छोरीसँग खेल्न आएकी बालिकामाथि जबर्जस्ती प्रयास

सांकेतिक तस्बिर

नेपालगञ्ज – आफन्त, चिनेजानेका र छिमेकीबाट बालिकालाई बचाउनु चुनौती बनेको छ। नेपालगञ्जमै बेला–बेलामा आउने घटनाहरुलाई हेर्दा समाजमा कसैको विश्वास गर्नु अपराध स्वीकार्नुजस्तो भएका छन्।

यहाँको पछिल्लो एक घटनाले सबैलाई झस्क्याएको छ। छोरीसँग खेल्न आएकी एक १० वर्षीया बालिकालाई २६ वर्षीय युवकले जबरजस्तीको प्रयास गरेका छन्। सोमबार साँझ छोरीसँग खेल्न घरमा आएकी बालिकालाई २६ वर्षीय युवकले जबरजस्ती गरेका हुन्।

घर जोडिएको छिमेकमा बालिकाहरु साथीसँग खेल्न जानु–आउनु सामान्य नै हुन्छ। ती बालिकाले खोज्दै जाँदा साथी भेटिनन्। उसका बुवाले समातेर गलत प्रयास गरे। बालिकाको अभिभावकले देखेपछि युवकलाई समातेर प्रहरीलाई बुझाए। बाँके प्रहरीले युवकलाई करणी उद्योगमा मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाएको छ।

बाँके प्रहरीमा आएका पछिल्ला तीन दर्जन हाराहारीका करणी र करणी उद्योगका मुद्दामा सबैजसो चिनेजानेको या छिमेकीबाट पीडित भएका छन्। ‘नचिनेको मान्छेले राती एक्लै पारेर या दाउराघाँस जादा जबरजस्ती गरेका घट्ना छैनन्,’ जिल्ला प्रहरी कार्यालय, नेपालगञ्ज र इलाका प्रहरी कार्यालय, कोहलपुरमा अनुसन्धान अधिकृतहरु भन्छन्, ‘सबै घटना चिनेजानेका मान्छे या छिमेकीबाट गएका छन्। कतिपय करणीका मुद्दा लेनदेन नमिलेपछिका छन्।’

होटलमा गएका र ‘हिसाव’ नमिलेपछि करणीको मुद्दातिर लागेका घटनाले भन्दा छरछिमेकमै बालिका असुरक्षित हुने कुराले सबैलाई झस्क्याएको हो। जिल्ला प्रहरी कार्यालय, नेपालगञ्जका मुद्दाफाँट इन्चार्ज प्रहरी निरीक्षक रणबहादुर विष्टले अधिकांश घटना चिनेजानेका, छिमेकी या आफन्तबाटै भएको बताए। चिनेको व्यक्ति, आफन्त या छिमेकीसँग घुलमिल हुने भएकाले अपराधिक मानसिकता भएकाले त्यसको फाइदा उठाउने गरेका हुन्।

आफ्ना नानीहरुलाई आफ्नै आँखा अगाडि अर्थात पूर्ण निगरानीमा राख्नुपर्ने घटनाक्रमहरुले देखाइरहेका छन्। अभिभावकमा ‘ऊ त्यही त हो नि, खेल्न गएकी छ’ भन्ने विश्वास या मानसिकता हटाउनुपर्ने परिस्थितिहरुले देखाएको छ।

यस्ता घटनाहरुमा ‘घटना भइहाल्यो, त्यसलाई कारबाही गरेर के फाइदा नै हुन्छ र? बरु यति रकम लिऊ मिलम’ भन्ने कुराहरु पनि हुने गरेका छन्। अभियुक्तलाई कुनै प्रकारको ‘क्षमा’ नदिएर कानून बमोजिम कारबाही गर्ने कुरामा पीडित, छरछिमेकीदेखि राजनीतिक दलसम्मको प्रतिबद्धता आएमा यस्तो घटनामा न्यूनीकरण हुने सामाजिक अभियन्ताहरु बताउँछन्।

फाल्गुन २९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्