दिदीको खोजीमा भाई भौतारिदा

‘दिदी कतै घाइते अवस्थामै भेटिन्छिन् की भन्‍ने आश लाग्दो रहेछ’

काठमाडौ- सहरमा हुर्किए पनि गाउँका बिरामीको जीवन बचाउने धोको थियो आसनाको । सफल डाक्टर बन्‍ने र आफूसँगै आमा बुवाको नाम चम्काउने सपना मनको कुनामा सजाउन थालेकी थिइन् उनले । त्यसैले घरभन्दा धेरै टाढा विदेशको यात्रा रोजाइमा पर्‍यो उनको अध्ययनका लागि ।

बंगलादेशको राजीव रबेया मेडिकल कलेजमा दुःखजिलो गर्दै पाँच वर्षमा एमबीबीएस सकेकी थिइन् पाटनकी २४ वर्षीय आश्‍ना शाक्यले। अध्ययनमा व्यस्त हुँदा परिवारलाई समेत भेट्न मुस्किल पर्‍यो उनलाई लामो समय।

त्यसैले इन्टर्नसीप सुरु गर्नुअघि छुट्टि मिल्दा तत्कालै नेपालको यात्रा तय गरेकी थिइन् उनले । तर सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको युएस बंगलाको विमान दुर्घटनाले शाक्यको जीवनकै यात्रा टुटाई दियो निमेषभरमै। परिवारसँग मिलन होइन वियोग गरायो र दुःखीको सेवा गर्ने शाक्यको धोको पनि सँगै खरानी भयो।

छोरी घर आउँदै गरेको खबरले निक्‍कै खुसी थियो उनको स-परिवार। त्यसैले विमान अवतरण अगावै पुगेको थियो  त्रिभुवन विमानस्थल। बाहिर कुरिरहेका बेला भित्रबाट ड्वाङ ड्वाङ विमान पड्किएको आवाज आयो ।

त्यसका कारण उनीहरुको मनमा चिसो पस्न थाल्यो। सोधिखोजी गर्दा सुरुमा कसैबाट पनि आधिकारिक सूचना पाएनन् उनीहरुले । पछि थाहा भयो शाक्य आएकै विमान दूर्घटनामा परेको । आँखै अघि एम्बुलेन्स कुदिरहे तर उनीहरु भित्र जान पाएनन्। जानकारी लिने ठाउँ एकाएक बन्द भए ।

विमान दूर्घटनाका घाइतेलाई केएमसी लगेको सूचना धेरै बेरपछि पाएका उनीहरु त्यतै हुँकिए। त्यहाँ पुग्दा छोरी थिइनन । त्यतिञ्जेल शाक्यकी आमा भावविह्ल भइसकेकी थिइन। बुवा पनि त्यस्तै अवस्थामा पुगिन । भाई उत्सव पनि स्तब्ध थिए तर पहिले दिदीको निधो गर्नु उचित ठाने उनले।

आफन्तको सहारामा उनी अस्पताल चाहार्न थाले, दिदी कतै घाइते अवस्थामै भेटिन्छिन की भन्‍ने आशामा। केएमसीदेखि, सिभिल, नर्भिक हुँदै महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पुगे, कुनै जानकारी मिलेन,रात छिप्पिदै गयो, तर कही कत्तै पनि दिदीको नाम उच्‍चारण नभएपछि  उनी रित्तो मन लिएर घर फर्किए ।

घर फिरेपछि  परिवारलाई झन  भावविह्‍वल देखे। रातभरी  स परिवारले आँखा ओभानै बनाए। भोलिपल्ट सबैरै उनी फेरि पोष्टमार्टमस्थल शिक्षण अस्पताल नै हानिए । त्यहाँ पनि मतृकका आफन्तहरुको  रुवाबासी र भिडभाड मात्रै देखे उनले ।

आगोले धेरै शवलाई डल्लो र नचिन्‍ने बनेको थियो। पहिचानका लागि चिकित्सकलाई समय लाग्थ्यो । धर्य गर्न सकेनन र फेरी उत्सव घाइते भए तिर मोडिए।

‘यहाँ थप घाइते ल्याएको छ रे हो दिदी’, रिपोर्टिङका क्रममा मंगलबार केएमसी हुँदै नर्भिक अस्पताल राखिएका पाँच जना घाइतेको अवस्थाबारे जानकारी लिएर फर्कदै गर्दा कानमा ठोक्किएको त्यस्तो वाक्यले मेरो मन झस्कायो।

फर्केर हेर्दा र बुझ्दा तीनै उत्सव थिए जसले दिदीको खोजीमा विगत २४ घण्टा भौंतारिसकेका थिए । उनले मन बझुाउन त्यस्तो प्रश्न गरेका थिए सायद ।

उत्सवकी दिदी आश्‍नासँगै ११  जना एमबीबीएस पढ्‍ने विद्यार्थीको नाम मृतककाे नामावलीमा समावेश भइसकेकाे थियाे, उत्सवलाई सान्तोना दिएर छुट्टिनुको विकल्प थिएन ।

सायद दिदी आस्नाको मृत्युबारे जानकार थिए उत्सव तर आधिकारिक जानकारी कसैले दिएको थिएन उनलाई ।

‘दिदी हुनुहुन्‍न भन्‍ने त निश्चित जस्तै भइसक्यो तै पनि नभेटुञ्जेल आश लाग्दो रहेछ, कतैबाट पनि आधारिक सूचना नपाउँदा झन पीडा हुँदो रहेछ,’ उत्सवले मलिनो अनुहारको भावमा भने’, घरमा सबै अचेत जस्तै हुनुहुन्छ। म अब दिदीलाई खोज्‍न जाने ठाउँ नै छैन। सरकारले यस्तो बेला सहयोग नगर्दा झन पीडा भएको छ।’

उत्सवलाई दिदी खोज्दाखोज्दै विमान दुर्घटनाका घाइतेको नाम, संख्या र उनीहरुलाई उपचार दिइरहेका अस्पताल कण्ठस्तै भइसक्यो तर उनको कुनै पत्तो लागेको छैन ।

‘बुवा आमाको चाहनामा आफ्नै बनाउनु भएको थियो दिदीले त्यसैले अरुलाई बचाउने धोको थियो उहाँको। खै अब त के पूरा होला र त्यो ?,’ सेन्ट जेभिर्यसमा कक्षा १२ मा अध्ययनरत उत्सवले निराश मुद्रामा भने । तर दिदीको खोजीमा उनका पाइला भने अघि बढिरहे।

फाल्गुन २९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्