अस्पताल पुगेर देउवाले भेटे विमान दुर्घटनाका घाइतेलाई

फाइल फोटो

काठमाडौँ- कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युएस बंगला विमान दुर्घटनाका घाइतेहरुलाई अस्पताल पुगेर भेट गरेका छन्।

मंगलबार देउवाले सिनामंगलस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पताल पुगेर घाइतेहरुसँग भेट गरेका हुन्। उनले घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कन्जुस्याइँ नगर्न आफूले सरकारसँग माग गरिसकेको बताए। देउवाले दुर्घटनामा परेका घाइतेहरुको निशुल्क उपचारका साथै आवश्यक क्षतिपूर्ति दिलाउन सरकासँग पहल गर्ने पनि बताए। ‘सर्वप्रथम म तपाईँहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ देउवाले घाइतेहरुसँगको भेटमा भने, ‘उपचारमा कुनै कमी आउन नदिन र आवश्यक क्षतिपूर्तिको लागि सरकारसँग आजै पहल गर्छु।’

देउवाले दुर्घटना भएलगत्तै विज्ञप्ति जारी गर्दै घाइतेहरुको तत्काल उपचारको प्रबन्ध गर्न, उद्धार कार्यमा तदारुकता उपनाउन र विमान दुर्घटनाको तत्काल छानबिन समिति गठन गर्न आग्रह गरेका थिए।

फाल्गुन २९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्