फिर्के खोलाको सीमा छुट्‍याउने काम सुरु

कास्की- पोखराको बीच भागबाट बग्‍ने फिर्के खोलाको सिमाना छुट्याउन बुधबार स्थलगत रुपबाट रेखाङ्कन कार्य सुरु भएको छ। पोखरा लेखनाथ महानगरपालिकाका अगुवाइमा भएको सो रेखाङ्कन कार्यलाई एक हप्ता भित्र सक्ने महानगरले जनाएको छ।

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १८ सराङ्कोटको फेदी अँधेरीकुनाबाट शुरु भई प्रस्याङ, मालेपाटन, बुलौंदी खोला हुँदै फिर्के खोलाका फेवातालमा मिसिने गर्दछ।

फिर्के खोलाको अतिक्रमण बढेपछि खोला पुरिदै गएको र आसपासको बस्तिमा जोखिम बढेको भन्दै स्थानियले महानगरलाई ध्यानाकर्षण गराउँदै आएका थिए ।

प्राकृतिक सम्पदा माथिको दोहनलाई अन्त्य गर्दै पूवर्वत अवस्थामा ल्याउन महानगरले कार्य थालनी गरेको पोखरा लेखनाथ महानगरका मेयर मान बहादुर जिसीले बताए।

उनले भने ‘सार्वजनिक सम्पदाको दोहनको अन्त्य गर्न महानगर लागि पर्छ ।’ फिर्के खोला सिमानाको रेखाङ्कन सकिए लगत्तै १५ दिने सुचना जारि गरी मापदण्ड मिचेर बनाइएका संरचना भत्काइने बताए।

उनले भने ‘सूचनालाई अटेर गरे महानगरले डोजर लगाउँछ । डोजरको सम्पूर्ण खर्च समेत सम्बन्धित ब्यक्तिले तिर्नु पर्छ ’ उनले यदि खर्च तिर्न आनाकानि गरे महानगरको सुविधा रोक्का गर्ने बताए।

पोखरा लेखनाथ महानगरका इन्जिनियर महेन्द्र गोदारले फिर्के खोला रेखाङ्कन पछि बुलौदि खोलाको पनि सिमाना रेखाङ्कन गर्न बताए। फिर्के र बुलौदी खोला अहिले ४ देखि ३४ मिटर सम्म फराकिलो रहेको छ । खोला किनारमा ५ मिटरको मापदण्ड तोकिएको छ।

फाल्गुन ३०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्