विमान दुर्घटनाको छानबिन गर्न पूर्वसचिवको संयोजकत्वमा आयोग

तस्बिर: बर्षा शाह
काठमाडौँ- सरकारले युएस बंगला एयरलाइन्सको सोमबार भएको विमान दुर्घटनाबारे छानबिन गर्न पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको छ।
दुर्घटनामा परेर ज्यान गुमाएकाहरुप्रति गहिरो दुःख व्यक्त गर्दै सरकारले पूर्वसचिव गौतमको संयोजकत्वमा ६ सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो। आयोगमा प्रमुख सेनानी डा. राजीव देव, क्याप्टेन केके शर्मा, क्याप्टेन सुनिल प्रधान, उद्धवप्रसाद सुवेदी र सहसचिव बुद्धिसागर लामिछाने सदस्यसचिव छन्।
सरकारले विमान दुर्घटनामा परी घाइते भएकोहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ। दुर्घटनामा परेकाहरुको उद्धार कार्यमा खटिएका नागरिक उड्डयन प्राधिकरण, नेपाली सेना, नेपाल प्रहरी लगायतप्रति पनि आभार व्यक्त गरिएको छ।