नेपालगञ्ज – कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

सोमबार बेलुका सवा आठ बजेतिर तीनवट मोटरसाइकलमा आएका अपरिचित व्यक्तिको समूहको खुकुरी र गोली प्रहारबाट गम्भीर घाइते भएका मेयर चौधरीलाई तत्कालै सुख्खडस्थित घोडाघोडी अस्पतालमा लगिएको थियो । त्यहाँ केहीबेरको उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा ल्याइएको थियो ।

राति साढे नौ बजेतिर कोहलपुरमा ल्याइएका मेयर चौधेरीलाई रातभरिको उपचारपछि मंगलबार बिहान काठमाडौं लगिएको हो । बिहान पौने दश बजे हेलिकप्टरमा मेयर चौधरीलाई काठमाडौंस्थित शिक्षण अस्पताल लगिएको हो ।

टाउकोमा खुकुरी र कम्मरमा गोली लागेका चौधरीलाई घरमै बसिरहेका बेलामा अपरिचित व्यक्तिले बाहिर बोलाएर आक्रमण गरेका थिए ।

कैलालीको ‘बोक्सी काण्ड’ मा मेयर चौधरीले मिलापत्र गराउन सहयोग गरेको आरोप लाग्दै आएको छ । एमालेबाट मेयरमा निर्वाचित चौधरीलाई पार्टीले कारबाही नगरे आफूहरुले जनकारवाही गर्ने विप्लव समूहले चेतावनी दिएका थिए ।

मेयर चौधरीको कम्मरमा मासुमा गोली रहेको छ । गोली निकाल्दा धेरै रगत गएर अवस्था चिन्ताजनक हुने डरले यहाँका डाक्टरले काठमाडौं रिफर गरेको स्रोतले बतायो ।

कैलाली प्रहरीले घटनामा संलग्न रहेको आरोपमा विप्लव समूहका तीनजनालाई पक्राउ गरेको छ । घटनास्थलबाट एउटा मोटरसाइकल बरामद गरेको एसपी विनोद घिमिरेले बताए । मंगलबार स्थानीयले एक घण्टा पूर्वपश्चिम राजमार्ग बन्द गरेका थिए ।

एसपी घिमिरेले विप्लव समूहबाट नै मेयरमाथि गोली प्रहार भएको बताए । ‘घरमा बसिरहेको व्यक्तिलाई बाहिर बोलाएर गोली र खुकुरी हान्ने हिम्मत अरुमा हुँदैन, यो विप्लव समूहकै हात देखिन्छ’ एसपी घिमिरेले भने, ‘पक्राउ परेका व्यक्तिले पनि घटना स्वीकार गरिसकेका छन् ।’

सम्बन्धित समाचार 

घोडाघोडी नगरपालिकाका मेयर ममता चौधरीमाथि गोली प्रहार

फाल्गुन २९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्