राष्ट्रपतिको निर्वाचनअघि एमाले र माओवादी आफ्ना मतदातासँगको छलफलमा

काठमाडौं – राष्ट्रपतिको निर्वाचनको तयारीका लागि नेकपा एमाले र एकीकृत नेकपा माओवादीले आफ्ना मतदातासँग छुट्टा छुट्टै छलफल गर्दैछन् ।

दुवै पार्टीले राष्ट्रपति चुनावका लागि आएका आफ्ना प्रदेशसभा सदस्य र संघीय संसदका सदस्यको भेला बोलाएका हुन् ।

एमालेका प्रदेशसभा सदस्य तथा संघीय संसदका सदस्यको भेला पार्टी कार्यालय धुम्बाराहीमा हुने नेता रामेश्वर फुयाँलले जानकारी दिए । भेलामा राष्ट्रपति निर्वाचनका सम्बन्धमा छलफल हुने उनले बताएका छन् ।

यस्तै माओवादीले पनि राष्ट्रपति निर्वाचनमा भोट हाल्न आएका प्रदेशसभा सदस्य र संघीय संसदका सदस्यको भेला बोलाएको छ । भेला पार्टी कार्यालय पेरिसडाँडामा हुने नेता अनमलाल मोदीले जानकारी दिएका छन् । राष्ट्रपति निर्वाचनका सम्बन्धमा मतदातासँग अन्तिम छलफल हुन लागेको उनले बताए ।

नयाँ राष्ट्रपति चयनका लागि बिहान १० बजेदेखि मतदान हुँदैछ । त्यसअघि नै दुवै पार्टीले आफ्ना सदस्यसँगको छलफल सकेर निर्वाचन स्थल नयाँ बानेश्वर पुग्ने तयारी गरेका छन् ।

नेपालको तेस्रो तथा नयाँ संविधान अनुभार भएको चुनावपछिको पहिलो राष्ट्रपति चयनका लागि हुने निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद लक्ष्मी राई प्रतिस्पर्धामा छन् ।

राष्ट्रपतिको निर्वाचन संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ । आयोगका प्रवक्ता ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि संघीय संसद (प्रतिनिधिसभा, राष्ट्रियसभा) का ३३१ र प्रदेशसभाका ५४९ सदस्य गरी ८८० जना मतदाता कायम गरिएको छ ।

संघीय संसदका सदस्यको मतभार ७९ छ भने प्रदेशसभाका सदस्यको मतभार ४८ कायम गरिएको छ । संघीय संसद सदस्यका लागि ७९ मतभार रहेको सेतो पृष्ठभूमिमा हरियो तथा प्रदेसभा सदस्यका लागि सेतो पृष्ठभूमि रहेका रातो रङको ४८ मतभार रहेको मतपत्रको व्यवस्था गरिएको छ ।

कूल ५२ हजार ५०० मतभार कायम रहेको यो निर्वाचनमा २६ हजार २५१ मतभार प्राप्त गर्ने उम्मेदवार विजयी हुने कानुनी व्यवस्था रहेको छ ।

फाल्गुन २९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्