विमान दुर्घटनामा परेर बाँचेका यी भाग्यमानी

‘सायद मेरा श्रीमानलाई अझै राम्रो काम गर्न भगवानले बँचाउनुभयो’

काठमाडौँ- ‘जीवन भनेको अनित्य रहेछ त्यही भएर हामीले राम्रो काम गर्नु पर्दो रहेछ सायद उहाँलाई अब झनै राम्रो काम गर्न भगवानले बचाउनु भयो।’

पत्नी सुमाञ्जलीले त्यस्तो भनिरहँदा कहालीलाग्दो विमान दुर्घटनामा बाँच्न सफल पर्यटन व्यवसायी सनम शाक्यले मौन समर्थन गर्दै उनैतिर मोडिए र टोलाए।

सुमाञ्जली त्यतिमा रोकिनन्, ‘कसैलाई दुःख दिनु हुँदो रहेन छ र कसैप्रति वैरभाव राख्नु हुँदो रहेनछ।’

‘हुन त हामी जहिल्यै सकारात्मक बाटोमै हिँड्ने कोसिसमै छौं तर आज उहाँलाई आफ्नै अघि पाउँदा राम्रो मात्रै सोच्नु पर्दोरहेछ भन्ने भावना अझ बलियो भएको छ,’ उनले थपिन्।

कार्यालयमा काम गरिरहेका बेला पति सनम आएको विमान दुर्घटनाको खवर पाउँदा एकएक मौन हुन पुगेकी थिइन् उनी तर सनमले आफू बाँच्न सफल भएको फोनबाट तत्कालै बताउँदा उनी केही हदसम्म ढुक्क हुँदै अस्पतालतिर हानिएकी थिइन्।

त्यहाँ पुग्दा सनम मात्रै सद्दे देखिन् उनले। अरु घाइतेको अवस्था निकै दर्दनाक थियो। भिडले चिकित्सकलाई उपचारमा असर पर्ने देखेपछि उनले सनमलाई नर्भिकमा उपचारका लागि ल्याएकी थिइन्।

युएस बंगलाको विमान दुर्घटनामा ४९ जनाको ज्यान जाँदा यसमा परेका यात्रुहरुका आफन्तहरु भावविह्ल छन्, कति अर्धचेत छन् त, कतिलाई शव पहिचान र प्राप्त गर्न कठिन परेको छ।

त्यस्तो दुर्घटनामा पुनर्जीवन पाउँदा सम्बन्धित व्यक्ति र उनीहरुका परिवारमा गुमेको खुसी मिलेको छ र उनीहरुमा जीवनको महत्व समेत बढेको छ।

घाइते २२ मध्येका एक थिए सनम। यद्यपि केही घाइतेलाई खतरामुक्त घोषणा सफल भएका छैनन् चिकित्सक।

कहालीलाग्दो दुर्घटनामा बाँच्दा सनममा जीवनको अर्थ बढेको छ र सँगै त्यसप्रति माया पनि।

तर, मृतक सहयात्रीलाई सम्झिँदा अझै आँखा टिल्पिलाउँछन् उनका।

दुर्घटनापछि नर्भिक अस्पतालमा २४ घण्टा बिताएर डिस्चार्ज हुँदै गर्दा मंगलबार उनले भने, ‘मलाई प्लेन दुर्घटना सपना जस्तै लागिरहेको छ, जबकी घटनाको साक्षी म पनि थिएँ, ती कहालीलाग्दा दृश्यहरु आँखाबाट अझै हट्न सकेका छैनन्।’

झ्याल फोडेर बाहिर निस्कन सफल हुँदा चोटपटकसहित बाँचेका थिए उनी तर तत्कालै अरुलाई बचाउन पनि उद्धत भए।

बाक्लै उपस्थित भएका उद्धारकर्मीले शरीरमा चोट देखेपछि उनलाई तत्कालै केएमसीतिर दौडाए।

‘जानीजानी त कसैले दुर्घटना गराउँदैन। पाइलटले हामीलाई बचाउने कोशिस गर्नु भएकै थियो होला तर दुर्भाग्यवश यस्तो भयो,’ शाक्यले भने।’

तर, यस्तो दुर्घटना किन हुन्छन् भन्नेमा भने व्यापक अनुसन्धान हुन जरुरी भएकोमा भने शाक्य सहमत छन्।

विमान दुुर्घटनाको थप अनुभव उनले यो भिडियामार्फत बाँडेका छन्।

 

फाल्गुन २९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्