विमान दुर्घटनामा गुम्यो एउटा सपना

सञ्जयसँगै बिलायो उनी डाक्टर बनेको हेर्ने परिवारको सपना

विमान दुर्घटनामा ज्यान गुमाएका पोखराका सञ्जय पौडेल । तस्बिर : सञ्जयको फेसबुक पेजबाट

पोखरा-सपना आमा बुवाको तर त्यसलाई उनले आफ्नै बनाए, डाक्टर बन्ने। दिदी रजनी, बहिनी अञ्जली, आफन्त तथा इष्टमित्र सबै उनी डाक्टर बनेको हेर्ने पर्खाइमा थिए। यी सबैलाई पर्खाउने र संयुक्त सपनालाई विपना बनाउने क्रममा थिए, सञ्जय पौडेल।

समय नजिकिँदै थियो। सञ्जय एमबिबिएसको अध्ययन सकेर नेपाल फर्कने क्रममा थिए। जापानमा भएका दिदी भिनाजुसँग सञ्जयले आफ्नो परीक्षा सकिएर बिदामा नेपाल जाने कुरा सुनाए।

दिदी रजनीले पनि जापानबाट १२ तारिखमा नेपाल जाने योजना सुनाइन्। ‘त्यसो भएसँगै काठमाडौंमा ल्याण्ड हुने है त’ भन्दै समय मिलाए सञ्जयले। योजना मुताविक सञ्जयले बंगालादेशको सिलेट भन्ने ठाउँबाट ढाका आएर दिदी भिनाजुलाई फोन गरे। फोनमा कुरा बिट मार्ने बेला काठमाडौंमा भेटेर बिस्तारमा कुरा गर्ने सहमति जुट्यो।

सञ्जय बंगलादेशबाट उडे, दिदी रजनी र भिनाजु अनिल जापानबाट। मलेसियाको क्वालालाम्पुर ट्रान्जिट पर्‍यो। बोर्डिङ्ग पासका लागि जाँदै थिए दिदीभिनाजु। काठमाडौं जाने प्लेन डिले भएको जानकारी पाए। कारण बुझ्दा बंगलादेशको प्लेन दुर्घटना भएको खबर सुने। वाइफाइ जोन खोज्दै नेपालको जहाज दुर्घटनाको बारेमा बुझे। रजनी निकै आत्तिइन्।

दुर्घटनामा परेको त्यही विमान थियो जसमा भाइ सञ्जय नेपाल फिर्दै थिए।

उनले आफन्तलाई फोन गरिन्। विभिन्न अस्पतालमा खोजी भइरहेको भन्ने खबर मात्र आउँथ्यो। आत्तिएको र अनेक आशंकाले भरिएको मन थाम्न पक्कै निकै गाह्रो भयो रजनीलाई। पाँचघण्टा पछि प्लेन उड्यो।

काठमाडौं उत्रदाँ दिदी भिनाजु काठमाडौंमा छिटै भेटौँला भन्ने आवाज अन्तिम भइसकेको थियो।

सधैँ जापानबाट आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घर परिवार मातृभूमिको माया ममताले पुलकित हुने मनमा यसपाली प्रिय भाइको अप्रत्याशित दुर्घटनाले जिन्दगीका सबै खुशी लुटाएको थियो। मन भारी थियो। केही दिनअघि मात्रै आमालाई भाइसँगै पोखरा आउने खबर खुशी हुँदै सुनाएकी थिइन् उनले।

गएको सोमबार युएस बंगलाको विमान दुर्घटना हुँदा सञ्जयको जीवनसँगै सकिए सबै सपनाहरु। अनि सकिए उनीसँग जोडिएका आफन्तले लामो समयदेखि हुर्काएका सपनाहरु पनि।

दिदी रजनी र बहिनी अञ्जलीको साथमा सञ्जय ।

सञ्जयको मृत्युपछि पोखराको जरेबरस्थित उनको घर सुनसान छ । आफन्त, इष्टमित्र गएर सान्त्वना दिने साहस गर्न सकेका छैनन्। आमा अन्नपूर्ण अर्ध चेत अवस्थामा छिन् । होसमा आउँदा ‘छोरा खै कस्तो छ ?’ भन्दै बरबराइरहँदा छोरी रजनीले आफूलाई कठोर बनाएर आमालाई सम्हालिरहेकी छिन्। भाइको वियोगमा रजनीले धित मरेर आँशु झार्न पनि पाएकी छैनन्।

उनका बुवा दामोदर पौडेलले र अन्य नजिकका आफन्त सञ्जयको शव लिन काठमाडौं पुगेका छन्। आमालाई भने सञ्जय दुर्घटनमा घाइते भएको र उपचार भइरहेको भनेर थमथमाउने प्रयासमा छिन् रजनी।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ धिताल घर भई पोखराको जरेबरमा बस्दै आएका पौडेल परिवारका सञ्जय एक्ला छोरा हुन्। कान्छी बहिनी अञ्जली पनि दाइ लिन काठमाडौं पुगेकी थिइन्। दाइको साथमा रमाउँदै पोखरा फर्कने रहर लिएर काठमाडौं पुगेकी उनी दाइको शव लिएर फर्कनु पर्ने कठोर नियतिसँग जुधेकी छन्।

अंकलकी छोरी अनिता पौडेल अन्तिमपल्ट भाइ सञ्जयसहित नेपाली फिल्म कारखाना हेर्न गएको स्मरण गरिन्। ‘त्यो पल नै भाइसँगको अन्तिम पल भो । सबैलाई माया गर्ने सबैलाई मनपराउने स्वभावको भाइआँखामा राखे पनि नबिझाउने थियो।’

पोखराको जरेबरमा रहेको सञ्जयको घर ।

सानी आमा दिव्या भन्छिन्, ‘असाध्यै मिलनसार कर्तव्यनिष्ठ छोरा थियो सञ्जय, गुमायौँ। उबाट सिक्नु पर्ने धेरै कुराहरु थिए। अरु भाइ बहिनीको लागि पनि प्रेरणाको स्रोत थियो।’ भिनाजु अनिलले साला सञ्जयलाई अष्ट्रेलियाबाट माइक्रोसफ्ट सरफेस बुक–२ ल्यापटप सरप्राइज गिफ्ट ल्याएका थिए। तर त्यो सरप्राइज नहुँदै बिलय भयो। उनले भने, ‘ऊ भाइ मात्रै होइन असल साथी थियो।’

२०४९ साल असार ३१ गते जन्मिएका सञ्जयले पोखराको मदरल्याण्ड माविबाट एसएलसी पास गरेका थिए। उनी मिलनसार र राम्रो छात्र भएको मदरल्याण्ड माविका प्राचार्य त्रिभुवन बरालले बताए। ‘एउटा असल छात्र थिए, यो घटनाले हामी स्तब्ध छौँ।’

उनले एसएलसी र प्रमाणपत्र तह डिष्टिङ्गसन ल्याएर उत्तिर्ण गरेका थिए भने सगरमाथा माविमा २०११ विज्ञान विषयमा प्लसटु पास गरेका थिए।

चैत १, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्