समृद्धिका लागि प्रदेशहरूबीच सकारात्मक प्रतिस्पर्धा आवश्यक: विनोद चौधरी

रौतहटमा कांग्रेस नेता तथा उद्यमी विनोद चौधरी।

काठमाडौँ- नेपाली कांग्रेसका नेता एवं सांसद विनोद चौधरीले आर्थिक समृद्धिका लागि प्रदेशहरूबीच सकारात्मक प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्।

आर्थिक एवं सामाजिक विकासका लागि मुलुकमा संघीय संरचना कार्यान्वयन गरिएको उल्लेख गर्दै उनले प्रदेश सरकारहरूले यही सोचसाथ काम सुरु गर्न आग्रह गरे।

‘भारतमा जब एक अर्का राज्यबीच लगानी आकर्षित गर्ने प्रतिस्पर्धा चल्यो, ती राज्यहरूको मात्रै होइन, समग्र भारतकै आर्थिक बृद्धिदर उच्च हुन पुग्यो,’ चौधरी ग्रुपका अध्यक्षसमेत रहेका चौधरीले भने, ‘हाम्रा मुख्यमन्त्रीहरूले पनि आफ्नो प्रदेशलाई लगानीकर्ताहरूका लागि सबैभन्दा आकर्षक गन्तव्य बनाउने प्रतिस्पर्धा गर्नेछन् र यसबाट देशकै अर्थतन्त्रमा नयाँ उत्साह आउने विश्वास मैले लिएको छु।’

सोमबार रौतहटको चन्द्रपुर महोत्सवमा विशिष्ठ अतिथिका रूपमा सम्बोधन गर्दै अध्यक्ष चौधरीले भने, ‘हाम्रा राजनीतिक एजेण्डाहरू व्यवस्थापन भएका छन्। अब प्रदेश सरकारहरूले प्रान्तीय संरचना वा कानुनी पक्षहरूका बारेमा अलमल नगरी विकासका एजेण्डालाई पहिलो प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ।’

प्रदेश नम्बर २ आर्थिक एवं सामाजिक विकासका दृष्टिले अहिले पछाडि रहेको तथ्य प्रस्तुत गर्दै उनले यस प्रदेशलाई देशकै सबैभन्दा विकसित प्रदेशमा रुपान्तरण गर्न सकिने पर्याप्त आधार रहेकोमा उनले जोड दिए। ‘नेपालको आर्थिक राजधानीका रुपमा मानिने वीरगञ्ज यही छ। काठमाडौं–तराई फास्ट ट्रयाक, वीरगञ्ज–सिमरा औद्योगिक करिडोर र निजगढमा निर्माण हुने अन्तर्राष्ट्रिय विमानस्थल जस्ता पूर्वाधारहरू यहिँ छन्’, अध्यक्ष चौधरीले भने, ‘ब्यापार/बाणिज्य, औद्योगिक क्षेत्र, कृषि र पर्यटनमार्फत् यसलाई नेपालको सबैभन्दा सम्पन्न प्रदेश बनाउन सकिन्छ। तर, हिजोका दिनमा जस्तै व्यवस्थापकीय कमजोरीहरू भने अब दोहोर्‍याउँदैन।’

‘रामजानकी मन्दिरदेखि अयोध्यासम्म ६ लेनको सडक विस्तार गरी जनकपुरलाई धार्मिक पर्यटकीय केन्द्र बनाउन सकिने प्रचूर सम्भावना छ’, उनले भने, ‘तर, विकास माथि राजनीति गर्ने विगतका गल्तीहरूबाट भने पाठ सिक्न जरूरी छ।’

प्रदेश नम्बर २ लाई व्यवसायिक कृषि उत्पादन गरी निर्यात गर्ने प्रमुख क्षेत्र बनाउनु पर्नेमा पनि उनले जोड दिए।

‘प्रदेश नम्बर २ को कृषिउपज प्रत्येक नेपालीको भान्सामा पुर्‍याउने नीतिका साथ काम गर्नु आवश्यक छ’, अध्यक्ष चौधरीले भने, ‘यहाँको उर्वर भूमिबाट कृषि क्रान्तिको नयाँ अध्याय शुरू गर्न सकिन्छ।’

‘अन्य प्रदेशमा नभएका विकास पूर्वाधार यहाँ छन्। ब्रोडगेज रेल्वे, वीरगञ्जको अत्याधुनिक आइसिपी, ड्राइपोर्ट जस्ता पूर्वाधार अन्य प्रदेशमा छैनन्,’ उनले भने, ‘यस प्रदेशले आफ्नो सामर्थ्य समयमै चिन्न सकेमा आर्थिक विकासमा अग्रणी बन्न सक्छ।’

‘अहिले यो प्रदेशमा करिब ३० प्रतिशत गरिबी छ । साक्षरताको अवस्था कमजोर छ। र, बेरोजगारी उच्च छ,’ अध्यक्ष चौधरीले भने, ‘पक्कै पनि अहिलेको अवस्था चिन्ताजनक छ। तर, पाँच वर्षमा यी सबै परिसूचकहरू उत्साहजनक हुनेछन् भनेर प्रदेश सरकारले आफ्नो काममार्फत् जनतालाई भरोसा दिलाउन सक्नुपर्छ।’

कार्यक्रमलाई सम्बोधन गर्दै विनोद चौधरी।
फाल्गुन २९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्