बर्खास्त भएका टिल्लरसनले ट्रम्पलाई धन्यबाद दिएनन्, भने, रुसबाट खतरा छ

बर्खास्त भएका रेक्स टिल्लरसन । तस्बिर : रोयटर्स

बर्खास्त भएका अमेरिकी विदेशमन्त्री रेक्स टिल्लरसनले अमेरिकामाथि रुसका कारण खतरा रहेको बताएका छन् ।

विदेश मन्त्रालयमा पत्रकारसँग कुरा गर्दै टिल्लरसनले रुसको समस्या उत्पन्न गर्न सक्ने व्यवहार र कामका कारण अमेरिकालाई खतरा रहेको बताएका हुन् ।

उनले आफ्नो कार्यकालमा चीनसँग सम्बन्ध सुधार तथा उत्तर कोरियाको आणविक कार्यक्रमलाई नियन्त्रण गर्नका लागि काम भएको र त्यो निकै सकारात्मक दिशामा अघि बढेको उल्लेख गरे ।

तर रुससँगको सम्बन्ध तथा उसको व्यवहारका कारण उत्पन्न हुन सक्ने खतरा भने कायम रहेको टिल्लरसनको भनाई छ ।

टिल्लरसनले आफ्नो विदेश नीतिको प्रशंसा गरे तर राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भने धन्यबाद पनि भनेनन् । यसले उनीहरुबिचको सम्बन्धमा ठूलै दरार आएको प्रष्ट हुने विश्लेषण गरिएको छ ।

गएको वर्ष विदेशमन्त्रीमा नियुक्त भएयता ट्रम्प र टिल्लरसनबिच विभिन्न मुद्दामा मतभेद हुँदै आएको थियो । त्यसैको फलस्वरुप ट्रम्पले मंगलबार उनलाई बर्खास्त गरेका हुन् ।

टिल्लरसनको ठाउँमा अब अहिले अमेरिकी गुप्तचर निकाय सिआइएका निर्देशक रहेका माइक पोम्पिओ विदेशमन्त्री बन्ने सिएनएनले जनाएको छ ।

पोम्पिओको ठाउँमा जिना हास्पेललाई सिआइएको निर्देशक बनाउने ट्रम्पको तयारी छ । हास्पेल सिआइएको निर्देशक बन्ने पहिलो महिला हुने छिन् ।

ट्रम्पले ट्वीट मार्फत टिल्लरसनलाई आफ्नो कामका लागि धन्यवाद दिँदै पोम्पिओ नयाँ विदेशमन्त्री बन्ने र हास्पेल सिआइएको निर्देशक बनाउने प्रस्ताव गरेका हुन् ।

उत्तर कोरियसँग हुने भनिएको वार्ताको तयारीका बिचमा ट्रम्पले विदेशमन्त्रीलाई हटाउनु अर्थपूर्ण रहेको सिएनएनका राजनीतिक निर्देशक डेविड चालियनले बताएका छन् ।

बर्खास्त भएका टिल्लरसनले चीन र उत्तर कोरिया सम्बन्धी विषयमा धेरै काम भए पनि रुसी सरकारको त्यो समूह जसको व्यवहार अमेरिकाका लागि खतरापूर्ण हुन सक्छ, त्यसलाई मत्थर पार्नका लागि भने गर्न बाँकी धेरै रहेको बताए ।

फाल्गुन ३०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्