक अचम्ति भएका छन् । तर अमेरिकाले भेटअघि उत्तर कोरियाले आणविक निशस्त्रिकरणको पक्षमा ठोस कदम चाल्नु पर्ने बताएको छ ।

उत्तर कोरियाका नेता किमले आफ्नो देशमाथि सुरक्षा चुनौती नभएमा आणविक हतियार उत्पादन बन्द गर्न आफूहरु तयार रहेको बताउने गरेका छन् ।

उत्तर कोरियाले पछिल्लो समय आफ्नो आणविक कार्यक्रम थप बलियो बनाएको विश्लेषण गर्ने गरिएको छ । तस्बिर : गेट्टी इमेज

केही महिनाअघिसम्म एक अर्काको आलोचना र सानो देखाउन तल्लिन ट्रम्प र किमबिच फेरिएको सम्बन्धले कोरियाली प्रायद्विपमा फेरिँदै गएको अवस्थालाई संकेत गर्ने र यसबाट आशावादी त हुनुपर्ने तर चनाखो पनि रहनु पर्ने विश्लेषकले बताएका छन् ।

अहिलेसम्म कुनै पनि अमेरिकी राष्ट्रपतिले कार्यालयमै हुँदा उत्तर कोरियाका नेतालाई भेटेका छैनन् । ट्रम्पले किमलाई भेटे त्यो इतिहास बन्नेछ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले वार्ताका लागि निम्तो आउनु उत्कृष्ट प्रगति रहेको तर उत्तरले पूर्णरुपमा आणविक निशस्त्रिकरणको बाटो नअपनाएसम्म उसमाथिको प्रतिबन्ध कायम रहने बताएका छन् ।

फाल्गुन २८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्