वडा अध्यक्षले सौतेनी आमालाई घर लैजान आनाकानी गरेपछि..

पोखरा- स्याङ्जा भीरकोट नगरपालिका वडा नं १ का वडा अध्यक्ष दीपेन्द्र केसीकी सौतेनी आमालाई घरलान आनाकानी गरेका छन्।

गतवर्ष फागुन १० गते पोखराको मुस्ताङ्ग चोकमा बेबारिसे अवस्थामा भेटिएकी रीता के.सी (नाम परिवर्तन) को ६ महिनाापछि पहिचान हुँदा उनी वडा अध्यक्ष दिपेन्द्र के.सीकी सौतेनी आमा भएको पुष्टि भएको थियो।

रीता लाई महिला तथा बाल बालिका कार्यालय कास्कीले उद्धार गरी कोपिला नेपालको महिला सुरक्षा गृहको जिम्मा लगाएको थियो। मानसिक असन्तुलनको अवस्थामा भेटिएकी ६५ वर्षीया रीतालाई सुरक्षा गृहमा मानसिक स्वास्थ्यको उपचार गरेपछि उनको स्वास्थयमा सुधार आएको थियो।

स्वस्थ हुँदै गएपछि रीताले आफ्नो ठेगाना भीरकोट भएको र आफू छोरासँग बस्न चाहेको बताएकी थिइन्।कोपिला नेपालकी महिला बालबालिका कार्यक्रम संयोजक सविता सापकोटाले उनको पहिचानकालागि स्याङ्जाको विभिन्न ठाउँमा सम्पर्क गर्दा गत असोजमा उनी वडा अध्यक्ष के.सीको सौतेनी आमा भएको पत्ता लगाएकी थिइन्।

अध्यक्ष के.सी लाई सम्पर्क गराएर आमाको बारेमा जानकारी गराएपछि के.सी कोपिला नेपाल आएका थिए । ‘केहि समय यहि राखिदिनोस अलि पछि लान्छ’ भनेर आश्वासन दिएका के.सीले ६ महिना वित्दा समेत सम्पर्कमा आएका छैनन् । उनले एक भाइ रहेको र उनी बेखबर रहेको समेत बताएका थिए।

कोपिला नेपालकी कार्यकारी निर्देशक विना सिलवालले एक निर्वाचित जनप्रतिनिधिले आमाको पहिचान भइसकेपछि पुनस्थापना गर्न आनाकानी गर्नु न्यायोचित नभएको बताइन्। उनले भनिन्, ‘उहाँ एक निर्वाचित जनप्रतिनिधि हो, उहाँ गैह्रजिम्मेवार बन्न मिल्दैन, उहाँ नआएपछि महिला विकास कार्यालयकै रोहबरमा उहाँकै घरमा आमालाई लगिदिने विचार गरेका छौं।’

यस विषयमा अध्यक्ष दिपेन्द्र के.सीसँग पटक पटक प्रयास गर्दा पनि सम्पर्कविहीन भए।

फाल्गुन २९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्