बेड नम्बर ४०७ मा बर्बराईरहेकी २२ वर्षीया ती आमा

बेड नम्बर ४०७ मा बर्बराईरहेकी २२ वर्षीया ती आमा

काठमाडौँ मेडिकल कलेजको शैय्यामा आफन्त एनीलाई पानी खुवाइदिँदै मेहँदी हसन। तस्बिरहरु: बर्षा शाह

काठमाडौं- ‘मेरो छोरी ल्याइदेऊ। मेरो श्रीमानसँग पुर्‍याईदेऊ’, सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको चौथो तलामा रहेको सर्जिकल आइसियुमा लम्पसार परिरहेकी कलिलो अनुहारकी एक महिला मंगलबार दिनभर चिच्याइरहिन्।

उनी या रुन्थिन् कि त चिच्याएर त्यसो भन्थिन्। उनको भक्कानो निरन्तर छुटिरहन्थ्यो। रुवाइसँगै निस्कने अंग्रेजी र बंगालीमिश्रित अस्पष्ट शब्दहरुले आसपासका सबैलाई दुखित मात्र बनाउँथेन, ‘निरीह’ पनि महसुस गराउँथ्यो।

बेड नम्बर ४०७ मा उपचार भइरहेको यी महिलाको चित्कार कसैले बढी बुझ्न सक्थ्यो भने ती नजिकै ४०८ नम्बर बेडमा सुतिरहेका अर्का पुरुष थिए। तर उनी न केही भन्न समर्थ थिए, न केही गर्न नै। ती पुरुष केवल आँखा थोरै खुला बनाएर आकाशतिर एकहोरो हेरिरहेका थिए। घाँटी अड्याउन प्रयोग गरिएको सपोर्टले उनलाई अप्ठेरो भइरहेको प्रष्ट देखिन्थ्यो।

४०७ मा उपचार गराइरहेकी थिइन् बंगलादेशी युवती एनी। त्यस्तै, नजिकैको बेड नम्बर ४०८ मा उपचार गराइरहेका पुरुष उनीसँगै काठमाडौँ आएका उनका नातेदार थिए।

 

२१ वर्षीय मेहदी हसन, उनकी श्रीमती सोना मोनी, फुपुका छोरा प्रियोन मोइ, उनकी श्रीमती एनी र उनीहरुका दुई वर्षीया छोरी सोमबार दिउँसो बंगलादेशको ढाकाबाट काठमाडौं उडेका थिए।

पोखरा, नगरकोट, काठमाडौं र महत्वपूर्ण सांस्कृतिक सम्पदा घुमेर मार्च १८ मा स्वदेश फर्कने उनीहरुको कार्यक्रम थियो। तर, त्रिभुवन विमानस्थलमा आइतबार दिउँसो भएको विमान दुर्घटनापछि उनीहरुको सपना चकनाचुर मात्र भएन, जीवनकै कालो दिन बन्यो त्यो।

दुर्घटना भएको २४ घन्टा बित्दा एनीले छोरी र श्रीमानको अवस्थाबारे केही थाहा पाएकी छैनन्। हसनले पनि श्रीमतीलाई देखेका छैनन्।

मंगलबार अपरान्ह त्यस सर्जिकल आइसियूभित्र छिर्दा बेड नम्बर ४०७ र ४०८ को बीचमा बसिरहेकी एक बुर्काधारी अधबैंशे महिला पनि बेचैन देखिन्थिन्। उनको अनुहार अधिकांश समय एनीतर्फ मोडिरहेको थियो।

सम्हालिन नसकेर घरी वरपर गर्थिन् त घरी दुई वटा बेडको बीचमा थचक्क बस्थिन्। बेलाबखत, एनीको आँशु पुछिदिन पुग्थिन्। ‘मेहदी मेरो कान्छी छोरीका श्रीमान हुन्’, मंंगलबार दिउँसो बंगलादेशबाट आइपुगेकी सल्मा हुसेनले भनिन्।

नाताले मामा फुपुका छोरा भएपनि मेहदी र प्रियोन मिल्ने साथी दिए। उनीहरु सल्लाह गरेरै पहिलोपटक नेपाल घुम्न आएका हुन्। ब‌ंगलादेशको गाजीपुर घर भएका उनीहरुमध्ये प्रियोन ब्यावशायिक फोटोग्राफर हुन् । मेहदी भने रेस्टुरेन्ट ब्यवशायमा स‌ंलग्न छन्।

चिकित्सकको टोली मेहदी नजिक आयो। उनले श्रीमतीको अवस्था सोधे। चिकित्सकले बेलुकासम्म एउटै वार्डमा हुने जानकारी गराए। उता एनी मेहदीतर्फ हेर्दै ‘मेरो छोरी ल्याईदेउ,श्रीमानसँग पुर्‍याईदेउ’ भन्दै चिच्याईरहेकी थिइन्। मेहदी भने चुपचाप र स्थिर रहे। मेहदी र उनकी श्रीमती दुवै भाग्यमानी रहेछन्। उनीहरु दुवैजनाको अहिले काठमाडौँ मेडिकल कलेजमै उपचार भइरहेको छ। ‘श्रीमतीसँग मेरो मोबाइलमा भने कुराकानी भयो,’ यसो भन्दा उनको अनुहार थोरै भए पनि उज्यालियो।

सिरानीमा भएको आफ्नो मोबाइल निकालेर ग्यालरीमा रहेका श्रीमतीका तस्विर हेरे। ‘डाटा अन’ गरि फेसबुक चलाउने प्रयास गरे। तर ‘इन्टरनेट कनेक्सन’ भएन। त्यसपछि दुई प्रतिशत मात्र चार्ज रहेको मेरो मोबाइल मैले उनलाई दिएँ।

उनले आफ्नो नाम सर्च गरी प्रोफाइल खोले। बंगलादेशबाट नेपाल उड्नुअघि खिचिएका दुवै परिवार देखिने तस्विर हेरे। लगत्तै मेरो मोबाइल ‘स्विच अफ’ भयो।

उनको दुखित अनुहार अझ निराश देखियो।

त्यसपछि ट्वाइलेट जाने भन्दै नर्सलाई सहयोग गर्न आग्रह गरे। फर्किएर आएपछि नजिकै गएर एनीको आँशु पुछिदिए। र, आफ्नो बेडमा राखिएको पानी ल्याएर एनीलाई खुवाई दिए।

त्रिभुवन विमानस्थलका अनुसार सोमबार भएको युएस बांग्ला विमान दुर्घटनामा एनीका श्रीमान र छोरी दुवैको निधन भएको छ।

दुर्घटना हुँदा प्लेनभित्रको अवस्थाबारे उनीसँग कुरा गर्ने मेरो प्रयाश सफल भएन।  ‘दुर्घटनाबारे केही नसोध्नुस्’ भन्दै अध्याँरो अनुहार लगाएर मेहदीले अनुहार फर्काए। उता नजिकैको बेडबाट एनी मेहदीलाई हेर्दैै लगातार बर्बराइरहेकी थिइन्।

तस्बिरहरु-बर्षा शाह/देश सञ्‍चार

फाल्गुन २९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्