अनुमतिबिना पार्कमै राखिए विदेशीका क्याराभान गाडी

वसुन्धरा पार्कमा राखिएका क्याराभान गाडी। तस्बिरहरु: जमुना बर्षा शर्मा

पोखरा-  पोखराको प्राकृतिक र धार्मिक महत्व बोकेको बसुन्धारा (कोमागाने) पार्कमा सम्बन्धित निकायको औपचारिक अनुमति विना विदेशीहरुले क्याराभान गाडी पार्किङ गरेर पदयात्रामा गएका छन्।

पोखराको लेकसाइड स्थित बसुन्धरा पार्कमा हिन्दु धर्मको आस्थाविन्दु केदारेश्वर मन्दिर छ। यहाँ दैनिक सयौ भक्तजनहरु दर्शनका लागि जान्छन्। विवाह-ब्रतबन्धका धार्मिक कार्यहरु हुँदै आएका छन्। उत्तिकै आन्तरिक तथा बाह्य पर्यटक पार्कमा घुम्न आउँछन्। तर केही दिनदेखि सो स्थानमा क्याराभान गाडीहरुको पार्किङ सो क्षेत्रको सुन्दरतालाई छोपिरहेको छ। सो स्थानमा पार्किङका लागि सम्बन्धित निकायबाट स्विकृति नलिइएको बुझिएको छ।

वडा नं ६ का वडाअध्यक्ष जगत पहारीले सो स्थानमा राखिएका गाडीबारे आफूलाई कुनै जानकारी नगराइएकोे बताए। उनले भने, ‘यसबारेमा मलाई कहिँ कतैबाट जानकारी आएको छैन, बिना अनुमति पर्यटकीय धार्मिक र बाताबरणीय महत्वको सार्वजनिक सम्पत्तिमाथि गाडी पार्किङ गर्नु नियमविपरीत हो, अब उप्रान्त सो ठाउँमा पार्किङ्ग गर्न नदिने विषय सरोकारवाला बीच बसेर निर्णय गर्छौ।’

केदारेश्वर मन्दिर ब्यवस्थापन समितिका उपाध्यक्ष दयानन्द पोखरेलले विगत ७/८ वर्ष देखि उक्त स्थानमा विदेशी पर्यटक बस्दै आएकाले आफूहरुले मौखिक रुपमा स्विकृति दिएको बताए। ‘उहाँहरु विगत देखि बस्दै आउनु भएको रहेछ। त्यही भएर हुन्न भन्न सकेनौँ। अब आइन्दा यो क्षेत्रभित्र क्याराभान गाडीको पार्किङ निषेध गर्दछौँ,’ उनले भने, ‘लेकसाइडको क्याम्पिङ्ग चोकमा गाडी पार्किङको ब्यवस्था हटाएपछि यहाँ ल्याएर पार्किङ गरे। हामीले नाइँ भन्न सकेनौँ। ’

राष्ट्रिय सम्पदा अधिकार मञ्च नेपालका अध्यक्ष एवं सामाजिक अभियन्ता राम बहादुर पौडेलले एउटा धार्मिक, प्राकृतिक र पर्यटकीय महत्व बोकेको पार्कभित्र सम्बन्धित निकायको औपचारिक अनुमतिबिना गाडी पार्किङ गर्नु उचित नभएको बताए। ‘यस पार्कमा विभिन्न देशका कलाकारहरुको कला छ, साथै धार्मिक मन्दिर पनि छ। यस्तो ठाउँमा अनुमतिबिना पार्किङ गर्नु सम्पदामाथिको अतिक्रमण हो। यस विषयमा सम्बन्धित निकायले चनाखो हुनुपर्छ।’

विगत तीन दिनदेखि उक्त स्थानमा गाडी पार्किङ गरेका पर्यटकहरु यतिबेला घान्द्रुक पदयात्रामा गएका छन्। गाडीभित्र खाने, बस्ने र शौचालयको सुविधा भएको सो क्याराभानमा गाडी ७ वटा रहेका छन्।

२०३८ सलमा अधिग्रहण गरिएको १ सय ८ रोपनी क्षेत्रफलको पार्कलाई फेवा संरक्षण र सुन्दरताकालागि ग्रिनबेल्ट बनाउने भनी अधिग्रहण गरिएको थियो। उक्त पार्कमा नेपालसहित विभिन्न सात देशका कलाकारहरुले प्रस्तर मूर्ति बनाएका छन्।

पार्कलाई पर्यटकीय रुपमा विकास गर्ने उद्देश्यले तत्कालीन समयमा पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, पर्यटन ब्यवसायी संघ संस्थाको सामूहिक पहलमा पार्कलाई सजाउने प्रयास भए पनि अहिले विभिन्न क्षेत्रबाट अतिक्रमण हुँदा पार्कको संरक्षण हुन सकेको छैन। केही समयअघि १ अर्ब ३० करोड रुपैयाँको लागतमा केबलकार निर्माण गर्ने योजना बाहिर आएपनि स्थानीयको चर्को विरोधले सो योजना कार्यान्वयन भएन।

फाल्गुन ३०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्