अलविदा

प्रख्यात वैज्ञानिक स्टीफन हकिङ्गको निधन

भौतिकशास्त्री स्टीफन हकिङ्गको निधन भएको छ । बेलायती वैज्ञानिक हकिङ्गको ७६ वर्षको उमेरमा निधन भएको उनको परिवारले जनाएको छ ।

सैद्धान्तिक भौतिकशास्त्री हकिङ्गको बुधबार निधन भएको उनको परिवारले जनाएको हो । वैज्ञानिक हकिङ्गले ब्ल्याक होल र रिलेटिभिटी सम्बन्धी गरेको कामलाई भौतिक विज्ञानमा ब्रेक–थ्रु का रुपमा लिने गरिन्छ ।

उनले ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ सहितका धेरै पुस्तक लेखेका छन् । उनको निधनको पुष्टि गर्दै उनका सन्तान लुसी, रोबर्ट र टिमले लेखेका छन्, ‘हामी गहिरो दुःखमा छौँ यो खबर भन्दा कि हाम्रा प्रिय पिताको आज निधन भएको छ ।’

उनीहरुले आफ्ना पिता उत्कृष्ट वैज्ञानिक अनि त्यस्तै मानव रहेको भन्दै उनको कामले सदैव जीवित राख्ने बताएका छन् ।

फ्याक्ट फाइल : स्टीफन हकिङ्ग

जन्म : ८ जनवरी, १९४२

जन्मस्थान : अक्सफोर्ड, इंग्ल्याण्ड

सन् १९५९ मा प्रकृति विज्ञान अध्ययनका लागि अक्फोर्ड विश्वविद्यालयमा भर्ना, उनले क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधी गरेका हुन् ।
सन् १९६३ मा गम्भीर रोग मोटर न्युरोनबाट ग्रस्त, डाक्टरले दुई वर्षमात्रै बाँच्ने भनेका थिए ।

उनले ब्ल्याक होल सम्बन्धी प्रशिद्ध सिद्धान्त सन् १९७४ मा ‘हकिङ्ग रेडिएसन’ को नाममा प्रतिपादन गरे।

उनको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ पुस्तक सन् १९८८ मा प्रकाशित भयो । यो पुस्तक १०, ०००, ००० भन्दा बढी प्रति बिक्री भएको छ ।

उनको जीवनीमा आधारित भएर सन् २०१४ मा ‘द थेवरी अफ एभरिथिङ’ नामक चलचित्र निर्माण गरिएको थियो । यसमा एडी रेडम्यानले हकिङ्गको भूमिका निभाएका छन् । यो भूमिकाका लागि उनले ओस्कार अवार्ड पाए ।

जर्मनीका महान वैज्ञानिक अल्बर्ट आइनस्टाइनको जन्म भएकै दिन हकिङ्गको निधन भएको हो । आइनस्टानको सन् १८७९ मार्च १४ का दिन जन्म भएको थियो भने उनको सन् १९५५ अप्रिल १८ मा निधन भएको थियो ।

फाल्गुन ३०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्