नयाँ राष्ट्रपति चयनका लागि आज निर्वाचन, सम्पूर्ण तयारी पूरा

काठमाडौं – नयाँ राष्ट्रपति चयनका लागि मंगलबार निर्वाचन हुँदैछ । नेपालको तेस्रो तथा नयाँ संविधान अनुभार भएको चुनावपछिको पहिलो राष्ट्रपति चयनका लागि हुने निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनका लागि जनशक्ति र मतपत्रको व्यवस्थापन तथा आवश्यक सुरक्षा व्यवस्थासहित सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिएका छन् ।

संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा कायम गरिएको मतदान केन्द्रमा मंगलबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद लक्ष्मी राई प्रतिस्पर्धामा छन् ।

राष्ट्रपतिको निर्वाचन संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ । आयोगका प्रवक्ता ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि संघीय संसद (प्रतिनिधिसभा, राष्ट्रियसभा) का ३३१ र प्रदेशसभाका ५४९ सदस्य गरी ८८० जना मतदाता कायम गरिएको छ ।

संघीय संसदका सदस्यको मतभार ७९ छ भने प्रदेशसभाका सदस्यको मतभार ४८ कायम गरिएको छ । संघीय संसद सदस्यका लागि ७९ मतभार रहेको सेतो पृष्ठभूमिमा हरियो तथा प्रदेसभा सदस्यका लागि सेतो पृष्ठभूमि रहेका रातो रङको ४८ मतभार रहेको मतपत्रको व्यवस्था गरिएको छ ।

कूल ५२ हजार ५०० मतभार कायम रहेको यो निर्वाचनमा २६ हजार २५१ मतभार प्राप्त गर्ने उम्मेदवार विजयी हुने कानुनी व्यवस्था रहेको छ ।

राष्ट्रपति देशको राष्ट्राध्यक्षका रुपमा रहने तथा पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने संवैधानिक व्यवस्था छ । नेपालको संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने व्यवस्था छ ।

राष्ट्रपतिबाट सम्पादन गरिने जुनसुकै कार्य मन्त्रिपरिषदको सिफारिश र सम्मतिबाट हुने संवैधानिक व्यवस्था छ ।

मतगणनाको नतिजा मंगलबार बेलुकासम्ममा आउने प्रवक्ता ढकालले जानकारी दिए । निर्वाचनका लागि आयोगमा १५ र निर्वाचन अधिकृतको कार्यालयमा पनि त्यति नै जनशक्ति परिचालन गरेको छ ।

आयोगले मतदातालाई आफू सदस्यमा निर्वाचित भएको प्रमाणपत्र वा नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रमध्ये कुनै एउटा कागज बोकेर मतदानका लागि आउन अनुरोध पनि गरेको छ ।

फाल्गुन २९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्