कैलाली कारागारका २४ जनाद्वारा अनशन स्थगित

रेशम चौधरी।

धनगढी-  कैलाली कारागारका २४ जना थुनुवाले सोमबार अनशन स्थगित गरेका छन्।

टीकापुर घटनाका आरोपी रेशम चौधरीलाई सांसद प्रमाणपत्र वितरण तथा सपथ खुवाउनुपर्ने भन्दै अनशन बसेका उनीहरुले स्थानीय प्रशासनसँग चार बुँदे सहमति भएपछि अनशन स्थगित गरेका हुन्।कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जुस खुवाएर उनीहरुको अनशन तोडाएका हुन्।

कैलाली-१ बाट निर्वाचित रेशम चौधरीको सपथका लागि सम्बन्धित निकायहरुमा जिल्ला प्रशासन कार्यालयले अविलम्व जानकारी गराउने, टीकापुर घटनामा थुनिएकालाई लगाइएका मुद्दा फिर्ता लिन र क्षतिपू्र्तिका लागि १५ दिनभित्र सम्बोधन गरिनुपर्ने सर्त राखेर उनीहरुले अनशन तोडेका छन्।

१५ दिनभित्र आफ्ना माग पूरा नभए पुनः आमरण अनशन गर्ने उनीहरुले चेतावनी दिएका छन्।

रेशम चौधरीलाइ सपथ दिलाइनुपर्ने, टीकापुर घटनामा थुनिएका सबैलाई रिहा गर्नुपर्ने मागसहित कैलाली कारागारमा टीकापुर घटनामा पक्राउ परेका २४ जनाले फागुन २० गतेबाट आमरण अनशनमा बसेका थिए।

फाल्गुन २८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्