चोलेन्द्र प्रकरणले सर्वोच्चमा ठूलो तरंग
काठमाडौँ- सात सदस्यीय इजलास बहिष्कार गर्ने घोषणा गरेर न्यायाधीश चोलेन्द्रशमशेर जबरा बाहिरिएपछि सोमबार सर्वोंच्च अदालतमा ठूलो तरंग सिर्जना भएको छ। प्रधानन्यायाधीश गोपाल पराजुलीसहित बाँकी छ जना न्यायाधीश चोलेन्द्रशमशेर जबराको बहिष्कारपछि छलफलका क्रममा छन्।
प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताअनुसार उनको पद गत साउन २१ गतेसम्म रहेको भन्दै उनलाई प्रधानन्यायाधीश नमान्ने र उनको इजलासमा पनि नबस्ने भन्दै चोलेन्द्रशमशेर जबराले इजलास बहिष्कार गरेका हुन्।
चोलेन्द्रशमशेरले अन्य ६ जना न्यायाधीश आउनु अगावै इजलासमै उपस्थित भएर भने, ‘मैले गोपाल पराजुलीको नागरिकतासम्बन्धी नयाँ प्रमाण हेर्दा उहाँको प्रधानन्यायाधीश पदमा म्याद साउन २१ मै सकिएको देखिन्छ, त्यही भएर म उहाँलाई प्रधानन्यायाधीश पनि मान्दिन, उहाँले तोेकेको इजलासमा पनि बस्दिनँ।’
चोलेन्द्रशमशेरले इजलास बहिष्कार गरेपछि गोविन्द केसी र कान्तिपुरको अवहेलनासम्बन्धी मुद्दा सोमबारका लागि स्वत: स्थगित भएको छ। अदालत परिसरमा प्रधानन्यायाधीश पराजुलीसहित छ जना न्यायाधीशको प्रतीक्षा गरिरहेका छन्।