‘बिदामा बस्न सुझाव’ दिए पनि पराजुलीले नै राष्ट्रपति भण्डारीलाई शपथ खुवाउने

काठमाडौँ-  प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानन्यायीश गोपाल पराजुलीलाई सर्वोच्च अदालतको विवाद र अहसजता निराकरण गर्न बिदामा बस्न सुझाव दिए पनि बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई उनले नै पद तथा गोपनीयताको शपथ खुवाउने भएका छन्।
‘परिस्थितिलाई थप जटिल नबनाउन प्रधान न्यायाधीश पराजुलीलाई राष्ट्रपति तथा प्रधानमन्त्रीले अनुरोध गर्नु भएको छ। त्यसको अर्थ उहाँहरुले पराजुलीलाई पछिल्लो विवादबाट सेफ ल्यान्डिङ गर्न सुझाउनु भएको हो,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘यसबाट न्यायालयको गरिमामा थप आँच आउनु दिन हुँदैन भन्नेमा राष्ट्रपति र प्रधानमन्त्री पुगिसक्नु भएको छ।’
यद्यपि प्रधान न्यायाधीश पराजुलीले भने बिदामा बस्ने मनस्थिति बुधबारसम्म पनि नबनाएको बुझिएको छ। उनले साँझ चार वजे नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोस्रो कार्यकालका लागि पद तथा गोपनीयताको सपथ खुवाउने तयारी छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता भेषराज अधिकारीले राष्ट्रपतिलाई सपथ व्यक्ति नभई संस्थाले गराउने भएको भन्दै वहालवाला प्रधानन्याधीश जो छ उहाँबाटै नै राष्ट्रपतिलाई सपथ ग्रहण गराउने तयारी भएको बताए। ‘यो व्यक्ति विशेष भन्दा पनि संस्थागत विषय हो। राष्ट्रपतिलाई पद तथा गोपनीयताको सपथ ग्रहण प्रधानन्याधीशले गराउने कानुनी व्यवस्था छ। त्यसै अनुसार राष्ट्रपति कार्यालयले तयारी पूरा गरिसकेको छ,’ प्रवक्ता अधिकारीले देशसञ्चारसँग भने।
फाल्गुन ३०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्