१० वर्षपछि अन्तिम ८ मा रोमा, अभागी शाख्तर अवे गोलले बाहिरियो

इटालियन सिरी ए फुटबल क्लब रोमाले पछिल्लो १० वर्षमा पहिलो पटक च्याम्पियन्स लिग फुटबलको अन्तिम ८ मा स्थान बनाएको छ ।

अन्तिम १६ को दोस्रो लेग अन्तर्गत मंगलबार राति घरेलु मैदानमा भएको खेलमा शाख्तर डोनेस्कलाई १–० ले हराउँदै समग्रमा २–२ को बराबरी भएपछि अवे गोलका आधारमा रोमाले अन्तिम ८ को यात्रा तय गरेको हो ।

शाख्तरको मैदानमा भएको पहिलो लेगमा रोमा २–१ ले पराजित भएको थियो । तर घरेलु मैदानमा गोल नखानु रोमाका लागि फाइदाजनक बन्यो ।

यसअघि सन् २००८ मा च्याम्पियन्स लिगको अन्तिम ८ मा पुगेको रोमालाई १० वर्षपछि त्यही बाटोमा लैजानका लागि इडेन डिजेकोले ५२ औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा डिजेकोले ५२ औँ मिनेटमा गरेको गोल निर्णायक बनेको हो । ७९ औँ मिनेटमा आरडेट्स रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि युक्रेनी क्लब शाख्तर १० खेलाडीमा सीमित भएको थियो ।

शाख्तर यो खेलमा अभागी देखियो । उसले खेलको पहिलो हाफमा अवे गोल गर्ने राम्रो अवसर पाएको थियो । तर त्यसमा सफल हुन सकेन र नतिजा अवे गोलकै आधारमा रोमालाई सुम्पिन बाध्य भयो ।

फाल्गुन ३०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्