फाइल तस्बिर

काठमाडौं- जिम्बावेमा जारी  आईसिसी विश्वकप छनोटअन्तर्गत महत्वपुर्ण खेलमा नेपालले अहिले पपुआन्युगिनीसँग खेल्दै छ।

टस जितेर नेपालले  पहिला फिल्डिङ  गर्ने निर्णय गरेको छ। पपुआन्युगिनीले तीन ओभरमा एक विकेट गुमाएर १२ रन जोडेको छ।

सोमपाल कामीले आफ्नो दोस्रो ओभरको तेस्रो बलमा आसाद भालालाई एलबिडब्लू आउट गरे। भालाले १० रन बनाए। उनले अघिल्लो बलमा चौका प्रहार गरेका थिए।

सोमपालले पहिलो ओभर मेडन फ्याँकेका थिए।

सातौं स्थानका लागि हुने यस सेमिफाइनल खेलमा नेपालले जित हात पारे एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता पाउन सक्ने छ। तर अर्काे खेलमा नेदरल्यान्ड्सले हङकङलाई हराउनु पर्ने छ। यी चारवटै टोली समूहगत चरणबाटै बाहिरिएका हुन्।

नेपाल हङकङ र पपुआन्युगिनीमध्ये एक टोलीले एकदिवशीय मान्यता पाउने छ। नेदरल्यान्ड्सले भने वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप जितेबापत एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता पाई सकेको छ।

समूहगत चरणमा नेपालले  सुरुका तीन खेलमा हार ब्यहोरेपनि अन्तिम खेलम हङकङलाई हराएर एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता पाउने सम्भावना कायम राखेको हो। पपुआन्युगिनीले भने एक खेल पनि जित हात पार्न सकेको थिएन।

समूहगत चरणमा सर्वाधिक रन जोड्ने खेलाडीको सुचीमा पपुआन्युगिनीका टीपी उरा तीन खेलमा एक सय ९१ रनसहित चौथो स्थानमा रहे।

छैटौं स्थानमा रहेका नेपालका कप्तान पारस खड्काले चार खेलमा एक सय ८९ रन बनाएका छन्।

पपुआन्युगिनीका भालाले चार खेलमा एक सय ११ रन र भानुआले ८० तथा  नेपालका रोहित कुमार पौडेलले चार खेलमा ९४ रन र आरिफ शेखले ७७ रन बनाएका छन्।

बलिङतर्फ सर्वाधिक विकेट लिने बलरको सुचीमा १० औं स्थानमा रहेका पपुआन्युगिनीका भानुआले चार खेलमा आठ विकेट हात पारेका छन्।

नेपालका सन्दीप लामिछाने चार खेलमा सात विकेटसहित १३ औं स्थानमा छन्।

पपुआन्युगिनीका नाओ र नेपालका बसन्त रेग्मीले चार खेलमा समान ६ विकेट हात पारेका छन्।

अर्को खेलमा हङकङविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको नेदरल्यान्ड्सले पाँच ओभरमा  २१ रन जोडेको छ।

 

चैत १, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्