लमही–कोइलाबास सडक : मुआब्जा पर्खिँदै जग्गाधनी

लमही–कोइलाबास सडकमा बाटटो खन्दै गरेको जेसिबी । तस्बिर : दशरथ घिमिरे/देश सञ्चार

दाङ – तिहार अघिनै मुआब्जा वितरण गरिने भनेर घोषणा गरियो तर, त्यो समयमा हुन सकेन् । अब जग्गाको मुआब्जा पाइन्छ भन्ने आशामा बसेका निराश भए । लमही–कोइलावास सडक विस्तारको नाममा स्थानीय शेषमणि अधिकारीको घर जग्गा रोक्का छ ।

उनले सधैँ सोध्ने प्रश्न हो, ‘मुआब्जा कहिले पाइन्छ ?’ अधिकारीले सोधेको प्रश्नको जवाफ हुलाकी सडक आयोजना, योजना कार्यालय नेपालगञ्जका प्रमुख सौरव बज्राचार्यले पनि स्पष्ट मिति र समय दिन सकेनन् ।

‘मुआब्जाको लागी ५८ करोड बजेट माग गरेका छौं तर, हामीसँग अहिले जम्मा तीन करोड रुपैयाँ छ’ बज्राचार्यले भने ‘अर्थमन्त्रालयले बजेट पठाएको छैन्, तीन करोड रुपैयाँ मुआब्जाको लागि अपुग छ, बजेट अभावले गर्दा ठ्याक्कै यही मितिमा भन्न सक्ने अवस्था छैन् ।’

मुआब्जा वितरण गर्न बजेट अभाव भएको छ । मुआब्जा वितरण गर्न अर्थ मन्त्रालयले बजेट नपठाउँदा मुआब्जा वितरणमा ढिलाई भएको हुलाकी सडक आयोजना कार्यालय नेपालगञ्जका प्रमुख बज्राचार्यले बताए । तर मुआब्जाको रकमले सडक निर्माणको कार्यलाई असर नपर्ने दाबी उनको छ ।

‘२० मिटर सडक यसअघि नै कायम भैसकेको छ, हामीले कालोपत्रे गर्ने ७ मिटरमा हो, १२ मिटर सडक भित्र काम हुने भएकाले सडक निर्माणको कार्यलाई मुआब्जाले तत्काल रोक्दैन्’ उनले भने ‘नापी कार्यालयमा मुआब्जा वितरणको लागि कित्ता काटको काम भैरहेको छ ।’

लमहीबाट कोइलाबाससम्म सडक क्षेत्रमा पर्ने ७ सय ९९ कित्ता पर्छ । मुआब्जाका लागि हुलाकी सडक आयोजनालाई फाइल बुझाएको लामो समय हुँदा पनि मुआब्जा वितरण नहुँदा अन्यौलता छाएको छ । सडक क्षेत्रमा पर्ने जग्गा रोक्का छन् । अंशबण्डा, किन बेच सवै रोकिएको छ ।

कच्चा पदार्थको अभाव

लमही–कोइलाबास सडक निर्माण गर्न कच्चा पदार्थ उपलब्ध हुन नसकेको निर्माण कम्पनीले बताएको छ ।

सन् २०१७ जुनदेखि सडक निर्माणको काम सुरु भएको थियो । कच्चा पदार्थको व्यवस्थापनको अभावमा कामले थप गति लिन सकिरहेको छैन । ‘कच्चा पदार्थको अभाव छ, अहिलेसम्म १० प्रतिशत कामको प्रगति छ’ निर्माण कम्पनीका ईञ्जिनियर विजय भट्टराईले भने ‘कच्चा पदार्थको सहज उपलब्ध भएमा हामीले निर्धारित समयमा काम सक्छौं ।’

लमही–कोइलाबास सडकखण्ड ३३ किलोमिटर छ । सडक खण्डको केही भागमा बाटो ग्राभेल, कल्र्भट, नालीनिर्माणको काम भएको छ । तर लमहीबाट गढवासम्मको सडक क्षेत्रमा काम भएको छ्रैन । सन् २०१९ भित्र सडकको कालोपत्रे काम सक्ने गरेर सम्झौता भएको छ । ७८ करोड ९० लाखमा सडक कालोपत्रे गर्ने सम्झौता भएको छ ।

विगतमा पटक पटक टेण्डर भए पनि सडकको काम हुन सकेको थिएन । हुलाकी सडक अन्तर्गत रहेको यो सडकको पछिल्लो पटक नेपाल सरकारले आफै टेण्डर गरेर काम थालेको छ । सडक कालोपत्रे भएमा भारतसँगको दूरी सबैभन्दा छोटो हुनेछ । साथै कोइलाबास नाका सञ्चालनमा आउने सबैले आश गरेका छन् ।

सडकको अनुगमन

जिल्ला समन्वय समिति दाङले लमही–कोइलाबास निर्माणधिन सडकको अुनगमन गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको नेृतत्वमा प्राविधिकसहित गएको टोलीले निर्माणको कामको बारेमा अनुगमन र सडक निर्माण कम्पनीका प्रतिनिधिसँग छलफल समेत गरेको छ ।

कामलाई प्रभावकारी बनाउन निर्माण कम्पनीलाई निर्देशन दिइएको छ । टोलीले सडक निर्माणको भैराखेको कामको बारेमा एनएचआइडिसिएलका म्यानेजर यज्ञसेन यादव र कालिका—कुमार श्रेष्ठ जेभिका प्रतिनिधि विजय भटराईसँग कामको प्रगतिबारेमा छलफल गरेको थियो ।

सडक निर्माण कम्पनीलाई गुणस्तरीय र सम्झौता अनरुपको समयमा काम सक्ने गरेर काम गर्न निर्देशन गरेको जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलले बताए ।

चैत १, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्