प्रेम

संसदमा विवाह प्रस्ताव, तीन महिनापछि बिहे

संसद, राज्य सञ्चालनका लागि आवश्यक ऐन, नियम र कानुन बनाउने थलो । विकास अनि समसामयीक विषयमा जनताले चुनेका प्रतिनिधिले जनताका लागि छलफल गर्ने स्थान पनि ।

तर कहिले काहिँ त्यही संसद विवाहको प्रस्ताव गर्ने थलो पनि बनिदिन्छ । त्यो पनि अर्थपूर्ण रुपमा ।

तीन महिनाअघि अस्ट्रेलियाको संसदमा आफ्नो सम्बोधनका क्रममा एक सांसदले आफ्ना प्रेमीलाई विवाहका लागि प्रस्ताव गरेका थिए । त्यो सामान्य भने थिएन र हलुको पनि ।

सांसद टिम विल्सनले आफ्ना प्रेमी रायन बोल्गरलाई सम्बोधनको क्रममा गरेको विवाह प्रस्ताव भावनात्मक थियो, तर भावनामा बगेको भने थिएन ।

रहर लाग्दो थियो सँगै अर्थपूर्ण पनि । यो अर्थमा कि, टिम र उनका प्रेमीले विवाहको प्रस्तावकै लागि लामो संघर्षको बाटो तय गर्नु परेको थियो । तीन महिनाअघि अस्ट्रेलियाली नागरिकले समलिंगी विवाहको पक्षमा निर्णय दिएपछि त्यससम्बन्धी कानुन पारित गर्ने क्रममा भएको संसद बैठकको क्रममा टिमले रायनलाई विवाहको प्रस्ताव गरेका थिए ।

यो प्रस्ताव विश्वका प्रेमीले विभिन्न अवस्था सिर्जना गरेर गरेको प्रस्ताव भन्दा माथि थियो किनकी यसले टिम र रायन जस्तै अरु धेरैलाई विवाहको प्रस्ताव गर्न सक्ने बनाएको थियो ।

आफ्नो सुविधाका लागि सुरु भएको आन्दोलनबाट टिम र रायनले आफूजस्तै अरु धेरैका लागि सजिलो बनाए । टिमले रायनलाई विवाहको प्रस्ताव गर्दै गर्दा भनेका थिए, ‘हाम्रो यति लामो सम्बन्धमा मैले अहिलेसम्म सोध्न नसकेको एउटा मात्रै प्रश्न थियो त्यो आज गर्न मिल्ने भएको छ, विल यु म्यारी मी ?’

अस्ट्रेलियाको संसदले गएको डिसेम्बरमा समलिंगी विवाहलाई कानुनी मान्यता दिएको थियो ।

विशेष दिन

समलिंगी विवाहलाई कानुनी मान्यता दिन महत्वपूर्ण भूमिका खेलेका सांसद टिम विल्सन र उनका प्रेमी रायन बोल्गरबिच आइतबार विवाह भएको हो । उनीहरुले आइतबार जीवनको विशेष दिन मनाएको अस्ट्रेलियाली सञ्चारमाध्यमले जनाएका छन् ।

विवाहपछि टिम र रायन । तस्बिर : टिमको ट्वीटर पेज

१० वर्षभन्दा लामो समयदेखि सँगै रहँदै आएका टिम र रायनले आइतबार मेलबर्नको रोयल बोटानिक गार्डेन्समा विवाह गरेका हुन् । उनीहरुलाई धेरैले बधाई दिएका छन् ।

यसरी गरेका थिए विवाह प्रस्ताव

गएको डिसेम्बरमा समलिंगी विवाहलाई मान्यता दिने सम्बन्धमा संसदमा भइरहेको छलछलमा टिम सहभागी थिए । संसदको पब्लिक ग्यालरीमा थिए, उनका प्रेमी तथा अभियन्ता रायन ।

सम्बोधनको क्रममा टिमले रायन तर्फ फर्किएर विगत सम्झिँदै विवाहको प्रस्ताव गरेका थिए । उनले भनेका थिए, ‘मैले पहिलो सम्बोधनमा, हाम्रो सम्बन्धको बचाउ गरेको थिएँ, हामी दुवैका बायाँ हातको औँलामा रहेका औँठी देखाएर । ती औँठी हामीले एक अर्कालाई सोध्न नसकेको प्रश्नको जवाफ थियो ।’

भावनात्मक हुँदै उनले अघि भनेका थिए, ‘हाम्रो सम्बन्धमा एक चिज मात्रै बाँकी छ । रायन प्याट्रिक बोल्गर, विल यु म्यारी मी ?’
रायनले त्यसको जवाफ हँसिलो मुद्रामा ‘एस’ भन्दै दिएका थिए ।

उनीहरुको यो प्रस्तावलाई संसदमा रहेका सांसद तथा सभामुख र ग्यालरीमा रहेकाले ताली बजाएर समर्थन गरेका थिए ।

फाल्गुन २८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्